बाबुले नै बनाए यस्तो बिचल्ली
![बाबुले नै बनाए यस्तो बिचल्ली](https://annapurnapost.prixacdn.net/media/albums/gita-majhi-chhori_20220601074330_qz0yMDqUCS.jpg)
चितवन : खैरहनी–१० कठारस्थित मुसहर टोलको एक घर पाँच दिनदेखि सुनसान थियो। अगेनोछेउ असरल्ल रित्ता भाँडाकुँडा थिए। मंगलबार ढोकामा हरियो बाँस थियो। दिदीबहिनी निशा र सुस्मिता माझीका आँखा बिहानदेखि बाटोतिरै थिए। उनीहरू आमाको शव पर्खिरहेका थिए। घरी भक्कानिन्थे, घरी टोलाउँथे।
‘बिहानैदेखि बाटो हेरेर बसेका छौं। आमालाई पर्खिरहेको छु’, निशा भक्कानिइन्, ‘तर आमा फर्केर नआउने भयो। खान–लाउन पुग्दैन। हाम्रो त बिचल्ली भयो। आमा नै नभएपछि अब हामी कहाँ जाने ?’
घर अगाडि बेलुका ७ बजे आमाको शव देखेपछि उनीहरू झन् भक्कानिए। सबैको रुवाबासी चल्यो। छिमेकी कसैको पनि आँखा थामिएको थिएन। पतिको हिंसाका कारण सख्त घाइते भएकी ३८ वर्षीया गीता माझीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएपछि गावैं शोकमा परेको हो। ‘आमालाई यस्तो भयो। अब हामी कहाँ जाने ?’, सुस्मिताले भनिन्, ‘मलाई पढेर जागिर खान मन छ।’
श्रीमान् रामचन्द्र माझीले गत बिहीबार मलद्वारबाट लौरो घुसाउँदा गीताको मलद्वार र यौनांगबीचको भाग च्यातिएको जनाइएको छ। सोमबार उनको शल्यक्रिया गरिएको थियो। त्यसपछि आफैं शौचालय गएकी गीताको एक्कासि धड्कन बन्द भएर मृत्यु भएको अस्पतालका सर्जन डा. दीपेन्द्र न्यौपानेले बताए।
‘योनी र दिसाघरमा ठूलो चोट लागेको थियो। यसलाई सेरेनियम टियर भनिन्छ। यो सबैभन्दा खतरनाक थियो। तीन दिन औषधि चलाएर शल्यक्रिया गरेका हौं’, डा. न्यौपानेले भने, ‘रगत नलीमा हावा भएर वा अचानक हृदयघातका कारण पनि उनको मृत्यु भएको हुन सक्छ।’
कति पटक चोटपटक लाग्दा हामीले नै औषधि उपचारका लागी सहयोग गरेका थियौं। यसपटक त ज्यानै लिएको छ। उनलाई हदैसम्मको कारबाही हुनपर्छ।
– मीरा चौधरी, वडा सदस्य
आरोपित रामचन्द्र प्रहरी हिरासतमा छन्। उनीविरुद्ध जेठी छोरी पुष्पाले मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनमा जबर्जस्ती करणी र कर्तव्य ज्यानअन्तर्गत उजुरी दिएकी हुन्। रामचन्द्र बिहीबार राति नै पक्राउ परेका थिए। कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए। ‘कति पटक चोटपटक लाग्दा हामीले नै औषधि उपचारका लागि सहयोग गरेका थियौं।
यसपटक त ज्यानै लिएको छ। उनलाई हदैसम्मको कारबाही हुनुपर्छ’ वडा सदस्य मीरा चौधरीले भनिन्, ‘यी नानीहरूलाई संरक्षणका लागि सबै जना मिलेर पहल गर्नुपर्ने भएको छ ।’
गीताले माछा मारेर परिवार पाल्दै आएकी थिइन्। दैनिक ज्यालादारीकै भरमा उनीहरूको दैनिकी चल्दै आएको थियो। आमा र दुई छोरीले काम गरेको पैसाले घरको छाक टर्दै आएको थियो। गीताको निधनपछि दुई छोरीको बिचल्ली भएको छ। निशा १६ वर्षकी भइन्। उनकी बहिनी सुस्मिता १४ वर्षकी। दुवै जनाले दुई कक्षासम्म मात्रै पढेका छन्। निशालाई पढाइ छुटाएर काठमाडौंमा काम गर्न पठाएका थिए। उनले होटलमा भाँडा माझेर घरमा पैसा पठाउँथिन्। दुई वर्षदेखि घरै बसेर मेलापात गरिरहेकी थिइन्।
खैरहनी नगरपालिकाले बनाएको एकीकृत बस्तीमा २८ परिवार बस्छन्। त्यसै मध्येको एउटा गीता माझीको परिवार हो। एउटा परिवार जस्ताले छाएको तीन कोठामा बस्छन्। निशा र सुस्मिताको संरक्षण र पालनपोषणमा कठिनाइ देखिएको छ। पढ्ने चाहना पनि आमाको मृत्युसँगै तुहिएको पीडा उनीहरूले पोखे। तत्कालका लागि नगरपालिकाले केही व्यवस्थापन गरेको छ। त्यसपछि के हुन्छ भन्ने टुंगो छैन। किरिया खर्चसमेत नहुँदा केहीले सहयोग गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)