८५ प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थबाट
उदयपुर : नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ। विश्व धुम्रपान दिवसको अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको सुर्तीजन्य पदार्थ र वातावरण बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै संस्थाका पुर्वकेन्द्रिय सदस्य निगमकुमार कोईरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तीजन्य पदार्थबाट क्यान्सरको विरामी हुने गरेको उनले बताए।
उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तीजन्य पदार्थबाट मृत्यु हुने गरेको बताए। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको बताए।
उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्ने बताए। जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए। सुर्तीजन्य पदार्थले प्रत्यक्षरुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यले सार्वजानिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए। उनले सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए।
संस्थाका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थको धुम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन्। उनले प्रत्येक घरघरमा गएर धुम्रपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए।