एक भोटमात्रै होइनन् जनता
चुनाव अघि र पछि नेपाल–भारत नाकामा दृश्यहरू कोभिडका बेलाको जस्तै थियो। चुनाव अघि लर्काे लागेर नेपाल भित्रनेहरूको दृश्य देखियो। चुनाव सकिएपछि फर्किनेहरूको। चुनावमा भोट हाल्न आएकाहरू धमाधम फर्किँदा नाकामा निकै घुइँचो भयो यो साता। विदेशमा भएका नेपालीलाई भोट उतैबाट हाल्ने व्यवस्था छैन। भारतमा रोजगारीका सिलसिलामा गएकाहरूलाई भने दूरीका हिसाबले नेपाल आउन सजिलो भयो। आए। उनीहरू प्रत्येकपटक यसरी नै चुनावमा आउने अनि रोजगारी र व्यवसायका निम्ति भारत फर्कने गरेका छन्। कैलालीको गौरीफन्टा नाकामा भेटिएकाहरू अघिल्लोपालि पनि यसरी नै भोट हाल्न आएर गएकाहरू धेरै थिए। त्यतिबेला र अहिले पनि धेरै नेताहरूका फोनका दबाबले उनीहरू आएका थिए। बस नै रिजर्भ गरेर आएकाहरूले फर्कँदा पनि त्यस्तै गर्नुपर्यो। नेताहरूले बसभाडा दिने आश्वासन दिए। तर, पूरा गरेनन्। आफूले चुनाव जिते बस त्यसपछि कर्के नजर पनि लगाएनन्। त्यतिमा मात्रै पनि भारत फर्केनेहरूको चित्त दुखाइ होइन। खास चित्त दुखाइ त पहिलोपटक दिएका आश्वासन अहिलेसम्म पनि पूरा नहुनु हो।
फ्नै देशमा रोजगारी र व्यवसाय गर्ने वातावरण बनाइदिने आश्वासन जो बाँडिएको थियो। यसपालि पनि फेरि आश्वासन दोहोरियो। त्यति आश्वासन दिएर जितेकाहरूले माखो मारेनन्। फेरि उस्तै आश्वासन बाँडेकाहरूले नै चुनाव जिते। विवशताले भारत जानुपरेकाहरूको विदारक भनाइ यत्ति थियो—भारतीयहरू नेपाली युवाहरूका कारण धनी भइरहेका छन्, हाम्रो देशका नेताहरूका कारण हामी विदेश जान बाध्य छौं, युवाहरू नै नभएको देशको विकास कसरी हुन्छ। त्यसैले अब नेताहरूको चेतना खुलोस्।’ हो, त्यति कुरामा ठूलो चित्त दुखाइ छ उनीहरूको। यो दर्द केवल उनीहरूको होइन। देशको हो। साँच्चीकै देश धनी हुन त देशमै रोजगारी र व्यवसायको वातावरण हुनुपर्छ। तब न समृद्धि आउँछ। बेरोजगारी ठूलो समस्या छ मुलुकमा। त्यसमाथि पश्चिम पहाडका धेरै नेपालीहरू रोजगारीका लागि भारतकै भर पर्न बाध्य छन्। पूर्व–पश्चिम राजमार्गले राजधानी काठमाडौंसम्म जाने बाटो बनाएको छ। तर, त्यो राजधानीले त कहिल्यै हेरेन सुदूरपश्चिमलाई। कहिल्यै बजेट र विकासले जोडेन। बलियो भनिएका र गाउँघरका सिंहदरबार भनिएका स्थानीय तहले पनि आँगनकै दुःख पनि देखेनन्। त्यो झन् ठूलो बिडम्बना भएको छ।
यस्तो देखियो कि उम्मेदवार र नेता वा दलका लागि जनता भनेको एकथान मतमात्रै हो। तर, होइन जनता त उनीहरूलाई सत्तामा पुर्याउने सबैभन्दा प्रमुख शक्ति हो। देशमा परिवर्तन ल्याउने मुख्य शक्ति हो। तिनै जनताका नाममा त आज कैयौं उम्मेदवारले जितेका छन् र शासनको मौका पाएका छन्। देश भनेको वा पालिका भनेको केवल भूगोलमात्रै होइन। त्यहाँका जनता हुन्। तिनै जनताको पहिलो आवश्यकता रोजगारी छ र त्यसलाई पूरा गर्न सिन्को पनि भाँचिन्न भने स्थानीय सरकार हुनुको के सार ? वा प्रदेश र संघीय सरकार हुनुको के सार ? संविधानले नै रोजगारीलाई मौलिक हकमा राखेको छ। तर, सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका नेपाली रोजगारीकै लागि बिदेसिन बाध्य छन्। तिनैले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ। भारत जाने नेपाली त झन् हाड घोटीघोटी काम गर्न बाध्य छन्। पहरेदारी र सफाइको काममा मात्रै सीमित हुनु तिनीमध्ये धेरैको बाध्यता छ। नेपालले आखिर तिनलाई रोजगारीमात्रै होइन सीप पनि दिन सकेको छैन। त्यसैले दक्षता अभावमा खुम्चिनुको उपाय भएको छैन। जनता भनेको भोट हाल्ने र जिताइदिने माध्यममात्रै हो भनी ठान्ने ठालु प्रवृत्ति नै यो समस्याको प्रमुख कारण हो। तर, जनता केवल एक थान भोट होइन। जनतामा केन्द्रित नभएको लोकतन्त्रको अर्थ हुँदैन। जनताको घाउमा मलम नलगाउने शासन जनताको शासन हुन सक्दैन।