हवाई सेवामा होस् सञ्चार स्तरोन्नति

हवाई सेवामा होस् सञ्चार स्तरोन्नति

नेपालगन्ज–सिमकोट (हुम्ला) उडानमा ४५ प्रतिशत समय त पाइलट विमानस्थलको टावरसँग सम्पर्कविहीन हुन्छन्। मुगुमा ३५ प्रतिशत उडान समय सम्पर्कविच्छेद हुन्छ। कालीकोटमा प्रहरीलाई सोधेर विमान उडान हुन्छ। नेपालका हिमाली र पहाडी क्षेत्रका अधिकांश उडानमा लाइन अफ साइट कम्युनिकेसन ग्याप (पाइलट र एयर ट्राफिक कन्ट्रोलबीच सम्पर्कविहीन) हुन्छ। तर पनि वर्षौंदेखि विमान उडिरहेका छन्।

पाइलटले प्रविधिको प्रयोगभन्दा पनि विवेक र अनुभवको आधारमा विमान उडाउँछन्। जतिसुकै अनुभवी पाइलट भए पनि दुर्घटनाबाट अछुतो बन्दैनन्। सरकारले हरेक दुर्घटनापछि गठन गर्ने छानबिन समितिले मौसम र पाइलटमाथि दोष थुपार्छन्। राज्यको कमजोरीको रूपमा रहेको सञ्चार सुधारमा ध्यान दिँदैनन्। विमान दुर्घटना हुँदा यो सञ्चार विच्छेदलाई कहिल्यै कारण मानिँदैन। यो सञ्चार विहीनताको समस्या समाधान गर्न सरकारले कहिल्यै काम गरेको पनि देखिँदैन।

नयाँ विमान थप्ने कुरा हुन्छ। नयाँ विमानस्थलको माग गरिन्छ। सर्वेक्षण हुन्छ। सञ्चालनमा भएका विमान सेवाको सुधार नहुँदा विमान दुर्घटनाको कारक बनिरहेका सम्बन्धमा विमान सेवा प्रदायक कम्पनी, राज्यका नियामक निकायको ध्यान पुग्दैन। सडक यातायातको यात्रा लामो हुन्छ। जाम पर्छ। ठाउँठाउँमा चढाउने र ओराल्ने भएकाले समयमै गन्तव्यमा पुगिन्न। झन्झटिलो उस्तै हुन्छ। महँगो भए पनि छिटो छरितो र सुविधाका लागि अहिले हवाई यात्रा गर्ने बढिरहेका छन्। राज्यले पनि बन्द भएका विमानस्थल सुचारु गर्ने, सञ्चालनमा आएका विमानस्थलको स्तरोन्नति गर्ने काम गरिरहेको छ। नयाँ–नयाँ विमानस्थलका खाका कोर्ने काम पनि भइरहेको छ विमान उडान रुटमा सञ्चार सम्पर्क विच्छेदको समस्या समाधान गर्दैन। नेपालमा सञ्चार सेवा विस्तारको काम वायु सेवा कम्पनीका लागि मात्र नौलो होइन। सेवा नपुगेको वा गुणस्तरीय सेवा नहुँदा नेपाल टेलिकमले पनि एकै जिल्लामा धेरै ठाउँमा टावर निर्माण गरेको छ।

जुन ठाउँमा टेलिकमको सिग्नल टिप्दैन, त्यो ठाउँमा टावर थप्छ। गुणस्तरीय सेवा दिन्छ। दिइरहेको छ। एएम ब्यान्डको रेडियो नेपालको प्रसारण विस्तार गर्न पनि देशका धेरै जिल्लामा टावर, सव–स्टेसन, रिले स्टेसन र प्रसारण केन्द्र स्थापना गरिएकै छ। अहिले त रेडियोको सिग्नलका लागि भू–उपग्रहको प्रयोग भइरहेको छ। भू–सतही प्रणालीमा हुँदा नेपाल टेलिभिजनले पनि सेवा विस्तार गर्न पनि देशका धेरै ठाउँमा टावर स्थापना गरेकै छ।

अहिले त टेलिभिजन भू–उपग्रह प्रणालीमा प्रसारण भइरहेको छ। उसले भू–सतही प्रणाली पनि छोडेको छैन। राज्यका अरू निकायले सिग्नल राम्रो बनाउन टावर थप्दै जाँदा नागरिक उड्डयन प्राधिकरणले किन यो अभ्यास आत्मसात् गर्न सक्दैन। जुन–जुन जिल्लाको हवाई सेवामा सञ्चार सम्पर्क विच्छेद हुन्छ। त्यसको अध्ययन गरेर सो क्षेत्रमा रिपिटर टावर स्टेसन किन विस्तार गर्न सक्दैन। विमान सेवामा भीएचएफ र एचएफ (हाई फ्रिक्वेन्सी) रेडियो फ्रिक्वेन्सीबाट सञ्चार गरिन्छ। अब यी परम्परागत प्रविधिमा मात्र निर्भर हुन आवश्यक छैन।

नेपालकै निजी विमान कम्पनी भू–उपग्रह प्रणालीबाट सञ्चारको अभ्यास गरिरहेका छन्। ठूला विमानहरूमा पनि अभ्यासमै छन् भने उच्च जोखिममा रहेका नेपालका हिमाली र पहाडी क्षेत्रको उडानमा राज्यले यो प्रणाली अनिवार्य गर्नुपर्छ। मौसमका आधारमा विमान उडान हुन्छ। एउटा विमानस्थलबाट उडान भरेको जहाजले अर्को विमानस्थल जाँदा सञ्चार सम्पर्कका आधारमा मौसमबारे जानकारी लिन्छ। त्यसैले विमान उड्न जसरी मौसमको जानकारी आवश्यक हुन्छ। त्यसरीले विमान उडानमा नियमित सञ्चार सम्पर्क हुनु पनि अनिवार्य नै हो। दुर्घटना हुने कारणमा खराब मौसम भनिन्छ भने सञ्चारविहीनताको अवस्था स्वतः कारक हो। यसलाई बेवास्ता गर्नु भनेको सरकार हवाई यात्रीको सुरक्षामा गैरजिम्मेवार हुनु हो। त्यसैले विमान सेवामा नियमित सञ्चार गर्न भएका सञ्चार प्रविधिको स्तरोन्नति गर्ने र नयाँ–नयाँ प्रविधिलाई आत्मसात् गर्दै हवाई यात्रा सुरक्षित बनाउन ध्यान दिन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.