परिवर्तनका लागि सदाचारी समाज
सदाचारी शब्द मानिसको चरित्रसँग जोडिन्छ। मानिसको चरित्र तीन ठाउँमा गएर ठोकिन्छ। पहिलो परिवारमा, दोस्रो समाज र तेस्रो कार्यस्थलमा। बृहत् रूपमा मानिसको चरित्र र चालचलन समाजमा गएर थिग्रिन्छ। समाजले सोही आधारमा चरित्र धारण गर्दछ। समाजको चरित्र जस्तो बन्छ, त्यसले नै व्यक्तिलाई प्रभाव पार्न थाल्छ। हुन त समाज निर्माणको कारक मानिस हो। तर, मानिसको चरित्र निर्माणको कारक समाज हो। बडो विचित्रको सम्बन्ध छ, मानिस र समाजबीच।
व्यक्तिगत तवरमा मानिसका अनेक आयाम हुन्छन्। ती आयामलाई उत्कृष्ट वा निकृष्ट बनाउनमा समाजकै योगदान रहन्छ। घर चलाउने व्यक्तिदेखि देश चलाउने राजनेतासम्म कस्तो हुने भन्ने सवाल समाजसँग जोडिएको हुन्छ। उही नेता हो, विश्वको समृद्ध देश बनाउने। अनि उही नेता हो देश बेच्ने। समाजको कुनै व्यक्ति रत्तिभर भ्रष्टाचार गर्दैन, गर्न दिँदैन अनि कुनै व्यक्ति भ्रष्टाचारमा लिप्त भइरहन्छ। वास्तवमा यी सबै समाजकै उपज हुन्। समाज स्वच्छ भए सबै कुरा स्वच्छ हुन्छ। मुहान सफा भए बग्ने पानी पनि सफा हुन्छ। समाज सफा हुन जरुरी छ। समाजलाई सुबाटोमा लगाउने काम सरकारको हो। संघीयता कार्यान्वयनका क्रममा भर्खरै ७ सय ५३ स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको छ। स्थानीय सरकार सञ्चालनको अभिभारा नवनिर्वाचितले बहन गर्दैछन्। नवनिर्वाचित जनप्रतिनिधिको चरित्र सफा र स्वच्छ प्रदर्शन हुन सके समाजको चरित्र पनि निर्मल हुँदै जानेछ। यसको असर सुशासन, विकास र समृद्धिमा देखिन थाल्नेछ। सकारात्मक परिवर्तनका तस्बिरहरू सामुन्नेमा देखिनेछन्।
मानिस सबैसँग तीनवटा आँखा हुन्छन्। बाहिर हेर्न दुई र भित्र हेर्न एक। सबै कुरा ‘बाहिर’ भइरहेका देखिन्छन्, हामी सबैको दृष्टि बाहिरी संसारमा हुन्छ। खास खजाना ‘आफैंभित्र’ हुन्छ जुन हामी कमैले मात्र नियाल्छौं। तेस्रो आँखाले आफैंसँग भएको ‘सुख र खुसी’ ननियालेर समाजको मुहान धमिलो बनेको हो। निर्वाचित जनप्रतिनिधिले तेस्रो आँखा खोल्न जरुरी छ। जनप्रतिधिले गर्ने काम विकास हो। विकासबाटै समृद्धि प्राप्त हुन्छ। ‘समृद्ध नेपाल ः सुखी नेपाली’ विकास र समृद्धिको समष्टि हो। न्यायपूर्ण समाजको विम्ब हो। यसका लागि ‘आफैंसँग भएको सुख र खुसी’ नियाल्न जरुरी छ। जीवन विज्ञानका ज्ञाता भन्छन्, मानव जीवनले अन्ततः प्राप्त गर्ने पनि ‘आफैंसँग भएको सुख र खुसी’ नै हो। नवनिर्वाचित ७ सय ५३ स्थानीय तहका हजारौं जनप्रतिनिधिले यही सत्यलाई अँगाल्न सके भने समाजमा ‘कायापलट’ हुन बेर लाग्ने छैन। ‘सदाचारी समाज निर्माणको अभियन्ता अब जनप्रतिनिधि स्वयं हुनुपर्छ।
