पदभार ग्रहणसंगै वालिङ्मा शल्यक्रिया कक्ष सञ्चालन गर्ने नगरप्रमुख खाँणको पहिलो निर्णय
स्याङ्जा : वालिङका नवनिर्वाचित नगर प्रमुख कृष्ण खाँणले एक वर्षमा शल्यक्रिया कक्ष (सीएस) सेवाको संञ्चालन र २ वटा ग्रामिण सडक स्तरोन्नती गर्ने पहिलो निर्णय गरेका छन्।
प्रमुख खाँणले पदभार ग्रहणपछि सो निर्णय गरेका हुन्। प्रमुख खाँण र उपप्रमुख कबिता तिवारीले धार्मिक विधी अनुरुप पूजाआजा गरेर सोमबार पदभार ग्रहण गरेका हुन्।
नगरप्रमुख खाँणले सीएस सेवा नहुदाँ यहाँका जटिल अवस्थामा रहेका गर्भवतीले जिल्ला अस्पताल स्याङ्जा, पाल्पा, पोखरा जानुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘गह्रौ प्राथमिक अस्पताल वालिङमा एक वर्षभित्र सीएस सेवा सुरु गर्नेछौं।’
यसैगरी दुर्घटना घटाउने उद्धेश्यले वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गर्ने निर्णय भएको छ। यी दुवै ग्रामिण सडकमा गत बैशाखमा दुर्घटना हुँदा ६ जनाले र निर्वाचनका दिन बैशाख ३० गते मतदाता बोकेको जीप दुर्घटना १४ जनाको मृत्यु भएको थियो। अझै ९ जना उपचाररत छन्।
पदवहालीसहितका अन्य कार्यक्रममा वालिङ् नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले सहजीकरण गरेका थिए।