चित्त नबुझाउँदा...
एक समयको कुरा हो। एउटा गाउँमा सय जति घर बस्थे। अधिकांश गरिब नै थिए। त्यसमध्ये एउटा घरमा पति–पत्नी मात्र बस्दथे। उनीहरूसँग एक सुन्दर हाँस थियो। संयोग हो वा भाग्य, जसले प्रतिदिन सुनको अन्डा दिन्थ्यो। त्यसैले उनीहरू निकै धनी भइसकेका थिए। तर पनि पति भने धेरै सन्तुष्ट थिएनन्। उनी रातारात करोडपति बन्न चाहन्थे।
हाँसबाट सुनका अन्डाहरू हरेक दिन पाएर कहिले धनी हुने ? उनी यसरी बुझ्दथे। उनी त एकैपटक पाउन चाहन्थ्यो। अतः निकै सोच–विचार गरेर उनले एउटा योजना बनाए। उनले त्यो हाँसलाई मार्ने निर्णय गरे। त्यसपछि सबै अन्डाहरू एकै पटक प्राप्त गर्ने निश्चय उनको थियो। अर्को दिन बिहान जब हाँसले सुनको अन्डा दियो तब उनले त्यो हाँस समाते। त्यसपछि एउटा धारिलो चक्कुले हाँसको हत्या गरे।
त्यस हाँसको पूरै शरीरलाई चिरे। तर उनले हाँसको पेटमा सुनको अर्को कुनै अन्डा भेटेनन्। यसपछि उनी चकित परे। चकित मात्र परेनन्, दिमागले केही काम गरेन। उनको शोकको सीमा नै रहेन। अब उनीसँग दैनिक पाउने सुनको अन्डा पनि नहुने भयो।
परिणामस्वरूप पति–पत्नी प्रतिदिन निर्धन हुँदै गए। आम्दानीका अरू बाटो नभएका तिनलाई खाने कुनै उपाय भएन। अन्ततः उनीहरूसँग फुटेको कौडी पनि बाँकी रहेन।
नैतिक कथा : एउटा कुरो के सत्य हो भने लोभलालच खराब चिज हो। भएकोमा सन्तुष्टि लिन सकेन भने भएको पनि गुम्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस !