किनाराबाट नेतृत्वसम्म

किनाराबाट नेतृत्वसम्म

देश संघीयतामा छ। राज्यसत्ताामा समान सहभागिता र समावेशी चरित्र यसको विशेषता हो। स्थानीय तह गाउँका सिंहदरबार बनेका छन्। तिनै स्थानीय सरकारमा प्रतिनिधित्व गर्नुपर्ने समावेशी चरित्रलाई राजनीतिक दलहरूले पनि मूलधारमा ल्याउन सकेका छैनन्। दलहरूले अति सिमान्तकृत, लोपोन्मुख, दलित, अपांगता भएका व्यक्ति आदि पछि परेका वर्ग र समुदायबाट थोरै उमेदवार दिए पनि केहीले मात्र गाउँका सिंहदरबार हाँक्ने अवसर पाएका छन् ।

दोस्रो स्थानीय तहको निर्वाचनमा मुलुकभरबाट मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष हुँदै वडाध्यक्ष र सदस्य पदमा केही सीमित संख्यामा निर्वाचित भएका छन्। अनेक उल्झनका बाबजुद कतिपयलाई वडा सदस्य जित्दा पनि ठूलो सफलता मिलेको हो। उनीहरूको संघर्षपूर्ण जीवनका आरोह–अवरोह अन्नपूर्णकर्मीका शब्दमा  :

‘दलित महिला हुनुमा गर्व छ’

गोरखा : दुईपटक लगातार उपाध्यक्ष बन्न सफल हुँदा उनमा हर्षको सीमा छैन। यसमा सबैभन्दा ठूलो जस उनी पार्टीलाई दिन्छिन्, जसले उनलाई दोहोर्‍याइकन टिकट दियो। दलित भएकाले आफूहरू पछाडि पारिएको, महिला भएकाले आफूहरूले पाइला–पाइलामा समस्या झेल्नु परेको गुनासो प्रशस्त सुनिन्छ। कल्पना नेपालीलाई त्यस्तो कत्ति पनि लाग्दैन। ‘यदि म दलित र त्यसमा पनि महिला हुन्नथें भने यति ठूलो अवसर पाउँथें कि पाउन्नथें भन्न सकिन्न’, उनको बुझाइ छ।

आरुघाट गाउँपालिका— ९ आरुटारकी कल्पना नेपाली उपाध्यक्ष पदमा निर्वाचित भइन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेकी उनले एमालेकी सीता दाहाललाई १,८१५ मतले पछि पारिन्। ४० वर्षीया नेपाली दलित र महिला भएकाले मात्र दोहोर्‍याएर अवसर पाएको भन्ने पनि होइन। बाल्यकालदेखि पार्टीमा लागेको र युद्धकाल पनि डटेर सामना गरेको अनुभव उनमा छ। ‘अघिल्लो चरणमा जनता रिजाएछु भन्ने लागेको छ। त्यसैले पार्टीले न्याय दिएर फेरि उपाध्यक्षको टिकट दियो। जनताले जिताइदिए’, उनी भन्छिन्, ‘मेरो वडा माओवादीले जितेको वडा हो तर उपाध्यक्षमा धेरैजसोले मैलाई भोट दिनुभएछ। मसित सबै खुसी हुनुहुन्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भीमोदय माविमा पढाउँथे। त्यतिबेला उनी डेरा गरेर बस्ने आरुटार टोल नै कल्पनाको घर भएको ठाउँ हो। त्यो टोलमा अहिले पनि अधिकांशको आस्था माओवादीमै छ। यद्यपि त्यो हावाले उनलाई छोएन। २०६० साल जतिबेला माओवादी जनयुद्ध चरमउत्कर्षमा पुगिरहेको थियो, त्यतिबेला उनले कांग्रेसको क्रियाशील सदस्यता लिइन्। माओवादीको उर्वर भूमिमा कांग्रेस बनेर राजनीति गर्न पक्कै सहज छैन। भन्छिन्, ‘राजनीति र समाजसेवा गर्न सबैभन्दा पहिले त घरमै अनुकूल वातावरण हुनुपर्दो रहेछ। त्यो पाएकी छु।’

