निधिको गृहनगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएकी छन्। नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार मेयर र एमालेका उम्मेदवार उपमेयरमा विजयी भएका छन्।
शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार नगरपालिकाको मेयरमा कांग्रेसका विनयकुमार यादव निर्वाचिन भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पजियारलाई ४२ मतको झिनो मतान्तरले पराजित गर्दै यादव मेयरमा निर्वाचित भएका छन्।
यादवले ५ हजार ५५६ मत पाएका छन् भने पजियारले ५ हजार ५१४ मत ल्याएका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेश चौधरी २ हजार ७५८ मत ल्याएर तेश्रो स्थानमा सिमित भएका छन्।
नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव निर्वाचित भएकी छन्। आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहलाई पराजित गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन्। राधादेवीले ५ हजार ७३० मत पाउँदा रञ्जुले ५ हजार ५२३ मत प्राप्त गरेकी छन्। यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसको मेयर उपमेयर निर्वाचित भएको थियो।
प्रतिक्रिया दिनुहोस !