गर्भवतीलाई के खुवाउने ?
बुहारीलाई खाना दिनुपर्छ र ? भान्सामा जे पकाउँछिन्, त्यही खान्छिन्। धेरै घरको मान्यता यस्तै छ। हरेक घरमा बुहारीका लागि कुनै विशेष खाना हुँदैन। घरको खाना बुहारीले नै तयार गरे पनि अधिकांश घरमा बुहारीले खाने चाहिँ अन्तिममा हुन्छ। यो हाम्रो संस्कार नै हो। अन्तिममा बुहारीले खाँदा कहिले दाल सकिन्छ त कहिले तरकारी। बुहारीले नुन वा अचारसँग भात खाएको कुनै हिसाब नै हुँदैन। घरमा आउने फलफूलमा पनि पहिलो अधिकार बुहारीको बिरलै पाइन्छ। बुहारीहरूमा कुपोषण हुन सक्छ भनेर कसैले चिन्ता गर्दैनन्। तिनै बुहारीहरूबाट स्वस्थ्य नातिनातिनीको चाहना राख्ने परिवारले पनि बुहारीको पोषण र स्वास्थ्यमा ध्यान पुर्याउन सकेको देखिँदैन। गाउँमा पोषिलो खान नपाएर अनि सहरमा ‘डाइटिङ’ ले होला प्रजनन उमेरका महिलाहरूमा कुपोषण बढ्दै गएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्भे २०१६ का अनुसार ४१ प्रतिशत प्रजनन उमेरका अर्थात् १५ देखि ४९ वर्षका महिलाहरूमा रक्तअल्पता देखिएको थियो। यो संख्या २०११ मा ३५ प्रतिशत थियो।
मानव शरीरलाई स्वस्थ्य राख्न पोषक तत्त्व आवश्यक हुन्छ र यो लिइने आहारबाट प्राप्त गरिन्छ। पोषणले मानिसलाई स्वस्थ रहन एवं रोग प्रतिरोधात्मक क्षमता कायम तथा विकास गर्न मद्दत गर्दछ। हरेक उमेर समूहका स्वस्थ तथा रोगी सबै मानिसहरूलाई राम्रो पोषण जीवनभर आवश्यक पर्दछ। विशेषतः गर्भवती महिला, स्तनपान गराइरहेकी आमा, शिशु, बालबालिकालाई विशेष किसिमको पोषण र हेरचाहको जरुरत पर्दछ। बालबालिकाको मानसिक तथा शारीरिक तीव्र विकास पनि गर्भकै अवधिदेखि हुने गर्दछ। त्यसैले प्रजनन उमेरका महिलाहरू, गर्भवती, स्तनपान गराइरहेका महिलाहरू स्वस्थ्य अर्थात् कुपोषणरहित हुन जरुरी हुन्छ। साथै गर्भको समयमा र स्तनपान गराई रहेको अवस्थामा थप पोषण जरुरी हुन्छ। यस अवस्थामा राम्रो र उचित पोषणका कमीले महिला मात्र प्रभावित हुँदैनन्, गर्भका बच्चा तथा नवजात शिशुसमेत प्रभावित हुन्छन्।
विभिन्न तथ्यांकअनुसार गर्भवती, स्तनपान गराइरहेकी आमा र बालबालिका कुपोषणको उच्च जोखिममा रहेका छन्। नेपालको सन्दर्भमा अशिक्षा, गरिबी, पोषण ज्ञानको कमी, बेरोजगारी, सानै उमेरमा विवाह र गर्भधारण, विभिन्न रोगको संक्रमण, खाद्य असुरक्षा, शुद्ध पिउने पानीको अभाव, सन्तुलित आहारको कमी, जोखिमयुक्त वर्गको हेरचाहमा कमी, पर्याप्त खाद्य पदार्थ तथा पोषक तत्त्वको उपलब्धता नहुनु जस्ता कारणहरूले कुपोषणको आँकडामा उल्लेखनीय सुधार हुन सकेको छैन। कुपोषण न्यूनीकरण गर्ने प्रयास नभएको चाहिँ पक्कै होइन। नेपालमा पोषण रणनीति सन् १९७८ देखि नै आएको देखिन्छ। सन् १९८० मा वृद्धि अनुगमन तथा सूक्ष्म पोषक तत्त्वको वितरण सुरु भएको देखिन्छ। सन् १९८५ मा अमेरिकी सहयोग तथा कृषि र स्वास्थ्य मन्त्रालयको समन्वयमा पहिलो पोषण सर्वेक्षण भएको थियो र यहीँबाट नेपालको पोषण यात्रा सुरु भएको मान्न सकिन्छ।
राम्रो र उचित पोषणका कमीले महिला मात्र प्रभावित हुँदैनन्, गर्भका बच्चा तथा नवजात शिशुसमेत प्रभावित हुन्छन्। तथ्यांकअनुसार गर्भवती, स्तनपान गराइरहेकी आमार बालबालिका कुपोषणको उच्च जोखिममा छन्।
यसअघि १९७५–९० को पाँचौं र छैटौं पञ्चवर्षीय योजनाले केही स्थान दिएको पनि देखिन्छ। सन् १९९१ मा पहिलो स्वास्थ्य नीति र १९९२ मा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएपछि उक्त दशकमा केही फड्को मारेको देखिन्छ। सन् १९९० को संयुक्त पोषण समर्थन कार्यक्रमलाई पहिलो औपचारिक पोषण लक्षित कार्यक्रम मान्न सकिन्छ। आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन २०५५ मा नै आएको हो। तर पूर्ण विस्तारित र संस्थागत गरिएको पोषणका कार्यक्रम २०६४ पछि मात्रै आएको हो भन्दा फरक नपर्ला। बालबालिकाहरूका पोषणका कार्यक्रमहरू सँगै गर्भवतीहरूलाई निःशुल्क आइरन चक्की, भिटामिन ए र जुकाको औषधि वितरणजस्ता सफल कार्यक्रमहरू सञ्चालनमा छन्। तर अझै पनि गर्भवतीहरूमा कुपोषणका समस्या धेरै नै रहेको छ। नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्भे २०१६ कै प्रतिवेदनअनुसार प्रदेश २ मा प्रजनन उमेरका ५८ दशमलव ८ प्रतिशत महिलाहरूमा रक्तअल्पता रहेको छ।