०००
ढोक्प्याका एक्ला जनप्रतिनिधि

ताप्लेजुङ  : मिक्वाखोला गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष डण्डु ढोक्प्या। तोक्पेगोला (ढोक्प्या) समुदायको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ पापुङमा मात्रै बसोबास छ। तिब्बती भाषामा ‘ढोक’ भन्नाले गोठ र ‘पा’ भन्नाले बस्ने भन्ने हुन्छ। यस जातिका मानिस परापूर्वकालमा चौंरी पाल्ने र प्राय : गोठमै बस्ने भएकाले गोठालो भन्ने अर्थमा ‘ढोक्प्या’ जातिको नामकरण भएको पाइन्छ। सोही समुदायका एकमात्र र 
लोकप्रिय जनप्रतिनिधि हुन् उनी।

२०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष बनेका उनले गरेको सामाजिक कामले निकै लोकप्रियता कमायो। आफूले पाउने सेवासुविधालाई जनताकै सेवामा खर्चने निर्णय गरेका उनले वडाको नागरिकका लागि प्रत्येक वर्ष वडाध्यक्ष न्यानो कपडा वितरण गरे। न्यानो कपडा वितरण मात्र होइन, दु :ख परेका नागरिकलाई आफ्नै पिठ्यूँमा हालेर अस्पतालसम्म लैजाने, हिउँमा फसेकाको उद्धारका लागि हेलिकप्टर लिएर गए। यसरी उनी देशभरकै जनप्रतिनिधिमा लोकप्रिय भए। आगामी पाँच वर्ष पनि नागरिककै दु :खसुखमा सँगै हुने उनको सोच छ। ‘आगामी पाँच वर्ष पनि पालिकाका नागरिकको सेवामा खर्चिन्छु’, उपाध्यक्ष डण्डु भन्छन्, ‘म एउटा समुदायको मात्रै जनप्रतिनिधि होइन, आफ्नो समुदायलाई प्राथमिकताका साथ पालिकाभित्रका उत्पीडित उपेक्षित सबै वर्ग र समुदायको समग्र विकासमा लाग्नेछु।’

भौगोलिक हिसाबले पनि विकट रहेको यस गाउँपालिकामा आगामी कार्यकालमा भौतिक विकासको साथै सामाजिक विकासलाई बढी जोड दिने डण्डु बताउँछन्। ‘पालिका विकट क्षेत्रमा भएकाले नागरिकलाई भौतिक विकास चाहिएको छ। त्योभन्दा पनि ठूलो कुरा चाहिँ चेतनाको विकास रहेछ। त्यसमै केन्द्रित हुनेछु’, डण्डु भन्छन्।

०००
‘जोसँग हारे उनैलाई हराए’

धनकुटा  : गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट महालक्ष्मी नगरपालिका वडा नं. ६ को उम्मेदवार बने, ५१ वर्षका शिवराज विश्वकर्मा। उनका निकटतम प्रतिद्वन्द्वी थिए, नेकपा एमालेका डम्बरबहादुर कार्की। यी दुईबीचको भिडन्त रोचक थियो। ८ मतान्तरले पराजित भएका थिए शिवराज। वैशाख ३० मा पनि यी दुईबीचमै प्रतिस्पर्धा भयो। शिवराजले बाजी मारे। कार्कीलाई उनले २६४ मतान्तरले पराजित गरे।

जिल्लाका ६० वडामध्ये दलित समुदायबाट प्रतिनिधित्व हुने गरी उनी मात्र एक्लो वडाध्यक्षका उम्मेदवार थिए। अहिले निर्वाचित पनि एक्लो वडाध्यक्ष पनि उनै हुन्। शिवराजको वडाध्यक्षको रूपमा जितले जिल्लाको सिंगो दलित समुदायमा खुसीयाली छाएको छ। अघिल्लो निर्वाचनको हारले पाठ सिकाएको उनी बताउँछन्। एक पटकको पराजितले मान्छेमा नैराश्यता ल्याउँछ। ‘तर मैले त्यसलाई आफूमा भएको गल्ती कमजोरीलाई सिकाइका रूपमा लिएँ। पार्टी संगठनको विस्तार गरी थप क्रियाशील वनाएँ। जनताको सुखदु :खमा साथ दिएँ। सोही विश्वासले जिताइदिनु भयो’, उनी भन्छन्। जनताको हितमा हुनेखालका कार्यक्रम गरी जीवनस्तर उकास्ने उनी बताउँछन्। तीन दशक सामाजिक संघसंस्थामा आबद्ध रही क्रियाशील रहेको अनुभव उनीसँग छ।

