सप्तरीबाट सिके राउतको जनमत पार्टीले खाता खोल्यो

सप्तरीबाट सिके राउतको जनमत पार्टीले खाता खोल्यो

राजविराज : सिके राउतको गृहजिल्ला सप्तरीबाट जनमत पार्टीले खाता खोलेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट बिरेन्द्र माझीले नगर प्रमुखमा निर्वाचित भएर खाता खोलेका हुन् ।

जम्मा १४ वडामध्ये दुई वडा अध्यक्ष मात्र जितेको जनमत पार्टीका माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हाँसिल गरेका हुन् । 

अन्तिम मतपत्र गणनामा माझीले ६ हजार ४०७ मत ल्याए । 

मतगणनाको अन्त्यमा मत अन्तर कम गर्दै ल्याए पनि निवर्तमान नगर प्रमुख शैलेशकुमार साह ६ हजार २४६ मतमा सिमित हुन पुग्दा प्रमुख पद गुमाउन पुगे । 

पराजित साह मधेश प्रदेशको समाजिक विकासमन्त्री नवल किशोर साहका छोरा हुन् । गत स्थानीय तहको निर्वाचनमा साहले यिनै माझीलाई पराजित गरी नगर प्रमुख बनेका थिए । २०७४ को निर्वाचनमा राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले ५ हजार ७२० मत ल्याएका थिए । 

त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार भइ निकटतम प्रतिद्वन्द्वी रहेका माझीले ४ हजार ३६५ मत ल्याएका थिए ।

जसपाले हनुमाननगर कंकालिनी नगरपालिकामा प्रदेश मन्त्रीका छोरा साहलाई नै उम्मेदवार बनाउने निश्चित देखेपछि माझी जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका हुन् । सप्तरीको सबैभन्दा सुरक्षित र निश्चित विजय ठानेको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुखको हार पछि जसपाका कार्यकर्ता झस्किएका छन् । 

कुल १४ वडा मध्ये उपप्रमुखसहित ७ वडामा भने जसपाले प्यानलसहित जित हाँसिल गरेको छ । उपप्रमुखमा सरीता सिपलिया यादव फेरि पनि निर्वाचित भएकी छिन् । गत निर्वाचनमा समेत राजपाबाट ५ हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेकी थिइन् ।  

वडा अध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सातवटा वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडा अध्यक्षमा जित हाँसिल गरेको छ । 

वडा नम्बर १ मा जनमत पार्टीका सुरेन्द्र मण्डलले १ हजार ६७०, वडा २ मा जसपाका सन्तोषकुमार यादवले २१७, वडा ३ मा जसपाका विजयकुमार यादवले १ हजार ९२, वडा ४ मा जनमत पार्टीका मौलीकुमार मण्डलले ७ सय ५७, वडा ५ मा माओवादीका बुद्धिमान श्रेष्ठले २७५, वडा ६ मा माओवादीका रामनारायण मण्डलले ४८० र वडा ७ मा माओवादीका राजेश्वर ठाकुरले ५१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भए ।

यसैगरी वडा ८ मा कांग्रेसका अजय यादवले ३९५, वडा ९ मा जसपाका हरिश्चन्द्र बर्माले ३३८, वडा १० मा जसपाका रामलखन मण्डलले ४४३, वडा ११ मा माओवादीका साकिर खाँले ५२२, वडा १२ मा जसपाका श्रीचन्द्र मुखियाले ३७२, वडा १३ मा जसपाका कुशेश्वर यादवले २४८ र वडा १४ मा जसपाका कृष्णकुमार यादवले १ हजार ६०८ मत ल्याएर वडा अध्यक्ष बनेका छन् ।

जम्मा १४ वडा मध्ये उपप्रमुखसहित ७ वडामा प्यानलसहित एक्लै जितेको जसपाको प्रमुखको उम्मेदवारको पराजयको कारणबारे पार्टीभित्र र बाहिर छलफल सुरु भएको छ । 

हालसम्म निर्वाचित सप्तरीको सबै ४ वटा पालिकामा निवर्तमान प्रमुख पराजित भएका छन् भने विगतमा प्रतिद्वन्द्वी रहेका उम्मेदवार यसपटक निर्वाचित भएका छन् । 

अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा नेकपा (एमाले), सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गर्दै निर्वाचित भएका छन् । मतगणना जारी रहेको सप्तरीको बाँकी १४ पालिकामा पनि अधिकांश निवर्तमान प्रमुखहरु पछि परेका छन् ।

जसपाले ४, कांग्रेस र लोसपाले ३/३, एमालेले २, माओवादी र एकीकृत समाजवादीले १/१ पालिकामा अग्रता कायम राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.