चौंरीले तान्दै पर्यटक
फिदिम : चौरीपालन व्यवसाय यसअघि जीविकोपार्जनको माध्यम, उच्च पहाडको पहिचान र परम्परा थियो। अब भने यसलाई पर्यटनसँग जोड्न थालिएको छ। परम्परागत पेसालाई आधुनिकीकरण गर्दै चौंरीलाई पर्यटक तान्ने माध्यम बनाएको हो। यसले किसानको आम्दानी मात्रै होइन लेकाली फाँटमा पर्यटकको चहलपहलसमेत बढेको छ।
पोषिलो दूध दिने चौंरी यहाँको पर्याय हो। चौंरी हेर्दा आकर्षक देखिने जनावार हो। ठूलो शरीर, लामा र तिखा सिङ, लामा रौं भएको चौंरी हेर्दा निकै आकर्षक देखिन्छ। चौंरीबिना पहाड र हिमालको कल्पना गर्न नसकिने फालेलुङ–४ का चौंरीपालक जंग राईले बताए। ‘पर्यटकलाई चौंरी देखाएर आम्दानी गर्न थालेका छौं,’ राईले भने। चौंरी हेर्न पाउँदा पर्यटक पनि औधी रमाउने गरेको उनले सुनाए।
चौंरी हेर्न र यसको जीवनचक्रका बारेमा बुझ्न विदेशी पर्यटक आउन थालेको याक तथा चौंरी कृषक महासंघ नेपालका सचिव चन्द्रलाल नेपालले बताए। भने, ‘अहिले कृषकको आम्दानी पनि बढेको छ।’
पाँचथरसहित ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवाको लेकाली भेगमा चौंरी पाइन्छ। यो क्षेत्रका चौंरीपालक संगठित गर्न हालै याक तथा चौंरी कृषक महासंघ गठन गरिएको छ। सोलुखुम्बुका नुरु शेर्पाको अध्यक्षतामा गठित समितिले लोपोन्मुख चौंरीलार्ई संरक्षण र पर्यटन व्यवसायसँग जोड्ने लक्ष्य राखेको छ। समिति गठन गर्नुभन्दा पहिलेदेखि नै पूर्वी पहाडका किसानहरूले चौंरीलाई पर्यटनसँग जोड्न थालेका थिए।
चौंरीको अनुसन्धानका लागि अमेरिकालगायत देशबाट अनुसन्धानकर्ता आउन थालेको सचिव नेपालले बताए।
गोठबाट १५ लाखसम्म आम्दानी
एउटा चौंरी गोठबाट वार्षिक कति आम्दानी होला ? अधिकांशको जवाफ हुन्छ– गोठबाट फाइदा नै हुँदैन भइहाले ५० हजारदेखि मुस्किलले लाखसम्म। तर, चौंरीपालकको जवाफ बदलिएको छ। उनीले आश्चर्यलाग्दो आम्दानी सुनाउँछन्। चौंरीकै आम्दानीबाट वार्षिक ५ लाख बचत हुने तोरिफुलेका सूर्यमान गुरुङले बताए।
४० वर्षदेखि गोठ सञ्चालन गरिरहेका उनले भने, ‘गाउँमा वर्षको १५ लाख रुपैयाँसम्म बचत गर्ने पनि छन्।’ याङवरक–१ पानीभित्ताका पेम्बा शेर्पाको गोठमा १४ वटा चौंरी दुहुना छन्। ‘एउटा दुहुना चौंरीबाट सिजनमा ५० हजारसम्म आम्दानी हुन्छ,’ शेर्पाले भने, ‘घिउ, छुर्पी चीज र चौंरी बिक्रीबाट राम्रो कमाइ हुन्छ। अहिले त पर्यटक पनि चौंरी हेर्न आउन थालेका छन्। उनीहरू गोठमा बस्छन्। खान्छन् र रमाइलो गर्छन्।’ वार्षिक ८ देखि १० लाखसम्म बचत गरेको पेम्बाले सुनाए।
चौंरीको घिउ, छुर्पी, चीज, पुच्छर बिक्री गरेर राम्रो आम्दानी लिने गरेका किसानहरूले पर्यटक आउन थालेपछि थप आम्दानी गर्न थालेका हुन्। चौंरी हेरबापत पर्यटकले छुट्टै पैसा तिर्दैनन् तर, उनीहरू आउँदा गोठमा खाने, बस्ने र रमाइलो गर्ने भएकाले किसानको आम्दानी थप बढेको हो।
‘एउटा राम्रो याक दुई लाखसम्मा बिक्छ,’ फालेलुङ–४ नेपालीटारका थर्कप्रसाद गुरुङले भने, ‘परिश्रमबाट नडराउने हो भने चौंरी गोठबाट राम्रो कमाइ हुन थालेको छ। चौंरीको रौं सम्म बिक्री लाग्छ।’ चौंरीको घिउ प्रतिकिलो पाँच सय र छुर्पी आठ सय रुपैयाँले बिक्री हुने उनले सुनाए।
गोठमा कर्पटक आवास
पर्यटकलाई राख्न गोठमै आवास बनाइएको छ। जसलाई ‘गोठस्टे’ नाम दिइएको छ। यहाँका गोठाला नै पर्यटन व्यवसायी बनेका हुन्। फालेलुङ र याङवरकमा २१ ओटा ‘गोठस्टे’ तयार गरिएको हो। रेडपाण्डा नेटवर्क र दीप ज्योति युवा क्लबको आर्थिक सहयोगमा गोठस्टे सञ्चालन गरिएको हो।
चौंरी गोठलाई आधुनिक तरिकाले निर्माण गरेर पर्यटक बस्न मिल्ने गरी बनाइएको गोठलाई नै ‘गोठस्टे’ भनिएको क्लबका कार्यकारी निर्देशक सुनील बान्तवाले बताए।
होमस्टेकै अवधारणमा ‘गोठस्टे’ विकास गरिएको उनी बताउँछन्। भन्छन्, ‘पर्यटकहरूलाई गोठ जीवनपद्धतिको बारेमा बुझाएर रमाउन सिकाउनु गोठस्टे सञ्चालन गर्नुको लक्ष्य हो।’
सन्दकपुरदेखि चारराते, नेपालीटार, तोरीफुले, पानीभित्ता, तिम्बुङपोखरी हुँदै कञ्चनजंघा बेस क्याम्पसम्म जाने पर्यटक यहाँ बास बस्न सक्छन्। खानेकुराको मीठो परिकार बनाउन गोठालालाई तालिम दिइएको छ।