केयूले आइआइटीएच, आइआइआइटिएचसँग संयुक्त डिग्री कार्यक्रम चलाउने
काठमाडौं : काठमाडौं विश्वविद्यालय(केयू)ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी–हैदराबाद(आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी–हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यस सम्बन्धमा केयू र आइआइटिएच, आइआइआइटिएचबीच समझदारी र सम्झौताहरु भएको केयूले जनाएको छ। काठमाडौं विश्वविद्यालय तथा नेपालको स्वास्थ्य सेवाको आवश्यकता परिपूर्ति गर्न आगामी शैक्षिक सत्रदेखि नै संयुक्त डिग्री कार्यक्रमहरु सुरु हुने समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए।
यसअन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरुमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदानप्रदान हुने बताइएको छ। इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चालन हुने बताइएको छ। यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले बताए।
स्वास्थ्य विज्ञानतर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरपुरस्थित पुरानाने मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज)को हेल्थकेयर टेक्नोलोजी इन्नोभेसन सेन्टर (एचटिआइसी)मा हुने बताइएको छ। एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँ नयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउनेछ भने इन्कुबेशन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्ने केयूले जनाएकोछ।
प्रतिक्रिया दिनुहोस !