०००
वडाध्यक्षमा ३४ वर्षे चेपाङ

मकवानपुर  : कैलाश गाउँपालिका ८ नम्बर वडाले भने चेपाङ समुदायको अध्यक्ष पाएको छ। ३४ वर्षीय आशिष चेपाङ नेकपा माओवादी केन्द्रका रवीन्द्रलाल थिङलाई हराउँदै विजय भए। कैलाश गाउँपालिका— २ को महिला सदस्यमा दिलमाया चेपाङ निर्वाचित भइन्। ४० वर्षीय उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन्। ३ नम्बर वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट ४२ वर्षीय राममाया चेपाङ निर्वाचित भएकी छन्। ४ नम्बर वडा सदस्यमा ३१ वर्षीय निमराज चेपाङ विजयी भएका छन्। माओवादी केन्द्रका सुन्दरमान स्याङ्तानलाई एक मतले पछि पार्दै उनी विजयी भए। कैलाश— ७ का वडा सदस्यमा नेपाली कांग्रेसबाट २४ वर्षीय मानबहादुर चेपाङ विजयी भए। मनहरी गाउँपालिका— ३ को वडा सदस्यमा नेपाली कांग्रेसबाट ३६ वर्षीय हीराबहादुर चेपाङ निर्वाचित भए। 

०००

स्थानीय सत्तामा अल्पसंख्यक लाप्चा

इलाम  : अल्पसंख्यक लाप्चा समुदाय लामो समयदेखि कला, संस्कृति र पहिचानको यात्रामा छ। नेपालमा रहेका लाप्चा समुदायको संख्या सानो भए पनि उनीहरूको कला, संस्कृति र साहित्य विशिष्ट छ। यिनै लाप्चा समुदायका अगुवाहरू अहिले स्थानीय तहमा समेत हिस्सेदारी खोजिरहेका छन्। दोस्रो स्थानीय निर्वाचनमा केहीले सफलता त केहीले असफलता पाए। सफलता पाउनेमध्ये एक हुन्, इलामको रोङ गाउँपालिका—४ का राजकुमार लाप्चा। उनले एमालेबाट विजय प्राप्त गरे। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मुढा चिह्नका सूर्य राईले ३४१ मत पाए। राई पहिलो निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष भएका थिए।

स्थानीय सहकारीदेखि जनजाति महासंघको स्थानीय इकाइसम्मको सफल नेतृत्व गरेका लाप्चाले खेतीपातीदेखि व्यापारसम्मको अनुभव सँगालेका छन्। भन्छन्, ‘समाजसँग काम गरेको अनुभव छ, अहिले काम गर्ने थप अवसर पाएको छु।’ उनी यो समुदायबाट इलाममा वडाध्यक्ष बन्ने एक मात्र उम्मेदवार हुन्। उनले भने, ‘अब समुदायको उन्नतिका लागि पनि नागरिकको भावनाअनुसार काम गर्ने योजनामा छु।’ नेकपा एमालेकै तर्फबाट सूर्योदय नगरपालिका—५ का २६ वर्षीय आकाश लाप्चाले पनि वडा सदस्यमा विजय हासिल गरे। उनले प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर तामाङलाई हराए।

प्रष्टसँग कुरा राख्न सक्ने उनी पनि समाजको रूपान्तरण र लाप्चा समुदायको हितमा योजनाबद्ध रूपमा काम गर्ने योजनामा छन्। उनले लाप्चाहरूको पहिचान बोकेको ‘जुठी’को संरक्षण गर्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्। उनले भने, ‘समुदायसँग सल्लाह गरेर अरू योजना बनाउने सोचमा छु।’ उनले कृषि, पर्यटनसँग लाप्चा समुदायलाई जोड्दै अघि बढ्ने योजना सुनाए। विभिन्न दलहरूले इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबाट लाप्चा समुदायका स्थानीय नेतालाई उम्मेदवार बनाएका थिए। नेपालमा ३ हजार ५ सयको हाराहारीमा लाप्चाहरूको बसोबास छ।

