यति चाँडै भोटरको बेवास्ता

यति चाँडै भोटरको बेवास्ता

स्थानीय तह चुनावका केही दिन राजधानीका सडक सुनसान जस्तै भए । व्यापार, व्यवसाय, पेसामा संलग्न वा अवसर खोजीको सिलसिलामा राजधानीमा रहेकाहरु जिल्ला जिल्ला गएपछि राजधानी सुनसान जस्तै भयो । देशका अरु शहरबाट पनि ठूलो संख्यामा मतदाताहरु भोट हाल्न गाउँ–गाउँ गए । सबैजना आफंै गएनन्। पार्टीका नेता र उम्मेदवारले पालिका बाहिर रहेका मतदातालाई ‘कहाँ–को बस्छ’ भनेर सूची नै बनाएर फोन गरेर जसरी पनि गाउँ फर्किन आग्रह गरे।

अनेक प्रलोभन देखाए। ‘फ्रिमा लगिदिन्छौं, फ्रिमै फर्कने व्यवस्था मिलाउँछौं’ भन्ने आश्वासन दिए। ‘जाने र खाने फ्रि’ अफरपछि अधिकांश मतदाता पनि हौसिए। मतदाता लैजान उम्मेदवारबीच ‘हारालुछ’ नै चल्यो। बस, माइक्रोबस, अटो, जिप, कार जे–जे भेटिन्छ, त्यही रिजर्ब गरे। सानदार रूपमा पार्टीको झन्डा हल्लाउँदै राजधानीलगायत जिल्लाका सहर र सदरमुकाममा बसेका मतदातालाई घर ल्याए। उनीहरूलाई चुनावी अभियानमा पनि सहभागी गराए। छाकैपिच्छे मासु भात पनि खुवाए। मतदाताले उत्साहित हुँदै मतदान पनि गरे। तर, जब मत खस्यो, तब आश्वासन दिने दल र उम्मेदवार गायब भए। देशैभरिका धेरै बसपार्कमा अहिले यस्ता मतदाता यात्रुहरू अलपत्र परेर बिल्लीबाठ भएका खबरहरू आइरहेका छन्। आफैंले टिकट काटेर सहर फर्किन खोज्दा पनि गाडी नै नपाउने र गाडी पाउँदा साबिकको भन्दा धेरै गुणा महँगो भाडा तिनु पर्ने भएपछि अधिकांशले सास्ती भोगिरहेका छन्।

हरेक पाँच–पाँच वर्षमा आउने चुनाव त मतदाताका लागि एउटा जात्रा, मेला, पर्व र महोत्सव अनि, उत्सव हो। तर, किन मतदानकै लागि घर फर्कने घटिरहेका छन् त ? यो सोचनीय विषय हो। दलका यस्तै ढाँट, छल, प्रलोभनका कारण मतदाता निराश बनेका छन्। उनीहरूका रवैयाले मतदान गर्न घर फर्कने क्रम घट्दो छ। मतदान गर्ने घटेका छन्। कुल मतदातामा खसेको मत दर हरेक निर्वाचनमा खस्कँदो अवस्थामा छ।

मतदाताहरूलाई नेताहरूले यसरी नै झुक्याउने र दुःख दिने परिपाटी पुरानै हो। दलहरू हरेक निर्वाचनमा यसको पुनरावृत्ति भइरहेको छ। कोही निर्वाचन जितेर मक्ख पर्छन्। कोही मत बढाएर चित्त बुझाउँछन्। दलीय रवैयाप्रति जनताको विश्वास टुट्दै गइरहेको र दलका बारेमा वितृष्णा बढ्दै गइरहेको विषयमा कसैले ध्यान दिन सकेका छैनन्। दलीयतन्त्रविरुद्ध देशैभरि युवाले अटेरी अभियानको जेहाद छेडेका छन्। युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कतिले जितिसके। काठमाडौंमा गठबन्धन र प्रमुख दललाई बालेनको उम्मेदवारीले आच्छुआच्छु पारिरहेको छ। ठूला भनिएका दलको यस्तै रवैयाले भारतको दिल्लीमा जन्मिएको केजरिवालको आम आदमी पार्टी दिल्लीदेखि पञ्जाबमा राज गरिरहेको छ। नेपालको सहरी क्षेत्रमा पनि यस्तै संकेत देखिएको छ।

मतदाता समयसापेक्ष परिवर्तन चाहिरहेका छन्। दलहरू पुरानै ढर्रामा छन्। निर्वाचनमा मतदाता आकर्षित गर्न दलले राम्रो काम गर्र्नुपर्छ। चुनावी एजेन्डा महत्वाकांक्षी बनाएर मतदाता ढाँट्नेभन्दा व्यवहारमुखी बनाएर जनताको मन जित्नुपर्छ। दलले जनताको सेवामा खटिने योग्य र मतदाताको भावनालाई सम्बोधन गर्ने उम्मेदवार खडा गर्नुपर्छ। न कि बढी पैसा खर्च गर्न सक्ने व्यक्ति। अनि मात्र गाउँ–टोल छोडेर सहर र सदरमुकाम पसेका व्यक्तिलाई भोट हाल्न जाउँजाउँ लाग्छ। भोट हालेकोमा गर्व लाग्छ । चुनावमा बढी खर्च गर्ने जनप्रतिनिधिले निर्वाचित भएपछि त्यो पैसा जनताकै करबाट असुल्ने हो। जनतालाई त्यस्तो जनप्रतिनिधि चाहिएको होइन। मतदाता ढाँटेर, प्रलोभनमा पारेर मत खसाल्ने गलत प्रवृत्ति लोकतन्त्रका लागि लज्जाको विषय हो। प्रलोभन देखाएर भोट माग्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.