राप्रपामा उत्साह
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकामा सफलता हासिल गरेको छ। सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराउँदै राप्रपाका रमेश नापित मेयरमा विजयी भएका छन। मेयरसँगै राप्रपाले शंकरापुरका ३ वटा वडामा पनि जितेको छ। शंकरापुरमा कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसी मेयरका उम्मेदवार थिए। प्रमुख दलका उम्मेदवारलाई हराउँदै राप्रपाले जित निकालेको हो। राप्रपाले मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा पनि अग्रता लिएको छ।
राप्रपा उम्मेदवार दीपकबहादुर सिंह सत्तागठबन्धन र एमालेका उम्मेदवारभन्दा केही मतले अघि छन। यस्तै, राप्रपाले झापाको दमक नगरपालिकामा पनि अग्रता लिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपाका राम थापाले अग्रता लिएका छन। दमकमा एमालेकी गीताकुमारी अधिकारीविरुद्ध सत्तागठबन्धनले राप्रपाका थापालाई सहयोग गरेका छन। झापाकै हल्दीबारी गाउँपालिकामा राप्रपाका रवीन्द्रप्रसाद लिङदेनले सुरुआतदेखि नै अग्रता लिएका छन।
लिङदेन जित नजिक छन। कपिलवस्तुको शिवराज नगरपालिकामा पनि राप्रपाले अग्रता लिएको छ। झापाको भद्रपुर, धनुषाको गणेशमान चारनाथ, रुपन्देहीको सिद्धार्थनगर तथा रोहिणी, कैलालीको कैलारी र जोशीपुर गाउँपालिकामा अरू दलका उम्मेदवारलाई पच्छ्याइरहेको छ।