निरपराध हाब्रेमाथि अपराध
हाब्रे अर्थात् रेड पान्डा विश्वका जम्मा पाँच वटा देशमा पाइन्छ। त्यसमध्ये एउटा नेपाल हो। करिब २२ सय मिटरदेखि ४८ सय मिटरको उचाइसम्मका शान्त वनजंगलमा हाब्रे पाइन्छ। १० देखि २५ डिग्री तापक्रमसम्म औसत वार्षिक वर्षा ३ सय ५० मिलिमिटर भएको उच्च भेगका जंगल हाब्रेको बासस्थान हो। वन जंगलमा पाइने धेरै थरी जीवजन्तुमध्ये हाब्रे अर्थात् रेडपान्डा निकै सुन्दर हुन्छ। निकै लजालु हुन्छ यो जीव। हेर्दा सानो बिरालो जस्तो देखिने यो जीव संरक्षण सूचीमा छ। हाब्रेको सुन्दरता नै उसका लागि अभिशाप जस्तो भएको छ। कारण थाहा छैन तर व्यर्थै यसको चोरी सिकारी अचाक्ली भइरहेको छ। सबैभन्दा धेरै हाब्रे पाइने मुलुक चीन हो। विश्वभर यसको संख्या १० हजार छ। नेपालमा हजारभन्दा थोरै हाब्रे रहेको अनुमान छ। चीनले पाण्डा देखाएर पर्यटक तानिरहन्छ। हाम्रो नेपालमा भने यसको संरक्षण नै ठूलो चुनौती बनेको छ।
समशीतोष्ण हावापानीमा पाइने निगालो हाब्रेको आहार हो। चौडापाते पतझर र कोणधारी वन उसको बासस्थान हो। एकान्त मन पराउँछ। रुखका हाँगाहरूमा सुत्छ। सोझो र सुधो यो प्राणीबाट अरूलाई हानि छैन। तर मान्छेहरू नै यसका दुश्मन निस्किएका छन्। बिनाकारण हाब्रे मारिएका छन्। छालाको चोरी निकासी भइरहेको छ। पश्चिम नेपालका पहाडी जिल्लाहरूबाट दर्जनौं हाब्रेका छाला चोरी निकासीसहित थुप्रैजनालाई गएका ६ महिनामा पक्राउ गरेको तथ्यांक देखिन्छ। यसले हाब्रेको चोरी सिकारी निकै बढेको देखाउँछ। तर, किन मान्छे यसको सिकार गर्छ भन्ने यकिन छैन। हाब्रेको मासु कसैले खाँदैन। त्यसमाथि मासु मीठो हुँदैन भनिन्छ। हाडछालाको कुनै उपयोगिता भएको देखिएको छैन। औषधि वा अरू कुनै प्रयोजन पनि छैन। प्रहरी नै छक्क छ कि किन भइरहेको छ हाब्रेको चोरी सिकारी ?
भ्रमहरू छन्। हाब्रेको छालाको उपयोगिताबारे चलेका अफवाहकै कारण यसको चोरी सिकारी भइरहेको अहिलेसम्मका घटनाक्रमले देखाएका छन्। कतिपय वेबसाइटहरूमा यसको रंगीन छालाको आकर्षक व्यापार हुने उल्लेख हुँदा पनि भ्रम फैलिएको छ। चेतनाको अभाव नै यसको चोरी सिकारीको मुख्य कारण देखिन्छ। जंगली जीवजन्तु कसैको पनि सिकार गर्न मिल्दैन। तर, कतिपय नेपालीलाई यति सामान्य जानकारी र ज्ञान पनि छैन। हाब्रे मारिनुको एउटा कारण त्यस्तो ज्ञानको अभाव पनि हो। हाब्रेको जनचेतनाको विस्तार यसको चोरी सिकारी रोक्ने एउटा प्रमुख उपाय हुनसक्छ। त्यसो त सरकारले पाण्डा संरक्षणको अभियान पनि चलाएको छ। यसको बासस्थानमा आहारा हुने वनस्पति रोप्ने अभियान पनि छ। त्यो अभियानले पाण्डा पाइने नेपालका सबै ३५/३६ जिल्लामा सघन रूपमा चलाउनु उत्तम हुन्छ।
वन्यजन्तुको संरक्षणको नीति नियम त सरकारले मात्रै होइन, अन्तर्राष्ट्रिय संस्थाहरूले पनि बनाएका छन्। तर, संरक्षणको उद्देश्य पूरा गर्न भने स्थानीय बासिन्दाले सबैभन्दा प्रभावकारी भूमिका खेल्न सक्छन्। पाण्डा पाइने जिल्लाहरूमा प्रकृतिको यो सन्तानको महत्त्वव र यसको आवश्यकता प्रकृतिका किन छ र किन मार्नु हुँदैन भन्ने सचेतनाका विभिन्न अभियान चलाउन जरुरी छ। अरू कसैलाई हानि नगर्ने र हिंसाको कुनै चरित्र नभएको निरपराध जीव पाण्डाको बाँच्न पाउने हकका लागि राज्य र नागरिक दुवै स्तरबाट घनीभूत काम हुन जरुरी छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वार्षिक प्रतिवेदनले औंल्याएका झापाको काँकडभिट्टा, काठमाडांै, विराटनगर, सुनसरीको हरिपुर, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगर लगायत ठाउँ र नाकामा यसको व्यापार भने चेतनाको प्रसार यी ठाउँमा पनि जरुरी छ। भ्रम चिर्न जरुरी छ। निरपराध हाब्रेमाथि हरहालतमा अपराध रोक्नुपर्छ।