जनप्रतिनिधिले बुझ्नैपर्ने चुरो कुरो भनेको विकासमा जनताको स्वामित्व र अपनत्व हुनुपर्छ। विकासमा जनता जोडिनुपर्ने स्थितिमा जनता सदाचारी हुन अनिवार्य छ। विकासको जग शिक्षा र स्वास्थ्यमा अडिएको हुन्छ। त्यसलाई सफल पार्ने काम सभ्य र सुसंस्कृत नागरिकबाट मात्र सम्भव हुन्छ।
समाज उही हो तर व्यक्ति विविध विशेषताका हुन्छन्। तिनको पारिवारिक संस्कार, संगत, शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था आदि थुप्रै कुराको जग पृथक् हुन्छ। त्यसैले मानिस÷नागरिकबीच समानताभन्दा बढी विविधता भेटिन्छ। सबैलाई समान बनाएर होइन, विविधताभित्र समानता खोजेर यथार्थ स्वीकार्दै विकासको यात्रा अघि बढाए मात्र समृद्धि सम्भव हुन्छ। सही कुरा समाउने र गलत छोडेर अघि बढ्ने प्रवृत्ति अबका जनप्रतिनिधिमा प्रकट हुनुपर्छ। नागरिकका अभिभावक भनेकै स्थानीय सरकारमा नेतृत्व गर्ने जनप्रतिनिधि हुन्। उनीहरूले आफ्नो पाँचवर्षे कार्यकालमा जनताका होइन ‘नागरिक’का ‘असल अभिभावक’ बनेर उदाहरणीय काम गर्न सक्नुपर्छ। यसरी राजनेताले नागरिकलाई सदाचारी बनाउनु पर्छ। नागरिक सदाचारी भए भने मात्र दिगो विकासको बिज रोपिन्छ। भाषण र नाराले मात्र देश समृद्ध बन्दैन भन्ने त प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रले समेत पुष्टि गरिसकेको छ। असल र संस्कारी नागरिक बनाउने दायित्व पनि अब गाउँका सिंहदरबार हाँक्ने अर्थात्
घरदैलोका सरकार चलाउने जनप्रतिनिधिको काँधमा छ। आफूले बनाएका ‘असल र संस्कारी नागरिक’सँग जनप्रतिनिधिले अबका दिनमा हातेमालो गर्दै दूराचारी प्रवृत्ति उन्मूलन गर्ने र सदाचारको बिज रोप्ने अभियान नै चलाउनु पर्छ।
विकासको जग शिक्षा र स्वास्थ्यमा अडिएको हुन्छ। सडक खन्ने र भौतिक पूर्वाधार विकास मात्र विकास होइन, त्यसलाई सफल पार्ने काम सभ्य र सुसंस्कृत नागरिकबाट मात्र सम्भव हुन्छ। यो यथार्थ जनप्रतिनिधिले बुझे र व्यवहारमा लागू गरे भने मात्र पनि समृद्धिका पाइला सर्नेछन्। स्थानीय सरकारको जिम्मेवारीमा आएको शिक्षाको सही परिचालन गर्न सके संस्कारी विद्यार्थी उत्पादन हुनेछन्। ‘राष्ट्रप्रेम’ र ‘विकासप्रेम’को जगमा शिक्षा दिन सके उन्नत नेपाल छिट्टै सम्भव हुनेछ। यसका लागि स्थानीय पाठ्यक्रम बनाउनेसम्मको अधिकार पनि स्थानीय सरकारलाई छ। यिनै विद्यार्थी हुन्, भोलिको नेपाल। यसरी जगबाटै ‘विकृति’लाई ‘फिल्टर’ गर्न जनप्रतिनिधि तात्नुको विकल्प छैन। सही वातावरण दिने समाज निर्माण गर्ने दायित्व जनप्रतिनिधिकै हो। शिक्षा मात्र होइन, स्वास्थ्य पनि स्थानीय सरकारको हातमा छ। शारीरिक र मानसिक रूपमा स्वस्थ्य मानिसले मात्र समाजमा सही योगदान दिन सक्छ। जनप्रतिनिधिले रोग लाग्न नदिन टोल टोलमा योग केन्द्रहरू खोलिदिए पुग्छ। लागिहाले सम्पूर्ण उपचार सस्तोमा गुणस्तरीय ढंगले गर्ने स्रोतसाधन सम्पन्न अस्पतालको व्यवस्था गर्दिनु पर्छ। यसरी दिइने शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ। हेक्का राख्नैपर्ने कुरो, अबका युवाको प्रतिस्पर्धा विश्वव्यापी छ। किनभने गाउँका सिंहदरबार हाँक्ने जनप्रतिनिधि स्थानीय सरकारका चालक हुन्।
