उदयपुरमा ८ मध्ये ६ पालिका प्रमुखले लिए सपथ
उदयपुर : उदयपुरका ६ स्थानीय तहका प्रमुखहरुले शनिबार पद तथा गोपनियताको सपथ लिएका छन्। जिल्ला अदालतमा आयोजित कार्यक्रममा दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षलाई जिल्ला न्यायाधीश दीपक खनालले सपथ ग्रहण गराएका हुन् ।
८ स्थानीय तह रहेको उदयपुरमा मतपरिणाम आइसकेका चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामा, बेलका नगरपालिका प्रमुख अशोक कार्की, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले सपथ लिएका हुन्।
बाँकी दुई कटारी र त्रियुगा नगरपालिकाको मतपरिणाम आइनसकेकोले पछि सपथ गराइने न्यायाधीश खनालले बताए। कटारीको सोमबारसम्म मतगणना सकिने अनुमान गरिएको छ भने त्रियुगाको अझै सुरु हुन सकेको छैन।
बैशाख ३० गतेको निर्वाचनमा वडानं १२ मा विवाद बढेपछि अन्तिम समयमा मतदान प्रकृया स्थगित भएपछि सबै प्रकृया अवरुद्ध भएका छन्। मतगणना गराउने कि पुनः निर्वाचन गराउने भन्ने बिषयमा दलहरु विच कुरा मिल्न सकेको छैन भने निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतले पनि निर्णय दिन सकेका छैनन्।
समयमा निर्णय दिन नसक्दा झन् जटिल र पेचिलो बन्दै गएको छ।