मेयरमा हारे, उपमेयर जिते
परासी : पहिलो स्थानीय तह निर्वाचनमा मेयर पदमा उठेर हारेका माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय दोस्रो प्रयासमा उपमेयरमा विजयी भएका छन्।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसको गठबन्धनबाट उपाध्यायले उपमेयरमा बाजी मारेका हुन्। उनले २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा उमेदवारी दिएका थिए। तत्कालीन नेकपा माओवादीबाट मेयरमा उमेदवारी दिएका उपाध्याय एमालेका उमेदवार धीरज शर्मा बस्यालसँग १० हजार ९६४ मतान्तरले पराजित हुँदै तेस्रो भएका थिए। बस्यालले १२ हजार ८१४ ल्याएर विजयी हुँदा उनले १ हजार ८५० मत पाएका थिए।
अहिले उनले १४ हजार ५९५ मत ल्याएका छन्। एमालेसँग गठबन्धन गरेर उपमेयरमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमुक्ति पार्टीकी तारा रानालाई ७८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भएका हुन्। उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ।