नेपालसहित १३ देशका राजदूत भाजपा मुख्यालयमा
काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नेपालसहित १३ देशका राजदूतलाई आफ्नो मुख्यालयमा स्वागत गरेको छ।
पैगम्बर मुहम्मदमाथि प्रवक्ताबाट भएको विवादित टिप्पणीले भाजपा नेतृत्वको सरकार विश्व समुदायबाट घेरिएका बेला विदेशमन्त्री एस जयशंकरले भारतका लागि १३ देशका राजदूतलाई नयाँदिल्लीस्थित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालय भ्रमण गराएका हुन्।
भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले नेपालसहित अष्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याण्ड, जमैका, लिथुआनिया, मोरिसस, सर्बिया, स्पेन, थाइल्याण्ड र बेलायतका राजदूतलाई मुख्यालयमा स्वागत गर्दै पार्टीको दृष्टिकोण, नेतृत्व र कार्यक्रमबारे जानकारी गराएका थिए।
विदेशमन्त्री जयशंकरले ‘नो बीजेपी’ अर्थात भाजपालाई बुझ्ने अभियानअन्तर्गत राजदूतहरुलाई बोलाएर मोदी सरकारको ८ वर्षको अवधिमा भारतमा भएको परिवर्तन र पार्टीका विभिन्न गतिविधिहरूबारे चर्चा गरिएको उल्लेख गरेका छन्।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भाजपालाई बुझ्ने अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन्।
यो छलफलले भाजपाको दृष्टिकोण, नेतृत्व र कार्यक्रमहरूको बारेमा जानकारी मिलेको उनले उल्लेख गरेका छन्। छलफलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए।