लोमान्थाङ बजारमा सडक बत्ती उद्घाटन
जोमसोम : पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिहीबार सडक बत्ती उद्घाटन गरिएको छ। सडक बत्तीको अमेरिकन हिमालयन फाउन्डेसका अध्यक्ष रिचार्ज भोलुमकी छोरी हाइटी भोलुमले एक समारोहकाबीच उद्घाटन गरिन्।
लोमान्थाङ गाउँपालिका वडा–५ का पूर्ववडाध्यक्ष नवाङकुङ्गा लामाको अनुरोधमा अमेरिकन हिमालय फाउन्डेसनले सडक बत्ती जडान गर्न आर्थिक सहयोग गरेको थियो। यसको समन्वय जिग्मे फाउन्डेसनले गरेको थियो। सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडानको जिम्मा स्थानीय उपभोक्ता समितिले लिएको थियो।
पर्खालले घेरिएको लोमान्थाङ बजारको भित्री र बाहिरी बजार क्षेत्रको १४६ वटा विद्युत पोलमा १४६ वटै सडक बत्ती जडान गरिएको जिग्मे फाउन्डेसनका कोषाध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिए। उनकाअनुसार धार्मिक तथा पर्यटकी क्षेत्र लोमान्थाङ बजारलाई २४सैं घण्टा उज्यालो राख्न अमेरिकन हिमालयन फाउन्डेसनको ४९ लाख बजेट खर्च गरी सडक बत्ती जडान र विद्युत पोलहरुलाई कलात्मक बनाउने काम भएको हो।
धार्मिक कलासंस्कृति, ऐतिहासिक सम्पदा, उपल्लो मुस्ताङी समुदायको पृथक मौलिकता, रहनसहन र फरक भुगोलका कारण उपल्लो मुस्ताङ पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छ। उपल्लो मुस्ताङको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व तिजीको अवसरमा लोमान्थाङमा सडक बत्ती उद्घाटन गरिएको स्थानीय उपभोत्ता समितिका अध्यक्ष छेवाङ गुरुङले बताए। सडक बत्ती जडान भएसँगै तिजी पर्वको रोनकता अझै थपिएको उनको भनाइ छ।
उपल्लो मुस्ताङमा नेपाल विद्युत प्राधिकरणले गतवर्ष केन्द्रीय विद्युत लाइन विस्तार गरेसँगै सडक बत्ती जडानमा सहज भएको हो। लोमान्थाङमा सडक बत्तीको विद्युत महशुल र मिटर बक्स जडान खर्च लोमान्थाङ गाउँपालिकाले व्यहोर्ने गरी सम्झौता भएको फाउन्डेसनले जनाएको छ। यसअघि लोमान्थाङ गाउँपालिकाको वडाले लोमान्थाङ बजारक्षेत्रमा विद्युत तार भूमिगत गरेको थियो।