कुन दलका कति आए जनप्रतिनिधि ?

कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं : संघीयता कार्यान्वयनसँगै दोस्रो स्थानीय निर्वाचन सकियो। विवाद भएको बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ। उदयपुरको त्रियुगा नगरपालिकामा गणना जारी छ। अन्य तहले भने जनप्रतिनिधि पाइसकेका छन्। पहिलो निर्वाचन भन्दा यसपटक दलहरूका अनुमान मतपरिणाममा फरक आयो। कतै स्वतन्त्रले बाजी मारे, कतै दल नै शून्यको अवस्थामा पुगे। ठूला भनिएका दलहरूको पनि तहगत नतिजा फरक–फरक आएको छ। 

यसपटकको निर्वाचनमा कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भए। यस्तै, नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट ५ हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी ४ हजार ४८ जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ। २०७४ सालमा ३ चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट ५ हजार ४४५ जनप्रतिनिधि निर्वाचित भएका थिए। 
स्थानीय निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, २ हजार ६६१ वडाध्यक्ष, २ हजार ६०० महिला सदस्य, २ हजार ५४७ दलित महिला र वडा सदस्य ५ हजार ३०१ निर्वाचित भएका छन्। एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, २ हजार १२७ वडाध्यक्ष, २ हजार ३४० महिला सदस्य, २ हजार २८५ दलित महिला सदस्य र ४ हजार ६७६ वडा सदस्य 

निर्वाचित भए। संघीयता कार्यान्वयनसँगै भएको पहिलो स्थानीय तह निर्वाचनमा एमाले धेरै स्थानीय तह जितेर पहिलो बनेको थियो। तर, यसपटक भने खुम्चिएर दोस्रो स्थानमा पुगेको छ। ७ सय ५३ स्थानीय तहमध्ये कांग्रेसले ३ सय २७ स्थानीय तहको प्रमुख जितेर पहिलो भयो। एमाले २ सय ५ स्थानीय तहको प्रमुखमा सीमित भयो। गठबन्धनको फाइदा कांग्रेसले लियो। 

नेकपा माओवादी केन्द्र भने पहिलेकै स्थानमा यथावत् छ। तर, केही पद भने थप्न सफल भयो। यसअघि १ सय ६ पालिका प्रमुख जितेको माओवादी केन्द्रले यस पटक १ सय २१ स्थानमा प्रमुख जित्यो। कांग्रेस र माओवादी केन्द्रले यस पटकको स्थानीय तहमा फाइदा दिए पनि एमाले जनमत नघटेकोमा ढुक्क देखिन्छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा नै एमाले यस पटक पनि मजबुत बनेर निस्किएको बताए। भने, ‘जनमतले एमालेलाई मजबुत बनाएको छ। यो नै एमालेको जित हो।’

कुन प्रदेशमा को अघि ? 

प्रदेश १ मा नेपाली कांग्रेस अघि देखिएको छ। यो प्रदेशमा ६८ पालिकाको नेतृत्व गर्ने पहिलो दल कांग्रेस बन्यो। यसपटक पनि ५९ पालिकामा कांग्रेसले नेतृत्व गर्ने अवसर पायो। 
यसअघि ४७ ठाउँमा नेतृत्व गरी प्रदेशको दोस्रो दल बनेको एमाले अहिले १८ ठाउँमा सीमित भयो। यस प्रदेशबाट एमालेले धेरै हार बेहोर्नु परेको छ। १२ पालिकामा नेतृत्व गर्ने गरी तेस्रो दल बनेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले यसपटक ९ पालिका जितेर तेस्रो दल बनेको छ। 

मधेस प्रदेशमा यसअघि ६९ पालिका जितेको एमाले अहिले ३० पालिकामा सीमित छ। यसअघि नेपाली कांग्रेसभन्दा २९ पालिका बढी स्थान जित्न सफल भएको एमाले अहिले केवल २९ पालिकामा सीमित रह्यो। यसअघि ४० पालिकामा नेतृत्व गरेको नेपाली कांग्रेस यस पटक ४६ पालिका नेतृत्व गर्ने भएको छ। गत चुनावभन्दा ५ ठाउँमा नेतृत्व थपिएको छ।

