१२ दिनपछि त्रियुगामा मतगणना सुरु
उदयपुर : १२ दिनदेखि स्थगित रहेको उदयपुरको त्रियुगा नगरपालिका-१२ को मतगणना सुरु भएको छ। मतगणना कार्य सुरु गर्ने निर्वाचन आयोगको आदेशपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक बोलाएर दिउँसो २ बजेदेखि मत गणना सुरु गरेको हो।
बिवादित वडा नं १२ को झरेको मतलाई सदर गर्दै गणना गर्ने आयोगको निर्णयले गणना कार्यको ढोका खोलेको मुख्यनिर्वाचन अधिकृत उत्तम सिलुवालले बताए। दलहरुबीचको बैठकपछि वडानं १ बाट गणना सुरु गरिएको उनले बताए।
गणना कार्यलाई छिटो र सहज बनाउन चार वटा ठाउँ तयारी गरिएको छ। सबै ठाउँमा तारजाली र सिसीक्यामेरा जडान गरिएको छ। बैशाख ३० वडा नं १२ को जनप्रेमी आधारभूत विद्यालयमा मतदान प्रकृया जारी रहँदा अन्तिम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रकृया स्थगित भएको थियो।
स्थगित प्रकृयालाई पुनःमतदान कि गणना भन्ने विषयमा दलहरु विभाजित भएका थिए। समयमा आयोगले निर्णय दिन नसक्दा मतगणना र पुनःमतदानका पक्षमा उच्च अदालतमा फरकफरक रिट दायर भएका थिए।
३ हजार १९२ मतदाता रहेका उक्त वडामा १ हजार ७२५ मत खसेको छ। ६० हजार ६५७ मत रहेको त्रियुगा नगरपालिकामा ४० हजार १७९ मत खसेको छ।