उपल्लो मुस्ताङको लोमान्थाङमा तिजी पर्वको रौनक
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि तिजी पर्वको रौनक सुरु भएको छ। उपल्लो मुस्ताङको ऐतिहाँसिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङमा भीडभाड बढेको छ।
तिब्बती कला संस्कृतिसँग उस्तै गरी मेल खाने तिजी पर्व लोछोदिन समुदायका मानिसले मनाउने गर्छन्। तिजी पर्वको शाब्दिक अर्थ तेम्बा चिरिङ हो। कोरोना कहरको ३ वर्षपछि लोमान्थाङ दरबारको परिसरमा सदियौं वर्ष पुरानो गुरु पद्यसम्भवको बृहत थान्का मुस्ताङी राजाको दरबारबाट बाहिर निकालेर सर्वसाधरणलाई प्रर्दशनीका लागि भित्तामा झुन्ड्याएर तिजी पर्व शुभारम्भ गरिएको छ।
पर्वको पहिलोदिन लोमान्थाङका स्थानीयले पद्यसम्भवको थान्का अगाडि पूजापाठसहित खाँदा लगाएर दर्शन गरे। पर्वको दोश्रोदिन फेरि अर्को थान्का सर्वसाधरणको अवलोकनका लागि देखाईने छ। तिजी पर्वको पहिलोदिन लोमान्थाङ छोदे गुम्बाका लामाहरुले देवीदेवता सम्या नाच देखाएका छन्।
तिजी पर्वको दोश्रोदिन लामाहरुले मन्दिर बनाउने नाच र बेलुकी बज्रकिला नाच देखाउने लोमान्थाङका पुजारी आमची घ्याचो बिष्टले जानकारी दिए। यस्तै पर्वको तेश्रोदिन ढाका ढुल्पा नाच देखाईने छ। जुन नाच पद्यसम्भवले राक्षसलाई बध गरेको कथामा आधारित रहेको उनको भनाई छ।
उपल्लो मुस्ताङमा मनाईने तिजी पर्व १५ औ शताब्दीदेखि सुरुआत भएको भन्ने भनाई छ। तिजी पर्व ईतिहाँस गुरु पद्यसम्भव तिब्बतमा साम्य गुम्बा निर्माणका लागि सहजीकरण गर्ने क्रममा मुस्ताङ आउँदाको कथामा आधारित छ। तिजी पर्वमा लोमान्थाङ स्थित छोदे गुम्बाका लामाहरुले धार्मिक तथा सास्कृतिक नृत्य र पुजापाठ गरि तिजी पर्वको सुरु गरेका थिए।
छोदे गुम्बा र स्थानीय समुदायको व्यवस्थापनमा आयोजना हुने परम्परागत तिजी पर्वमा लोघेकर दामोदरकुण्डको घिलिङ देखि कोरलानाकासम्मका गाउँमा बसोबास गर्ने बिष्ट,गुरुङ र लोहा समुदायका मानिसहरु तिजी पर्वमा उपस्थित हुन लोमान्थाङको मेलामा उपस्थिती भएका छन्। लोमान्थाङमा आजदेखि ३ दिनसम्म मनाईने तिजी पर्वमा लोछोदिन समुदायका मानिसले संयुक्त रुपमा पुजाआजा गर्ने चलन छ। तिजी पर्वमा लामाहरुले प्रस्तुत गर्ने देवीदेवताको नृत्य अवलोकन गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश छ। तिजी पर्वमा विश्वशान्तिको कामना गरिने,प्राकृतिक प्रकोप र अनिष्ठ नहोस भन्ने कामना गर्दै लामाहरुबाट धार्मिक पुजापाठ गरिने गरिन्छ।
शुक्रबारदेखि सुरु हुने तिजी पर्व अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङतर्फ आउने क्रम बढेको हो। लोमान्थाङमा ३ दिनदेखि तिजी पर्व अवलोकनका लागि आएका विदेशी पर्यटकले लोमान्थाङ बजार गुज्जार भएको छ। लोमान्थाङमा सुरु भएको तिजी पर्व अवलोकन गर्न अमेरिका राजदुत र्यान्डी डब्लु बेरी र भारतीय कार्यबाहक राजदूत नाम्ग्या छोडेन सी खाम्पा उपस्थित भए। उपल्लो मुस्ताङको मौलिक कलासंस्कृति, भेषभुषा र प्राकृतिक फरक भूगोल दृष्यावलोकन गर्न विदेशी पर्यटक अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी तिरेर त्यसतर्फ जाने गर्छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्वले उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने बताए। उनले तिजी पर्व अवलोकन गर्न झन्डै ५ सय बढी विदेशी पर्यटक लोमान्थाङ आएको बताए। लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङ सांस्कृति धरोहर रहेको र त्यहाँको मौलिकता,पहिचान, संस्कृति, सभ्यता, भौगोलिक विविधिता, जैविक विविधता र स्थानीय जिवनशैलीले पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउने बताए।