कृष्मी अब फर्किने छैनन्
स्याङ्जा : चापाकोट नगरपालिका-४ मल्याङकोट कोटगाउँकै भान्जी थिईन् कृष्मी थापा। सबैलाई सहयोग र भलाई गर्ने उनको बानी थियो। गएको वर्ष आफ्ना गाउँका कोभिड संक्रमितलाई चामल, दाल, नून, तेल सहित मार्फाका स्याउ खुवाएकी उनी अब कहिल्यै नफर्कने भएकी छन्।
करिब २७ वर्षिया उनीसहित २२ यात्रु र चालक दलका सदस्यसहित मुस्ताङ्को मानापाथी हिमाल छेउ अस्ताईन्। अब, कहिल्यै नब्यूझने गरी। आमा र उनका मावली परिवारको अवस्था बिक्षिप्त छ।
दलित समुदायका उनका आमा (बिष्णु बिक) र जनजाती (प्रेमबहादुर थापा) बीच प्रेमसम्बन्धपछि गर्भावस्थामै बाबुले छाडे। उनी परदेशिए। त्यसपछि उनका आमा माइतीको शरणमा रहिन्। कृष्मीको जन्म, लालन पालनदेखि पढाईसम्म मामाघरमै भएको हो। उनका हजुरबुवा भारतीय सेनाबाट अवकाश थिए। त्यसपछि उनलाई पढाउने र हुर्काउने जिम्मा हजुरआमाबाटै भएको थियो। मामाहरुकै संरक्षणमा।
कृष्मीले गाउँकै विद्यालय खडककाली माविबाट एसइई पास गरिन। त्यसपछि वालिङ बहुमुखी क्याम्पसबाट प्लस टु सकिन र एयर होस्टेज तयारी गरिन्। सन् २०१५ देखि उनी एयरहोस्टेज हुन्। यती एयरलाइन्समा केही वर्ष काम गरेपछि पछि तारा एयरलाइन्सतिर आइन्।
सुखदु:ख अनुभव गरेकी उनी सबैका प्रिय थिईन। सबैलाई सहयोग गर्नुपर्छ भन्ने धारणा थियो। आफ्नो पेशाप्रति निकै इमान्दार रहेकी उनले पछिल्ला समय मामाका छोराछोरीलाई समेत पढाउदै आएकी थिईन।
‘म सानो छदाँ मामाले पढाउनुभयो, अब म कमाउने भएकी छु मामाका छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिनेछु भन्दै अध्ययनलगायतमा सहयोग गर्दे आएको’ उनका गाउँले मामा विश्वास पुरीले बताए।
उनका आमा बिष्णु विक वडा नं. ४ का निर्वाचित वडा सदस्य हुन। नेपाली कांग्रेसतर्फबाट चुनाव जितेकी हुन्। आइतबार बिहानदेखि अज्ञात रहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एअरले आफन्तलाई सम्पर्कमा बोलाएपछि चापाकोटबासी अहिले काठमाण्डौतर्फ लागेका छन्।