०००
माझी समुदायले पायो वडाध्यक्ष 

नेपाल सरकारले अति सिमान्तकृत जातिमा राखेको माझी जातिबाट मकवानपुरको बागमती गाउँपालिका—४ को वडाध्यक्षमा दन्तलाल माझी निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका ३७ वर्षीय उनी पूर्वमाओवादी लडाकु हुन्। बागमती गाउँपालिका ३ नम्बर वडामा नेकपा माओवादी केन्द्रबाट भगवती माझी वडा सदस्यमा निर्वाचित भइन्। बकैया गाउँपालिका ५ नम्बर वडा सदस्यमा नेपाली कांग्रेसबाट सोमबहादुर माझी निर्वाचित भएका छन्।

०००
पाल्पाका एक्लो दलित वडाध्यक्ष

तानसेन  : कृष्णबहादुर दर्जी पाल्पामा जिल्लाको नवनिर्वाचित एक्लो दलित वडाध्यक्ष हुन्। पाल्पाको ८१ वडाबाट सिंगो दलित समुदायको प्रतिनिधित्व गर्ने वडाध्यक्ष भएका छन् उनी। रामपुर नगरपालिका–२ दर्छाबाट कांग्रेसबाट उम्मेदवार बनेका कृष्णबहादुर नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गरे। उनले जिल्लाको एकल दलित वडाध्यक्ष बन्ने सौभाग्य पाएका छन्। दर्जीलाई जनप्रतिनिधि भएर दलित, अल्पसंख्यक समुदायको परिवर्तनमा लाग्ने तीव्र इच्छा भएपछि पार्टी वडा कमिटीमा वडाध्यक्षको उम्मेदवारी प्रस्ताव गरे। उनले पार्टीभित्रबाट पनि वडाध्यक्षको सिफारिसका लागि निकै संघर्ष गर्नुपर्‍यो। वडाध्यक्षमा दर्जीसहित नौजनाको दाबेदारी परेको थियो।

वडामा कुमाल, मगर, दलित र खस आर्यसमुदायको मिश्रित बस्ती छ। खस आर्यले पढाइमा ध्यान दिए पनि दलित, मगर कुमाल समुदायले पढाइप्रति ध्यान दिएका छैनन्। त्यहाँ चेतना फैलाउने काम उनले गर्ने भएका छन्। ‘अहिले शिक्षाबिना केही सम्भव छैन। त्यसैले जसरी पनि पढ्नुपर्छ भन्ने चेतना घरघरमा पुर्‍याउने र वडाका सबै बालबालिकाकालाई नि :शुल्क माध्यमिक शिक्षा प्रदान गर्ने पहिलो एजेन्डा मेरो छ’, दर्जी भन्छन्। प्रशस्त खेतीयोग्य जमिन रहेका सबै टोलमा कृषि प्राविधिकबाट माटो परीक्षण गराएर माटो सुहाउँदो खेती प्रणाली विकास गर्ने उनको लक्ष्य छ। उनी वडाका सबैको घरमा अनिवार्य रूपमा एक घर एक करेसाबारी 
सञ्चालन गर्ने बताउँछन्। ज्येष्ठ नागरिक, दलित, गरिब, अपांगलाई स्वास्थ्य चौकीमा सबै किसिमको नि :शुल्क उपचार प्रदान गर्ने प्रतिबद्धता उनको छ।

०००
बादी समुदायबाट पहिलो मेयर

दैलेख  : पुष्प बादीले २०५२ मा दलित समुदायको साझा संगठन नेपाल उत्पीडित दलित जातीय मुक्ति संगठनमा आबद्ध भई राजनीति यात्रा प्रारम्भ गरे। दलित आन्दोलनमा सक्रिय रहँदा उनी २०५६ मा नेकपा माओवादीले सञ्चालन गरेको आन्दोलनमा होमिए। विस्तृत शान्ति सम्झौतापछि उनी माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहे। उनले विशेषगरी दलित अधिकारको लडाइँमा अगुवाइ गरे। अहिले माओवादीको वैकल्पिक केन्द्रीय सदस्य छन्।

