सिध्दु मुसेवालाको हत्यारा नेपालमा लुकेको आशंका, दिल्ली प्रहरीको विशेष टोली नेपालमा
काठमाडौं : भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्यारा नेपालमा रहेको आशंका गरिएको छ। मुसेवालाको हत्या गरेर अपराधिहरु नेपालमा लुकेर बसेको दिल्ली प्रहरीलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।
समाचारअनुसार मुसेवालाको हत्याराको खोजी गर्न दिल्ली प्रहरीको एउटा टोली शुक्रबार नेपाल आइपुगेको छ। इन्टेलिजेन्स विशेषज्ञसहितको टोली नेपाल आइपुगेको स्रोतलाई उद्धृत गरिएको छ।
पंजाब प्रहरीले मुसेवालाको हत्या लगत्तै दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो। हत्याराले प्रयोग गरेको बोलेरो गाडीमा दुबै जनाको संलग्नता रहेको पंजाब प्रहरीको दाबी छ।
गत मंगलबार दुई जना बन्दुकधारीले गायक एवं राजनीतिज्ञ मुसेवालको उनकै गाउँ नजिक हत्या गरेको थियो। हतियारधारीले ३० राउन्ड गोली प्रहार गरेको प्रहरीको दाबी छ। जसमा २५ वटा गोली लागेर मुसेवालाको शरीर छतविछत बनाइएको थियो। अधिकांश गोली छाती र पेटमा लागेको प्रहरीले जनाएको छ।