मन्त्री कार्कीको वडामा कांग्रेस ‘क्लिनस्वीप’
उदयपुर : प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री एंवम नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीको वडामा नेपाली कांग्रेस क्लिनस्वीप भएको छ।
मन्त्री कार्की मतदाता रहेको त्रियुगा नगरपालिका-७ मा नेकपा एमालेका उम्मेदवारले कांग्रेसलाई क्लिनस्वीप बनाएको हो। एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अमरबहादुर दनुवार कांग्रेसका गम्भिरबहादुर पांगलटारेलाई २३९ मतको भारी मतान्तरले विजयी भएका हुन्। दनुवारले १ हजार १०७ र पांगलटारेले ८६८ मत प्राप्त गरे। यसअघि यो वडामा कांग्रेसका भिमबहादुर पुलामी मगर भारी मतले विजयी भएका थिए।
त्यसो त एमालेले वडाको सेट मात्र नभई मेयर र उपमेयरमासमेत राम्रो मत पाएको छ। उक्त वडाबाट एमालेका मेयर भागवत राउतले १ हजार १७९ मत प्राप्त गरी कांग्रेसका उम्मेदवारलाई १३७ मतान्तरले पछि पारे। त्यसैगरी उपमेयरमा एमालेका उम्मेदवार महेश्वरी राईले १ हजार २७३ मत प्राप्त गरी कांग्रेसका उम्मेदवारलाई ३६६ मतान्तरले पछि पारे।
कांग्रेसको पकड क्षेत्र मानिने वडा नं ७ मा एमालेले अघिल्लो पटकको पराजय र जित पछिको विकास निर्माणमा भएका ढिलासुस्तिलाई राम्रोसँग अध्ययन गरेर उमेदवारी तय गरेको एमाले अध्यक्ष परमेश्वर घिमिरेले बताए। उनले भने, ‘त्यसैपनि काँग्रेसको पकड क्षेत्र त्यसमा पनि काँगेसका वहालवाला पार्टी सभापति र मन्त्रीको वडा भएकाले हामीले चुनावी रणनीतिलाई फरक ढंगले अगाडि बढायौँ अन्ततः उत्कृष्ट मत ल्याएर विजयी भयौ।’
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दनुवार २०७९ को निर्वाचन आउनु केही महिना अघि मात्र एमालेमा प्रवेश गरेका हुन्।