कृषिमन्त्री यादवको उपस्थितिमा रक्सौलमा खाद्य प्रयोगशालाको उद्घाटन
काठमाडौं : कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारतको विहार राज्यअन्तर्गत रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन भएको छ।
भारतका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आइतबार प्रयोगशालाको उद्घाटन गरेका हुन्।
भारतीय खाद्य संरक्षा एवं मानक प्राधिकरणद्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गर्ने र भारत-नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने बताइएको छ। यसअघि नमुनाहरुको परीक्षण दिल्ली वा कोलकाता गरिन्थ्यो।
लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएका थिए। 'छिमेकी पहिलो' नीतिअनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !