कर्तव्यनिष्ठ नागरिक
मुस्ताङमा तारा एयरको जहाज दुर्घटनास्थल पत्ता लगाउन स्वस्फूर्त लागिपरेर स्थानीय र पर्वतारोहण पथ प्रदर्शकले कर्तव्यनिष्ठ नागरिकको उदाहरण पेस गरेका छन्। २२ जना सवार जहाज जेठ १५ गते बिहान हराउँदा दिनभर खोज्दा पनि भेटिएको थिएन। निजी क्षेत्रका र नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटनास्थल पुग्नै सकेनन्। मानापाथी हिमालको फेदी अनकन्टार थियो।
चौंरीगोठतिर भएका र यार्सागुम्बा टिप्न गएका स्थानीयले आकाशमा फन्का मार्दै कतै ठोक्किएको जहाज पक्कै दुर्घटित भयो भन्ने लख काटे। अनि अन्दाजकै भरमा हिमालको फेदीतिर जहाज खोज्न गए। विशाल घर्ती, इन्द्रसिंह शेरचनलाई त्यसैत्यसै हुटहुटी भयो र पैदलै हिमाल फेदीतिर लम्किए। खासमा उनीहरूमा मानवीय भावना जागृत भयो। कतै कसैलाई बचाइहाल्न पो सकिन्छ कि दुर्घटित जहाजमा कोही बाँचेका भए सुरक्षित ल्याउन सकिन्छ कि भन्ने भावनाले उनीहरूका पाइला अघि सरेका थिए। यस्तो भावना त्यसै जागृत हुँदैन। पवित्र र सेवा गर्ने उत्कट अभिलाषाले भरिएको मनमुटु चाहिन्छ। दुर्घटित जहाजमा तिनीहरूका आफन्त भन्नु नै मानवीय नाता थियो, जुन उनीहरूमा करुणा पैदा गर्न काफी भयो । यस्तै भावना नै वास्तवमा मानवीय भावना हो। मानवीयता हो।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका पथप्रदर्शक टिम लिडर पासाङ टेन्डी शेर्पा, पेम्बा तेन्जिङ लामा, रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा, पासाङ टेन्डिङ शेर्पा, ओङ्छु शेर्पा, नरेन्द्र शाही, तारा एयरका सिनियर म्यानेजर राप्के शेर्पा र कर्मचारी पेम्बाछिरी शेर्पा थिए जो जहाज र यात्रुको खोजीमा पैदलै खटिए। पर्वतारोहणको पथप्रदर्शन आफैंमा जोखिमपूर्ण पेसा हो। जहाज खोज्ने जोखिम भने संघको अगुवाइमा उनीहरूले उठाए। पेसाभन्दा माथि उठेर पेसागत दक्षतालाई मानवीय धर्म निर्वाहमा सदुपयोग गरे। तारा एयरकै कर्मचारी पनि जागिरभन्दा माथि उठे। साथमा छँदै थिए नेपाली सेना र नेपाल प्रहरी।
विपत्तिका बेला नेपाली सेना र नेपाल प्रहरीसहितका सुरक्षा निकाय अग्रपंक्तिमा हुन्छन् नै। त्यसमा नागरिक संलग्नता भइदिँदा सुरक्षाकर्मीलाई पनि हौसला हुन्छ। त्यसो त कुनै पनि विपत्तिको सामना गर्ने, त्यो बेला नागरिक समुदायले पनि हातेमालो गर्नु नै सुन्दर समाजको विशिष्टता हो। तारा एयर दुर्घटनामा नागरिक र सुरक्षाकर्मीहरूको हातेमालोले नेपाली समाज दुःखमा एकसाथ रहने विशिष्ट समाज हो भन्ने फेरि पनि पुष्टि भएको छ। आखिर राज्यका आआफ्ना काम, कर्तव्य हुन्छन् नै तर राज्य एक्लैले कुनै पनि विपत्ति सामाना गर्न सक्दैन। आफ्ना लक्ष्य र उद्देश्य पूरा गर्न सक्दैन। त्यसमा नागरिकले अपनत्व ग्रहण गरिदिनुपर्छ। आआफ्नो ठाउँबाट योगदान गर्नुपर्छ। मुस्ताङमा तारा एयर दुर्घटनाका बेला त्यस्तै योगदान गरेर ती नागरिकले आफूलाई पूरापूर कर्तव्यनिष्ठ प्रमाणित गरेका छन्। उनीहरूले यहाँ आफूले के पाउँछु भन्दा पनि के कसरी योगदान गर्न सक्छु भनेर काम गरे।
तारा एयर दुर्घटनामा कसैको ज्यान जोगिएन। धनजन दुवैको क्षति भयो। मुलुक र समाजलाई ठूलो नोक्सान पुग्यो। यसमा सारा नेपालीले जुन संवेदना देखाए, त्यो राष्ट्रिय भावना र एकताको सूत्र पनि हो। नेपाली दुःखमा साथै हुने सन्देश पनि यसले दिएको छ। यस्तै भावना र सन्देशले मुलुकको राष्ट्रियता थप मजबुद हुने हो। राज्य पनि बलियो बन्ने हो। विभक्त नागरिक भएको मुलुकको राज्य आफैंमा बलियो हुन सक्दैन। हो, कर्तव्यनिष्ठ नागरिक राज्यका ठूला सम्पत्ति हुन्। तिनीहरू सम्मानका हकदार पनि छन्। हाला कि उनीहरूले कुनै मान सम्मानको आसमा
आफ्ना जिउ हत्केलामा राखेर उद्धारमा आफूलाई होमेका थिएनन्। हाम्रो सरकार बर्सेनि मान, पदवी र अलंकार अर्पण गर्छ। यस्तै कर्तव्यनिष्ठ नागरिक त्यस्तो सम्मानका लायक छन्। यद्यपि उनीहरूको सत्कर्मलाई धेरै नेपालीहरूले नमन गर्दै त्यसभन्दा ठूलो सम्मान प्रकट गरिसकेका छन्।