परिवर्तन सबैलाई आवश्यक छ। यथास्थितिमा कोही रमाउन सक्दैन। परिवर्तनले विकास र विकासले परिवर्तन ल्याउँछ। सकारात्मक दिशामा हुने गुणात्मक परिवर्तन र परिमाणात्मक वृद्धिले विकास भएको प्रमाणित गर्छ। विकासले आत्मनिर्भर बन्न सिकाउँछ। यसका लागि मानवीय परिचालन आवश्यक हुन्छ। मानवले प्राकृतिक स्रोतहरूको परिचालन गर्ने क्षमता राख्छ। जसबाट सामाजिक एवं आर्थिक विकास सम्भव हुन्छ। सामाजिक र आर्थिक विकास अन्तरसम्बन्धित अवधारणा हुन्। युजिन स्टेलीले आफ्नो पुस्तक ‘द फ्युचर अफ द अन्डर डेभलपमेन्ट’मा विकासबारे यस्तो धारणा व्यक्त गरेका छन्, ‘यदि कुनै देशमा सामाजिक तथा आर्थिक विकासको उल्टो गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास, रोगजस्ता समस्या छन् भने यस्तोमा विकास व्यर्थ मानिन्छ र सफल विकास भन्न सकिँदैन।’ यो भनाइले सर्वप्रथम विकासका लागि सही जग बसाउनु पर्नेमा जोड दिएको देखिन्छ। पंक्तिकारले शिक्षा र स्वास्थबारे माथि धारणा व्यक्त गरिसकेको छ। सफल विकासको अपेक्षा गर्ने हो भने गुणस्तरीय जीवनशैली, सुरक्षा, स्वाधीनता र सहभागिताका साथै रचनात्मक अवसर हुनुपर्छ।
इतिहास साक्षी छ, दोस्रो विश्वयुद्धपछि विकासोन्मुख राष्ट्रहरू परिवर्तनका अनेकौं विकल्पकारी अवस्थाबाट गुज्रँदै आएको देखिन्छ। ती देशले सामाजिक, राजनीतिक, आर्थिक, पर्यावरणीय परिवर्तन खोजेको स्पष्ट हुन्छ। १६औं र १७औं शताब्दीमा मानव समाजले एक्कासि एउटा ठूलो परिवर्तन खोज्यो र पायो पनि। जसलाई जागरण पनि भनिन्छ। प्राचीन नेपाली शासन व्यवस्थालाई हेर्ने हो भने गोपाल, महिषपाल, किराँत कालमा पाटी, पौवा, पँधेरो, धारा, कुलो निर्माण नै विकास थिए। यो क्रम लिच्छवि, मल्ल र शाह कालसम्म देख्न सकिन्छ। १९०३ सालमा राणा शासन सुरु हुँदासम्म परिवारको स्वार्थका लागि केही काम भए। २००४ सालसम्म रहेको राणा शासनकालमा राष्ट्र र जनताका नाममा विकास भएन भन्दा फरक पर्दैन। २००७ सालमा मुलुकमा पहिलोपटक प्रजातन्त्र आएपछि जनता सचेत भए। प्रजातन्त्रसँगै परिवर्तनका लागि राजा त्रिभुवनले नेपालमा पहिलोपटक विकास प्रारम्भ गर्न योजना तथा विकास मन्त्रालय स्थापना गरे। र, अन्तर्राष्ट्रिय सहयोगमा त्रिभुवन ग्रामीण विकास कार्यक्रम सुरुआत गरियो। २०१३ सालमा नेपाल सरकारले पहिलोपटक पञ्चवर्षीय योजना सुरुआत गर्यो। नेपालमा योजनाबद्ध विकासको थालनी यहीँबाट भएको हो। हाल मुलुकमा १५औं पञ्चवर्षीय योजना सञ्चालित छ जसको मूल नारा ‘समृद्ध नेपाल : सुखी नेपाली’ छ।
