समिट एअरसंगै १ मिनेटको फेरोमा उडेको थियो ताराको जहाज
जोमसोम : पोखराबाट जोमसोमका लागि समिट एअरको जहाजसंगै एक मिनेटको फेरोमा उडेको तारा एअरको ९ एनएईटी टुईनेटर जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएको छ।
यी दुवै जहाज मध्ये पहिलो उडेको जहाज समिट एअरको जहाज बिहान १०:१४ बजे र तारा एअरको जहाज १०:१५ बजे अवतरण हुनपर्ने थियो।
जोमसोम नागरिक उड्यन कार्यालयले पोखराबाट जोमसोम आउँदै गरेको जहाजसंग सम्पर्क गरिरहेको थियो। तर १ मिनेट अघि उडेको जहाज जोमसोम विमानस्थलमा अवतरण गर्न सफल भएपनि पोखराबाट १ मिनेटपछि उडेको जहाज भने जोमसोम नागरिक उड्यन कार्यालयले सम्पर्क गर्दा अवतरण हुन सकेन। जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले पोखराबाट उडेको जहाज मुस्ताङ क्रस गरेको तारा एअरको जहाजसंग पहिलो सम्पर्क भएपनि दोश्रो पटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको उल्लेख गरे।
एक मिनेटको फेरोमा पोखराबाट उडेको तारा एअरलाईन्सको जहाजको चालक दलका सदस्यले १ मिनेटको फेरोमा उडेको समिट एअरको जहाजसंग म्याग्दी खण्डको मौसमी अपडेट लिईरहेको र उसले जोमसोम नागरिक उड्यन कार्यालयसंग पनि मौसमको अवस्थाका बारेमा जानकारी लिईरहेको नागरिक उड्यन कार्यालयका प्रमुख शर्माको भनाई छ।
शर्माका अनुसार १ मिनेट अघि उडेको समिटको जहाजले म्याग्दी खण्डमा आशिंक हुस्सु र कुहिरो लागेको तर १२ हजार फिट माथिको मौसम सफा भएको जानकारी गराएको थियो। मौसमको अवस्था बारे पूर्ण जानकारी लिई तयारीका साथ उडेको तारा एअरको जहाज भने मुस्ताङको थासाङक्षेत्रबाटै बेपत्ता भयो। जहाजमा १३ नेपाली ४ भारतीय र २ तेश्रो मुलुकका पर्यटक सवार थिए।
सैनिक प्रवत्ता र नेपाल टेलिकमको मोवाईल ट्यापिङमा बेपत्ता तारा एअरको जहाज थासाङको मानापाथी हिमालको आसपास करिव १८ हजार फिटको उचाईमा दुर्घटना भएको आशंका गरिएको छ।
जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख शर्माले प्राविधिक रुपले दुबै जहाज हिमाली र दुर्गमक्षेत्रमा उड्ने जहाज भएको र प्राविधिक रुपले दुबै जहाजको प्राविधिक क्षमता समान भएको दावी गरे।
उनले १ मिनेटको फेरो भनेको लामो समय नभएको र अकल्पनीय रुपमा जहाज सम्पर्क विहिन भएको उल्लेख गरे। बिहान १०:१० मिनेट देखि बेपत्ता जहाजको पहिलोदिनको खोजी कार्य मौसम प्रतिकुलताका कारण असफल रह्यो।
सोमबार ३ वटा माउन्टेन हेली र स्थलमार्गबाट जहाज खोज तलास गरिने बताईएको छ।