आर्थिक रूपमा विपन्न परिवारका पुष्पका लागि राजनीतिक यात्रा कष्टपूर्ण नै रह्यो। झन्डै २७ वर्षे यो यात्रापछि उनलाई सुखद परिणाम आएको छ। उनी चौरजहारी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्।

उनको जित नेपालमा पहिलो पटक बादी समुदायबाट मेयरमा निर्वाचित हुने पहिलो व्यक्तिको रूपमा स्थापित हुन पुगेको छ। बादी समुदायबाट मेयरको नेतृत्व गर्ने पुष्प पहिलो मेयर हुन्। कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै माओवादीबाट पुष्पले जिते।

‘उम्मेदवारी मनोनयन गर्न जाँदा दुई हजार रुपैयाँ थियो। निर्वाचन प्रचारमा धेरै समस्या भयो,’ उनी भन्छन्, ‘पार्टीपंक्ति र जनताको साथले मेरो जित सम्भव भयो।’ विपक्षी दलहरूले कामी, दमाई, सार्की र बादी सुमदायलाई किन नमस्कार गर्ने, बादीलाई जिताउनु हुन्न भन्दै प्रचार गरेको उनीसँग तीतो अनुभव छ। उनी दलित समुदायका नागरिकको आर्थिकस्तर उकास्ने गरी काम गर्ने बताउँछन्। गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि जनशक्ति व्यवस्थापन, ग्रामीण विद्युतीकरण, कृषि र उत्पादन तथा बजारीकरणमा जोड दिने उनको योजना छ।

०००
लोपोन्मुख समुदायका एक्लो वडाध्यक्ष

उदयपुर  : स्थानीय तह निर्वाचनमा उदयपुरमा पहिलोपटक लोपोन्मुख समुदायको प्रतिनिधित्व भएको छ। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिका—११ को वडाध्यक्षमा अनन्त हायु विजयी भएका हुन्। नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हायुले गठबन्धन नेकपा माओवादी केन्द्रका उमेदवार दीपक बुढाथोकीलाई ३ मतको अन्तरले पराजित गरेका हुन्। बुढाथोकी २०७४ को निर्वाचनबाट वडाध्यक्ष पदमा 
निर्वाचित भएका थिए।

३९ वर्षीय हायु भन्छन्, ‘मजबुद गठबन्धनलाई पराजित गर्न सक्नु सौभाग्य हो।’ अघिल्लो चुनावमा पार्टीका उम्मेदवार पराजित भएपछि गाउँमै बसेर मिहीन ढंगले संगठन बनाउँदाको परिणाम यतिबेला देखिएको उनको भनाइ छ। ‘एमालेबाट निर्वाचित भए पनि बिनाभेदभाव सबैलाई समेटेर समृद्ध वडा बनाउनेछु’, उनी भन्छन्, ‘मेरा लागि सबै बराबरी हो, पार्टी, कार्यकर्ता र जनताले मप्रति गरेको विश्वास र सम्मानलाई सदैव आत्मसात् गरेर अघि बढ्छु।’ एसएलसी उत्तीर्ण गरेपछि पशुसम्बन्धी भेटरेनरी जेटीए अध्ययन पूरा गरेका हायुका लागि त्यहीँ भेटेनरी पेसा चुनाव जित्ने आधार भयो। गाउँघरमा पशुचौपाया सामान्य बिरामी हुँदासमेत रातदिन नभनी सेवामा दौडिने हायु निर्वाचित बनेका हुन्।

सानै उमेरदेखि राजनीतिप्रति चासो लिए पनि हायुले २०६४ सालमा एमालेको संगठित सदस्य लिई राजनीतिक यात्रामा होमिए। उनी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा कटारी नगरपालिका इन्चार्जको जिम्मेवारीमा छन्। द्वन्द्वकालीन समयमा हिम्मत गरेर गाउँ बसेका उनी भौगोलिक हिसाबले विकट क्षेत्रका मानिन्छन्।

प्रस्तुति  : शिव उप्रेती/गोरखा, तोयानाथ भट्टराई/ईलाम, बसन्त लिम्बू/ताप्लेजुङ, हरिबहादुर लम्जेल/धनकुटा, कृष्ण सारु मगर/हेटौंडा, कृष्ण पोखरेल/पाल्पा, हिक्मतबहादुर नेपाली/दैलेख, भरत खड्का/उदयपुर
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.