कुपोषणले गर्भवती महिलाहरूमा संक्रमणको जोखिम बढाउने हुन्छ। आइरनको कमीले रक्तअल्पता हुने र यसले प्रसव तथा सुत्केरीका जटिलता बढाउने हुन्छ। भिटामिन ‘ए’को कमीले रतन्धो भई अन्धोसमेत हुन सक्छ। त्यस्तै दीर्घ शक्ति कमी भई सुत्केरी समयमा समस्या हुन सक्छ। कुपोषणका कारणहरूले अत्यधिक रक्तस्राव, उच्च रक्तचाप, इक्लेम्पसियाजस्ता जटिलताहरू थपिन सक्छ र सुत्केरीको मृत्युसमेत हुन सक्छ। गर्भावस्थामा कुपोषण भएकाले गर्भवतीहरूलाई मात्र समस्या हुँदैन। यसले गर्भको भ्रूणमा समेत असर गर्ने हुन्छ। कुपोषले भ्रूणको शारीरिक वृद्धिदरमा कमी भई भ्रूणावस्थामै होचो हुन सक्छ र जन्मिँदा कम तौलको हुन सक्छ। त्यस्तै त्यस्ता भ्रूणहरू उमेर नपुगी जन्मिन सक्ने पनि हुन सक्छ। यस्ता बालबालिकाहरूको मानसिक विकासमा असर पर्न सक्ने, शिशु अवस्थामा नै रक्तअल्पता हुन सक्ने हुन्छन्। यस्ता बच्चाहरूमा संक्रमणको जोखिम बढ्न सक्छ।
कुपोषण हुन नदिन तथा राम्रो शारीरिक तथा मानसिक विकास भएका स्वस्थ्य बच्चाका लागि धेरै महँगो उपचार चाहिँदैन। मात्र आफ्ना बुहारी वा प्रजनन उमेरका महिलाहरूलाई स्वस्थ्य, कुपोषणरहित बनाउनु पर्छ। बुहारीलाई गर्भ परीक्षणका लागि चिकित्सकलाई के खान दिनु हुँदैन भनेर सोध्नुको सट्टा बुहारीलाई के खुवाउनु भनेर सोध्ने गर्नुपर्छ। गर्भका योजनामा रहेका र गर्भवती महिलाहरूलाई साबिकभन्दा थप एक पटक खाना खुवाउनु पर्दछ। ‘हरेक बार खाना चार’ अर्थात् हरेक दिन विभिन्न प्रकारका चार समूहका खानाहरू (१. अन्न, २. गेडागुडी, ३. पशुपक्षीजन्य खाने कुराहरू, र ४. फलफूल तथा तरकारीहरू) चार पटक खान सिकाउनु पर्छ। त्यस्तै सूक्ष्मपोषण तत्त्वको कमी हुन नदिन आइरन धेरै पाइने खाना खानको लागि प्रोत्साहित गर्नुपर्छ। माछा, मासु र कलेजो, टुसा उमारेको गेडागुडी, गाढा हरियो सागपात, फलफूल आदि खानाहरूबाट पर्याप्त मात्रामा आइरन र भिटामिन प्राप्त गर्ने भएकाले गर्भवतीका खानामा कहिल्यै छुटाउनु हुँदैन। सामान्यतयाः गर्भवतीहरूलाई अमिलो खान बर्जित गरेका हुन्छन्। तर यस्ता खानाहरू (जस्तै कागती, अमला आदि) मा भिटामिन ‘सी’ पाइने र खाना पनि रुचाउने भएकाले खान दिनु अनिवार्य गर्नुपर्छ।
गर्भवतीहरूलाई खानेकुरा सँगसँगै केही थप पोषक तत्त्वका लागि औषधि पनि दिनुपर्छ। गर्भका योजनामा रहेका तथा गर्भको ९० दिनसम्म फोलिक एसिड र त्यसपछि आइरन तथा क्याल्सियम चक्कीहरू खुवाउनुपर्छ। त्यस्तै गर्भवती भएको तीन महिना पूरा भएपछि एक पटक जुकाको औषधि खुवाउनु पर्छ। आयोडिनको कमी हुन नदिन दुई बालबालिकाको लोगो अंकित आयोडिनयुक्त नुनको प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिलो खानेकुराहरूलाई प्राथमिकतामा राख्नुपर्छ।
यस अवस्थामा गर्भको भ्रूणको राम्रो विकासका लागि प्रोटिनलगायत भिटामिन र खनिज तत्त्वहरूका चाहिने हुन्छ। त्यसैले यसका लागि फलफूल, मासु, अन्डा, दूधजस्ता खाद्यपदार्थ नियमित चाहिन्छ। सधंै यस्ता खानकुरा उपलब्ध नभए यिनै अति आवश्यक पोषकतत्त्व राखेर तयार गरिएका केही विशेष औषधिहरू प्राथमिकतामा राखेर नियमित सेवन गर्नुपर्ने हुन सक्छ। यस अवस्थामा चुरोट वा अन्य धूमपान र मादकपदार्थ सेवनलाई निरुत्साहित गर्दै स्वास्थ तथा सरसफाइमा विशेष ध्यान दिनु पर्छ।