विष्णुपुरबाट सप्तरीमा जसपाले खोल्यो खाता
राजविराज : गत निर्वाचनमा तेस्रो रहेका उमेशप्रसाद यादवले निवर्तमान गाउँपालिका अध्यक्षलाई पराजित गरी सप्तरीको विष्णपुर गाउँपालिका अध्यक्ष बनेका छन् । सप्तरीमा विष्णपुरबाट विजयी सुरुवात गरेको जसपाको तर्फबाट यादवले ३ हजार १६४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विष्णुपुरले जनाएको छ ।
निकटतम प्रतिद्वन्द्वी रहेका निवर्तमान अध्यक्ष कांग्रेसका लिलाम्बर यादवले २ हजार ८१९ मत ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका उमेशले १ हजार ३९० मत मात्र ल्याएर तेस्रो भएका थिए । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका लिलाम्बरले २ हजार १२४ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी रेणकुमारी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ३६५ मत ल्याइन् । अध्यक्षमा जितेको जसपाले उपाध्यक्ष पद गुमाएको छ । जसपाकी उषाकुमारी साह फेरी पनि पराजित भएकी छिन् । गत निर्वाचनमा १ हजार ४८० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेकी साह यसपटक ३ हजार ४६ मत ल्याउँदा पनि निकटतम प्रतिद्वन्द्वी रहिन् ।
वडा अध्यक्षमा जसपाले ५, माओवादी केन्द्र र लोसपाले १/१ वडा अध्यक्षमा जित हासिल गरेको छ । जसपाबाट वडा नम्बर २ मा ४१३ मत ल्याएर भोगेन्द्रप्रसाद यादव, ४ मा ७५९ मत ल्याएर श्रीचन साह, ५ मा ४९९ मत ल्याएर जिवछ मण्डल, ६ मा ४१५ मत ल्याएर परमानन्द यादव र ७ मा ५१४ मत ल्याएर लोचन साहु वडा अध्यक्ष निर्वाचित भएका छन् ।
वडा नम्बर १ मा माओवादी केन्द्रका बलराम यादवले १ हजार ७८ मत र वडा नम्बर ३ मा लोसपाका राजेन्द्रप्रसाद सदाले २५५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीमा हालसम्म घोषित ९ स्थानीय तहको परिणाम अनुसार सप्तरीमा कांग्रेसले ३, एमालेले २, जसपा, लोसपा, जनमत, नेकपा (एकिकृत समाजवादी)ले १/१ स्थानीय तहमा जित हासिल गरेको छ । निर्वाचित ९ वटै पालिकामा निर्वाचित हुने प्रमुख/अध्यक्षहरुले निवर्तमान प्रमुख/अध्यक्षलाई पराजित गरेका छन् । संयोग निर्वाचित हुनेहरु यसअघि २०७४ को निर्वाचनमा उनिहरुसँगै पराजित भएका थिए ।