रसुवामा विद्युत् आपूर्ति बन्द

रसुवा : ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठुलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए ।
मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ ।
६६ केभी लाइनको मर्मत गर्नका लागि मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ ।
त्रिशूली फिडर नम्बर ४ बाट बिहान धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएकोमा ११ केभी प्रसारण लाइनको तार चुडिएपछि अहिले उक्त क्षेत्रमा पनि समस्या आएको हो ।
अहिले ११ केभी प्रसारण लाइनको मर्मत हुँदै गरेको र केही समयपछि धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा भने विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
