चौदण्डीगढी नपाको मेयर र उपमेयरमा एमाले विजयी, माओवादी क्लिन स्वीप
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।
एमालेको तर्फबाट मेयर पदमा उमेदवार बनेका कालुमान लामाले प्रतिसपर्धी नेपाली कांग्रेसका खगेन्द्र राईलाई ८५१ मतान्तरले पछि पारेका छन्। लामाले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाए। गठबन्धनको तर्फबाट मेयर पदमा उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४ हजार ३७५ मत ल्याए।
त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मणिकादेवी दुलालले प्रतिस्पर्धी नेपाली कांग्रेसका रिताकुमारी चौधरीलाई १ हजार ८०३ को मतान्तरले जित निकालिन्। निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी चौधरीले ७ हजार ७६० मत ल्याइन्। गठबन्धन नेकपा माओवादी केन्द्रकी उपमेयर उमेदवार हिरा थापा तिमिल्सिनाले ३ हजार ५११ मत प्राप्त गरिन्।
२०७४ सालको निर्वाचनमा कांग्रेसका राई मेयरमा र चौधरी उपमेयरमा निर्वाचित भएका थिए। १० वटा वडा रहेको चौदण्डीगढीमा एमालेले एक्लै ८ वटा वडा जितेको छ। एमालेले वडा नं १, २, ४, ५, ७, ८, ९ र १० मा क्रमश सीताराम राई, हरिबहादुर खडका, लुङ्गराज राई, तुलसी ढकाल, केशव अधिकारी, भवनाथकुमार मगर, प्रकाश राउत र धर्मेन्द्रकुमार खड्का विजयी भएका छन्।
त्यसैगरी कांग्रेसबाट वडा न. ३ र ६ मा क्रमश पशुराम राई र अमरबहादुर खडका विजयी भएको निर्वाचन अधिकृत महेश दहालले बताए। अघिल्लो पटक तीन वटा वडामा जित निकालेको नेकपा माओबादी केन्द्र यसपटक गठबन्धन गरेर चुनाव लडँदासमेत क्लिन स्वीप भएको छ।
चौदण्डिगढीको जितसँगै एमालेले उदयपुरमा पहिलो खाता खोलेको छ। वडाध्यक्ष पदमा सबैभन्दा बढि २१ वडामा जित निकालेको एमालेले पालिका प्रमुख र उपप्रमुखमा भने पहिलो खाता खोलेको हो। ५ वटा स्थानीय तहको मतगणना सम्पन्न हुँदा एमालेले पहिलो खाता खोलेको हो।
स्थानीय तह रहेको उदयपुरमा २०७४ को निर्वाचनमा ६ वटा पालिकामा जित निकालेको एमालेले यसपटक खुम्चिदै गएको छ। चार नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा अघिल्लो निर्वाचनमा ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा जित निकालेको थियो।
३९ हजार ३४१ कुलमतदाता रहेको चौदण्डिगढीमा २५ हजार ३३१ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयर पदमा १ हजार ४८४ र उपमेयर पदमा १ हजार ५१४ मत वदर भएको छ।
एमालेका मेयर पदका उमेदवार कालुमान लामा र उपमेयरका उमेदवार मणिकादेवी दुलाल । तस्बिर : अन्नपूर्ण