जलवायु परिवर्तनको प्रभाव
संविधानले हरेक नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको ग्यारेन्टी गरेको छ। व्यवहारतः हामीमाझ ठूलै समस्या छ। वातावरण मान्छेअनुकूल छैन। विकासले विनाश निम्त्याएको छ। वन, वातावरण, जैविक विविधता, मानवीय अस्तित्व संकट, जलवायु परिवर्तन, वन्यजन्तुको संरक्षण अनेकौं कारण देखाई प्रस्तावित निजगढ विमानस्थल निर्माणको काम रोक्नसमेत सर्वोच्च अदालतले रोक लगाएको छ। हरेक वर्ष वातावरण संरक्षणमा जनचेतना बढाउने क्रममा संसारले जुन ५ मा वातावरण दिवस मनाउँदै गरेको छ। ५० वर्षदेखि विश्वको ध्यान यतै मोडिएको छ। यो समयमा मानव मात्रले पृथ्वीको दोहन १५ प्रतिशतले बढाएको छ। खाद्यान्न उत्पादन मात्रै ३ सय प्रतिशतले बढाउन खेतबारीमा हानिकारक विषादीको प्रयोग गरेको छ।
सन् १९९२ यता त सहरीकरणको वृद्धि दोब्बरले बढेको छ। १९७० यता वनका काठको प्रयोग ४५ प्रतिशतले बढेको छ। वन फडानीको क्रम उच्च छ। सन् १९८० देखि २० वर्षमै पृथ्वीको १ अर्ब हेक्टर उष्णप्रदेशीय वन नष्ट भइसकेको छ। तीन शताब्दी यता सिमसार क्षेत्रको भूभाग ८५ प्रतिशतले नष्ट भइसकेको छ। अहिले पृथ्वीको झन्डै ७५ प्रतिशत भाग मानवले आफ्नो अनुकूल हुने गरी प्रयोग गरिसकेको छ। यसको अर्थ हुन्छ, केवल मानव हित हेतु जीवजन्तु, किराहरू, वनस्पति, फलफूल, खाद्यान्नमा गम्भीर समस्या छ। सुडान, कंगो, अफगानिस्तान, इथियोपिया, श्रीलंकालगायत धेरै देशमा हाल खाद्यसंकट छ। जल, जंगल र जमिनको अधिक दोहनले मानिसको भावी दिन विश्वमै बढी कष्टकर हुने निश्चित छ।
पृथ्वीको गर्भगृहमा दुईतिहाइ पानी छ भने एकतिहाइ भूभागलाई मानवले कृषि र पशुपालनमा उपयोग गरेको छ। जीवजन्तुको बासस्थानलाई विस्थापन गरेको छ भने वनस्पतिको अत्यधिक दोहन छ। फलतः पृथ्वीको तापक्रम सन् १९३० को दशकदेखि नै सरदर १ डिग्रीले बढेको छ। यदि सरदर ४ डिग्रीले बढ्ने हो भने पृथ्वीका धेरै मानव हितका प्रजाति लोप नै हुनेछन्। सन् १९८० यता प्लास्टिकको उपयोग १० प्रतिशतले बढेको छ। कृषिमा रासायनिक हानिकारक मलकोे प्रयोगमा भारी वृद्धि छ। त्यसैले समुद्रमा समेत अब जीवजन्तु टिक्न सक्ने अवस्थामा छैनन्। सन् २०१७ कोे जलवायु परिवर्तनको सूचकांकमा विश्वमा नेपाल चौैथो नम्बरमा परेको छ। यहाँको वायु विश्वकै सबैभन्दा प्रदूषित मानिएको छ।
ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आममानव। अधिक कार्बनको उत्सर्जन यसको कारण बनेको छ। मानव सभ्यताको इतिहास ५५ करोड वर्ष लामो छ, ढुंगेयुगको मान्छे आज चन्द्रलोक पुगी धेरै स्पेस खोज्दैछ आकाशको। मानौं, उसलाई धर्ती साँघुरो भएको छ। सस्त्रास्त्रको होडबाजी पनि कम छैन। रासायनिक, जैविक हतियारमा प्रसन्न छ आजको मान्छे। सुरुदेखि नै जब–जब मानवले बस्ती बसाउँदै आयो, उसले आफूलाई नदी, जलाशय, खोलानालाकै छेउछाउ मन परायो। विश्वप्रसिद्ध सहर न्युयोर्क, लन्डन, संघाई, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य सहर नदी, खोला, सागर छेउछाउ नै छन्। काठमाडौं उपत्यका मात्र होइन, मुख्य सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सहर सबैजसो नदी खोला सिमसार क्षेत्रनजिकैै छन्। जहाँको प्रदूषित अवस्था हेर्दा केही बोल्नै नपर्ने अवस्था छ।
कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो। प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदीनालाले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ। विश्व खाद्य संगठन भन्छ, माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ। जल, जमिन, वन, ऊर्जालाई खलल पुर्याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन। प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ। मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ। संसारकै प्रसिद्ध मुलुकमा बढी चिसोका कारण मानिसको अवसान भएको छ। माइनस ७० डिग्रीको सेल्सियस अमेरिकामा र अष्टे«लियामा प्लस ४७ डिग्री सेल्सियसको खबर पुरानो भइसक्यो। अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिकै कारण हाम्रो निन्द्रा बिग्रेको छ। सहरमा पानी पर्दा बाटो हराउँछ, गाडी डुब्छन्। मानव विसर्जित भएको अबस्था छ। धानको उत्पादन लाखौं मेट्रिक टनले घटेको छ, खाद्यान्नमा विदेशीको मुख ताक्नु परेको छ। पानी प्रदूषित हुनु र पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्वन उत्सर्जन नै हो।
कार्वन अक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ। सबैभन्दा बढी कार्बन सोसेर लिने वन नै हो। वन, नदीनाला, सिमसार क्षेत्रको अतिक्रमणले मानव आफैं मृत्युको मुखमा परिरहेको छ। नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ०.०६ डिग्री सेल्सियसले बढेको छ। अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ। विश्व जनसंख्याको ०.४ प्रतिशत मात्र मानिस नेपालमा बस्छन्। विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ। तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ। विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमाली क्षेत्र सगरमाथाको हिमभाग ३३० फिट गलेको छ। पानीको वहावको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सम्भावना बढी छ। नेपालको वार्षिक वर्षा क्रममा व्यापक हेरफेर भइसकेको छ।
लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुने क्रम देखापरेको छ। अहिले रात र दिन दुबैमा चिसो कम छ। १०० मिलिमिटर वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरूको संख्या पनि बढ्दै छ। एकातिर हिमनदी पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै गएको छ। जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव परेको छ। सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्याएको हो। अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको हो। दिगो विकास एजेन्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले पनि सम्बोधनसम्म चाहिँ गरेको छ।