इलाममा कांग्रेस, माइमा एमाले, अरु दुईमा मिश्रित
इलाम : नेकपा एमालेको प्रभाव क्षेत्र रहेको इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयर पदमा नेपाली कांग्रेसका केदार थापा विजयी भएका छन्। उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे। उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन्। उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन्।
नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङको गृह नगरसमेत रहेको इलाम नगरपालिकामा मेयरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए। त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १००८८ मत ल्याएकी छन्। २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो। १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापा र उपप्रमुख विष्णु दाहाल
इलामको माई नगरपालिकामा नेकपा एमालेका खम्बासिंह लिम्बु र उप मेयरमा एमालेकै हिमा भण्डारी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार विजयी लिम्बु नेकपा माओवादी केन्द्र (गठबन्धन) तर्फका उम्मेरदवार धनकुमार लिम्वूलाई १६१७ मतान्तरले पछि पार्दै विजयी भए। विजयी लिम्बुले ८१३२ मत प्राप्त गर्दा पराजित लिम्बुले ६५१५ मत प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरमा नेकपा एमालेका हिमा भण्डारी ७८७५ मत ल्याई विजयी भइन्। निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फ नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले ६३३६ मत प्राप्त गरे। उपमेयरमा विजयी र उपविजयीको मतान्तर १५३० मत रहेको छ।
माइको वडा नम्बर १ अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर राईसहित प्यानल विजयी भएको छ। वडा नम्बर २ मा नेकपा एमालेका उर्दबहादुर राईको नेतृत्वमा प्यानलनै विजयी भएको छ। वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा देउकुमार तामाङ र एक खुला सदस्य निर्वाचित हुँदा एमालेका ३ जना सदस्य निर्वाचित भएका छन्। वडा नम्बर ४ मा नेकपा एमालेका हेमबहादुर लायो मगरको नेतृत्वमा प्यानलनै विजयी भएका छन्। वडा नम्बर ५ मा वडाध्यक्ष भुपेन्द्र पुर्बछाने मगरको नेतृत्वमा नेकपा एमाले प्यानलनै निर्वाचित भएको छ।
त्यस्तै माई ६ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका खड्ग सुन्दर योङहाङ लिम्बु निर्वाचित हुँदा सदस्यमा जनता समाजवादीका एक, माओवादी केन्द्रका एक र नेकपा एमालेका दुई सदस्य निर्वाचित भएका छन्। वडा नम्बर ७ मा एमालेका बुद्धिप्रसाद खनालको नेतृत्वमा प्यानलनै विजयी भएको छ। वडा नम्बर ८ मा अमृत बहादुर मोक्तानको नेतृत्वमा प्यानलनै विजयी भएका छन। वडा नम्बर ९ मा लिला कुमार राईको नेतृत्वमा एमाले प्यानलनै विजयी भएको छ। वडा नम्बर १० मा गणेश राईको नेतृत्वमा एमाले प्यानलनै विजयी भएको छ।माई नगरमा मेयर, उपमेयर र वडाध्यक्षसहित ५२ सदस्यको लागि भएको निर्वाचनमा ४२ पदमा एमालेले र १० पदमा गठबन्धनले जित हासिल गरेको छ।
इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास) र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन्। सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्षमा विजयी भुजेलले ४६५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छन्। ६ वटा वडा रहेको रोङ गाउँपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् भने २ वटा एमालेले जितेका छन्।
वडा नम्बर १, ३ र ५ मा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ४ र ६ एमालेले जितेको छ। वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार ले विजयी हात पारेका छन्।
इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे विजयी भएका हुन्। थेबेले ५१३५ मत ल्याएका छन् भने नेकपा एसका राईले ४९२३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी प्रबिना राई विजयी भएकी छन्। नेकपा एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले हराउँदै राई उपाध्यक्ष निर्वाचित भएकी हुन्। माइजोगमाई–१ मा एमालेको प्यानल विजयी भएको थियो।
वडा नं. २ र ३ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको प्यानल वडा नं ४, ५ र ६ मा एमालेको प्यानल विजयी भएको छ।