अक्सिजन प्लाण्ट सञ्चालमा आएसँगै विरामीलाई सहज
उदयपुर : उदयपुरको सदरमुकामस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएसँगै विरामीलाई उपचारमा सहज भएको छ।
संघीय सरकारको ७४ लाख बजेटमा अस्पताल परिषरमै अक्सिजन प्लाण्ट जडान भएसँगै अक्सिजको चरम संकट भोगिरहेका अस्पतालका विरामीको उपचारमा सहज भएको हो। विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस, दम, फोक्सोका विरामी अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनु परेपछि सरकारले प्लाण्ट सञ्चालन गर्न बजेट उपलब्ध गराएको हो।
प्लाण्ट सञ्चालनसँगै जिल्ला अस्पताल अक्सिजनका लागि आत्मनिर्भर बनेको सूचना अधिकारी बिर्षबहादुर खत्री बताउँछन्। उनले भने, ‘अक्सिजन अभावमा अब कोही विरामीले मृत्यु रोज्नु पर्ने छैन्। गत वर्षको कात्तिकमा पाँच (के) क्षमता भएको अक्सिजन प्लान्ट जडान गरिएको थियो। उक्त प्लान्टमा दैनिक २० ओटा सिलीन्डर भर्ने क्षमता रहेको छ।
जिल्ला अस्पतालमा प्रतिदिन १० ओटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको उनले बताए। पहिला काठमाडौं धरान र विराटनगरदेखि दैनिक १० ओटा सिलिन्डर ल्याउनुपर्थ्यो। अहिले यस्तो समस्या हटेको खत्रीले बताए।
‘दैनिक २० ओटाको क्षमता भए पनि अहिले आवश्यकताअनुसार १० देखि १२ ओटा अक्सिजन सिलिन्डर भर्ने गरेका छौ,' उनले भने, ‘अक्सिजन प्लान्ट जडान नहुँदा विराटनगर, धरानदेखि ल्याउनुपर्थ्यो, कहिले ढिला आइपुग्ने, कहिले नपाउने समस्याले श्वासप्रश्वास, मुटु, दमका रोगीले ज्यान गुमाउनुपर्ने अवस्था थियो।'
विरामीहरुको घरमा रहेको खाली सिलिन्डर फेरि पनि भरेर प्रयोग गर्न सक्ने र सानो सिलीन्डर भर्नका लागि २ सय, मिडियम साइजको भर्नको लागि ३ सय र ठूलो सिलिन्डर ५ सयमा भरेर विरामी सेवा गर्दै आइरहेको खत्रीले बताए।
विरामीले ल्याएको खाली सिलिन्डर राखेर भरीएको सिलिन्डर दिने व्यवस्थासमेत गरिएको उनले बताए।