ग्रामीण विकासको अन्तरसम्बन्ध भनेको कृषि क्षेत्रको उत्थानसँग हुन्छ। ग्रामीण विकास मानव कल्याणका लागि हुन्छ। यसले सामाजिक एवं आर्थिक स्थितिको संरचनात्मक परिवर्तन गर्छ। नेपालमा ७ सय ५३ मध्ये ४ सय ६० गाउँपालिका छन्। २ सय ९३ सहर भनिए पनि लगभग आधा भूगोल गाउँले परिवेशकै छन्। त्यसैले नेपालमा ग्रामीण विकासबिना मुलुकको समग्र विकास सम्भव देखिँदैन। मुलुकको बृहत् लक्ष्य प्राप्तिका लागि ग्रामीण विकास मूल आधार हो। ग्रामीण क्षेत्रमा खासगरी विकटका बासिन्दा अझै पनि गरिबी, पछौटेपन, अन्धविश्वासमा रुमलिएका छन्। विद्युत्, सडक, सञ्चार, अस्पतालजस्ता भौतिक सुविधाबाट गाउँले जीवन वञ्चित हुन्छ। ग्रामीण क्षेत्रहरूलाई उपयुक्त परिवर्तन गर्ने हो भने जनतामा उपयुक्त सीप र क्षमता प्रदान गर्नुपर्छ, जसले विकासलाई दिगो बनाउन सकोस्। ‘यदि विकासलाई अघि बढाउँदै त्यसमा दिगोपना दिने हो भने समग्रमा ग्रामीण क्षेत्रबाट तथा कृषि क्षेत्रबाट नै सुरु गर्नुपर्छ’, प्राध्यापक टोडारो भन्छन्, ‘गरिबी, व्यापक असमानता, तीव्र जनसंख्या वृद्धिदर, बढ्दो बेरोजगारीजस्ता समस्याहरूको मूलसृष्टि ग्रामीण क्षेत्रमा रहेको आर्थिक जीवनको मन्दीबाट भइरहेको हुन्छ।’ त्यसैले पनि स्थानीय सरकारको नेतृत्वमा पुगेका जनप्रतिनिधिले समस्या र विकासको चुरो कुरोमा आफूलाई केन्द्रित गर्नुपर्छ।
विकास जनताका लागि हो। जनप्रतिनिधिले बुझ्नैपर्ने चुरो कुरो भनेको विकासमा जनताको स्वामित्व र अपनत्व हुनुपर्छ। यसो हुन सक्यो भने मात्र जनता विकासको स्वामी बन्नेछ। जबसम्म जनता विकासका ‘एजेन्ट’ बन्दैनन् तबसम्म यसले मूर्तरूप लिँदैन। अर्थात्, विकासका दर्शक र उपभोक्ता मात्र बनुञ्जेल जनताले अपनत्व महसुस गर्दैनन्। परिवर्तनको आभास महसुस गर्दैनन्। सम्भवतः यही भएर सन् १९७० मा विश्वमा ‘पिपुल्स पार्टिसिपेसन’को अवधारणाको उदय भयो। अर्थात्, जनस्वामित्व भएको विकास।
अर्को शब्दमा विकासमा जनसहभागिता। जनता केन्द्रित विकास मानवीय हितमा हुन्छ। यसका लागि जनता केन्द्रित विकासको अवधारणा अघि सार्नुपर्छ। विकासमा जनता जोडिनुपर्ने स्थितिमा जनता सदाचारी हुन अनिवार्य छ। मानवीय हित वा कल्याण हुन पंक्तिकारले सुरुमा उठान गरेको ‘सदाचारी’ शब्द मानिसको चरित्रमा अभिन्न भएर रहनु पर्दछ। किनकि परिवर्तनको जग बसाउन सदाचारी समाज नै चाहिन्छ। अन्त्यमा, दोस्रो कार्यकालका जनप्रतिनिधि ‘डोजराध्यक्ष’, ‘ठेकेदार’ ‘बिचौलिया’ आदि नबनेर विकासको प्रवर्तक, संरक्षक र स्वामी बनेर परिचय बनाउन र प्रसिद्धि कमाउन सकुन्।