झस्किरहन्छन् कृष्मीका परिवार

झस्किरहन्छन् कृष्मीका परिवार

स्याङ्जा : यही शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा (उमासरा परियार) सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी  थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुतिन्।

सधैंजसो साँझमा फोन गर्ने उनी कहिल्यै फोन नगर्ने गरी सुतिन्। अर्थात् आइतबार मुस्ताङमा भएको तारा एअरको जहाजमा उनको ज्यान गयो। आमा, हजुरआमालगायत मावली परिवार अझैं कृष्मी जिउँदै छिन् कि झस्किरहन्छन्। भक्कानिन्छन्। 

‘हौसलासहित म छु नि, अब पीर नगर्नुस्, दुःखका दिन सकिए भन्दै सम्झाउने उनको आवाज बन्द भयोे। दैव लाग्यो’, आमा र हजुरआमा भक्कानिँदै भने, ‘हामीलाई पनि छोरीसँगै लैजाऊ।’ दिनभरको काम सकेर कोठामा फर्केपछि प्रायजसो उनले आमा र हजुरआमासँग कुराकानी गर्थिन्। परिवारसँगै गाउँको पनि जानकारी लिन्थिन् । बचपनदेखि विभिन्न आरोह–अवरोहमा हुर्केकी उनी सबै बालबालिकाले राम्रो शिक्षा पाएमा सक्षम बन्ने बताउँथिन्। 

मामाघरका हजुरआमा र मामाहरूको संरक्षकत्वमा लालनपालन र शिक्षादीक्षा पाएकी उनले आफू एअरहोस्टेज बनेपछि मामाका छोराछोरीलाई पढाउँदै आएकी थिइन्। काठमाडौं र पोखरामा राखेर उनले मामाका छोराछोरीलाई उच्च शिक्षा दिलाएकी थिइन्। उनको दुखद मृत्युसँगै ३ भाइबहीनीसमेत विछिप्त छन्। उनीहरूका हौसला, प्रेरणा र ढाढस दिने दिदी गुमेको छ। 

तीन मामाका एक्ली दिदी/बहीनी हुन्, कृष्मिका आमा विष्णु। भारतीय सेनामा रहँदै हजुरबुवाको मृत्यु भएपछि हजुरआमा पनि करिब ३५/४० वर्षमै विधवा बनेकी थिइन्। विष्णुको पनि अन्तरजातीय प्रेमपछि गर्भ रहेपछि कृष्मीको जन्म भएको थियो। प्रेमबहादुर थापासँग प्रेमपछि छोरी जन्मिए पनि परिवारले स्वीकार गर्न नसक्दा माइतीको शरणमै रहेकी हुन्, उनी। 

सामाजिक सेवामा उत्तिाकै समर्पित  थिइन् कृष्मी। उनलाई मावलीमा बस्ने हुँदा सबैले भान्जी भन्थे।

सरल र परिश्रमी स्वभावका उनी पढाइमा पनि अब्बल थिइन्। अनुशासन र लगनशील पनि। उनी पछिल्लो समय तिहारमा चापाकोट आएर बसेकी थिइन्। आफ्ना आमा र हजुरआमालाई डोल्पालगायत हिमाली क्षेत्रमा लगेर उनले घुमाएकी थिइन्। डोल्पाका स्याउ र स्याउबाट बनेको रक्सी गाउँलेलाई पनि चखाएकी थिइन्। कृष्मी गाउँले सबैका साझा भान्जी थिइन्। सबैले उनलाई माया र हौसला दिन्थे। र, उनले सबैलाई सम्मान गर्थिन्। ‘सामाजिक सेवाप्रति अत्यन्तै लगाब देखिन्थ्यो भान्जी कृष्मीमा,’ विश्वास पुरी भन्छन्। 

मल्याङकोट–४ कोटगाउँमा ठकुरी, मगर जातिको बाक्लो बस्ती छ। समाजसेवामा र राजनीतिमा अब्बल कृष्मीका हजुरआमाको स्वाभाव नातिनीमा झल्कन्थ्यो। राजनीतिमा समेत आउने उनको चाहना रहेको पुरी भन्छन्। हालै सम्पन्न निर्वाचनमा उनका आमा पनि सोही वडाको वडासदस्यमा निर्वाचित भइन्। 

कृष्मीले गाउँकै विद्यालय खड्ककाली माविबाट एसइई पास गरिन्। त्यसपछि वालिङ बहुमुखी क्याम्पसबाट प्लस टु सकिन् र एयर होस्टेज तयारी गरिन्। सन् २०१५ देखि उनी एयरहोस्टेजमा आबद्ध रहेकी हुन्। आफ्नै मेहनत, लगाव र परिश्रमले उनले एअर होस्टेज रोजिन्। सुन्दर मुहार, आकर्षक शरीर, मृदुभाषी भएका कारण उनी एअरहोस्टेज बन्न सफल भएकी हुन्। उनका लक्ष्य पूरा गराउन उनका मावलीको ठूलो हात  छ। 
करिब २७ वर्षीया कृष्मी र चालक दलसहित २२ यात्रुसहित मुस्ताङको मानापाथी हिमाल छेउ उनी चीर निद्रामा परिन्, कहिल्यै नबिउँझिने गरी। केवल सम्झनामा मात्र रहनेछिन् उनी। आमा र उनका मावली परिवारको अवस्था बिक्षिप्त छ। मंगलबार साँझसम्म उनीहरूको शवको अत्येष्टि हुन सकेको छैन। अस्पतालमा राखिएको शवको पोस्टमार्टम नभएका कारण अत्येष्टिमा ढिलाइ भएको आफन्तजनले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.