अघिल्लो पटक २१ पालिका जितेर पाँचौं स्थान प्राप्त गरेको माओवादीले अहिले भने ९ पालिकामा खुम्चिएसँगै यसपटक पनि पाँचौं स्थानमा छ । २५ पालिका जितेर जनता समाजवादी पार्टीले तेस्रो स्थानमा छ। १४ पालिका जितेको लोकतान्त्रिक समाजवादी पार्टीले चौथो स्थान प्राप्त गरेको छ। 

बागमती प्रदेशमा यसअघि ६४ पालिका जितेर पहिलो पार्टी बनेको एमाले यसपटक २६ पालिकामा सीमित रह्यो। यो एमालेको तेस्रो स्थान हो। नेकपा माओवादीले २७ पालिका जितेर दोस्रो स्थान पाउन सफल भएको छ। यसअघि ३५ पालिका मात्र जितेको नेपाली कांग्रेसले यसपटक ५८ पालिका जितेर पहिलो पार्टी बनेको छ। 

गण्डकी प्रदेशमा पनि नेकपा एमाले यस पटक दोस्रो दल बन्यो। यसअघि पनि नेपाली कांग्रेस ४४ पालिका जितेर पहिलो स्थान लिएको गण्डकीमा यसपटक ३६ पालिका जितेर पहिलो नै बन्न सफल भएको छ। यसअघि ३४ पालिका जितेको एमाले यसपटक ३५ सिट जितेर पनि दोस्रो मै सीमित रहेको छ। यसअघि पाँच पालिका सीमित माओवादी यसपटक ११ पालिका जित्न सफल भई तेस्रोमा सीमित छ। 

लुम्बिनी प्रदेश यसअघि ४३ पालिका जितेर प्रथम बन्न सफल एमालेको स्थान अहिले कांग्रेसले लिएको छ। यसअघि ३३ पालिका जितेको नेपाली कांग्रेसले यसपटक ४७ पालिका जितेको छ भने एमालेले २७ पालिका मात्र जितेर दोस्रो बन्यो। यसअघि १९ पालिका जितेको माओवादी यसपटक २५ पालिका मात्र जित्न सफल भएको हो। 

सोही स्थानबाट नेकपा एमालेकी केन्द्रीय सदस्य दीपा शर्माले जिल्लामा यसपटक एउटा पालिका पनि जिताउन नसकेको स्वीर्काछिन्। गठबन्धनकै कारण एमालेले एक सिट पनि ल्याउन नसकेको उनको भनाइ छ। 
कर्णाली प्रदेशको पनि ७९ वटै पालिकाको मत परिणाम सार्वजनिक भएसँगै कर्णालीमा नेपाली कांग्रेसले ३२ पालिका जितेर पहिलो, दोस्रोमा नेकपा (माओवादी केन्द्र) जसले २३ पालिका जितेको छ भने नेकपा (एमाले) ले १५ पालिकामा तेस्रो हुनु परेको छ। २०७४ को निर्वाचनमा २७ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल कांग्रेस ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रूपमा स्थापित भएको छ। 

माओवादीले दोस्रो स्थान लिएको हो।  सुदूरपश्चिम प्रदेशमा यसअघि ३९ सिट ल्याएर पहिलो दल बनेको नेकपा एमाले यसपटक २५ पालिका जितेर दोस्रोमा झरेको छ। अघिल्लो चुनावमा ३८ पालिका जितेर दोस्रो दल बनेको कांग्रेस यस पटक ४० पालिका जितेर पहिलो बनेको छ। यसअघि १० पालिका जितेको माओवादीले यसपटक बढाएर १४ पालिका पुर्‍याएर तेस्रो स्थानमा छ। 

नेपाली कांग्रेसका प्रवक्ता पुष्पा भुसालले पहिलो पार्टी बन्न सफल भए पनि समग्रमा पार्टीले अपेक्षा गरेअनुसारको मत आउन नसकेको बताइन्। नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले कम्युनिस्टको संस्कारसँग नेपाली कांग्रेसका भाव नमिल्ने हुँदा मत ट्रान्सफर हुन नसकेको बताए। 

नेकपा एमाले भने स्थानीय तहको नतिजा नराम्रो भन्न नमिल्ने बताएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले भने जस्तो परिणाम आए पनि उक्त मत परिणामलाई गलत भन्न नमिल्ने धारणा राखेका छन्। उनले बाह्य र आन्तरिक परिस्थितिमा आएको यो नतिजा स्वीकार गर्न लायक भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.