ई-भोटिङ् निर्वाचनको तयारी गरिदै : आयुक्त पौडैल
स्याङ्जा : निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले आयोगले संस्थागत सृदुढीकरण गरी प्रविधियुक्त निर्वाचन प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको बताएका छन्। निर्वाचन प्रणालीलाई प्रविधिसँगै जोडदै ई-भोटिङको तयारी भैरहेको उनले बताए।
स्याङ्जा जिल्ला निर्वाचन कार्यालय भवनको शनिबार शिलान्यास गर्दे उनले आयोगको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना अनुरुप निर्वाचन कार्यालय निर्माणका अभियानलाई बढाउदै लैजाने योजना रहेको जानकारी गराए। आयोगले विस २०७६ देखि ०८१ सम्मको पञ्चवर्षिय योजना बनाएर काम गर्दे आएको छ।
मुलुकका ७७ जिल्लामध्ये १९ वटा मात्र निर्वाचन कार्यालय छन्। एक जिल्लामा निर्माणाधीन अवस्थामा रहेको र ९ वटा कार्यालय सरकारी भवनमा रहेर काम गर्दे आएको आयुक्त पौडेलले जानकारी दिए। उनका अनुसार अब १० वटा कार्यालय बन्ने तयारीमा छ।
कार्यालयको धेरै महत्वपूर्ण जिम्मेवारी र कार्य हुँदाहुँदै पनि आवश्यकता अनुरुप भवन नपाउदा सिमित कोठामा बसेर काम गर्नुपर्दा धेरै कठिनाई आउने गरेको स्मरण गराए। कार्यक्रममा आयोगका सचिव, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, संघिय कार्यालय कास्कीका आयोजना प्रमुख इन्जिनियर सुरज पौडेल, गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुली, स्याङ्जाका निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीलगायतले गुणस्तरीय र तोकिएको समयमै भवन निर्माण गर्न सुझाव दिए।
एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी बिएम वील्डर्स एण्ड सियोन एडभेन्चर कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ। भ्याटसहित २ करोड ३ लाखको लागतमा पुतलीबजार नगरपालिका-१ मा भवन निर्माण हुने कार्यालयले जनाएको छ।
एक रोपनी ३ आना क्षेत्रफलमा साढे २ तलामा १५ कोठा र ६ वटा शौचालय निर्माण गर्ने निर्माणकर्ता कम्पनीका दोर्जे लामाले जानकारी दिए। २०६१ सालमा स्थापित निर्वाचन कार्यालय स्याङ्जा अहिले भाडाको घरमा बसेर सेवा प्रवाह गर्दे आएको छ। स्थापनापछिका कार्यालयले सोही भवनबाटै पटक पटकका निर्वाचन सम्पन्न गर्दै आएको छ।