सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल घट्यो, खुम्बु क्षेत्र सुनसान
सोलुखुम्बु : केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ। विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु सिजन सकिएसँगै सुनसान बनेको हो।
पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताइन्। उनले भनिन–‘सिजनमा पर्यटकको स्वागत सत्कारमा व्यस्त भइन्छ, त्यहि भएर अहिले आराम गर्ने, घुम्फिरमा जाने गरेका छौं।’
केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त बनेका छन्। सिजनमा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पुजापाठमा व्यस्त रहेको उनको भनाई छ।
सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेका छन्। यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन्। सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ।
खुम्बु क्षेत्रमा अंग्रेजी महिनाको मार्च दोस्रो साताबाट सुरु हुने पर्यटकीय सिजन मे अन्तिम साताबाट कम हुदै जाने स्थानीय बताउँछन्। सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक नगन्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए। पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केहि फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ।