मिटरब्याजीविरुद्ध जाग्यो सप्तरी, रामदेवलाई कारवाही माग गर्दै प्रदर्शन

मिटरब्याजीविरुद्ध जाग्यो सप्तरी, रामदेवलाई कारवाही माग गर्दै प्रदर्शन

राजविराज : गैरकानुनी कारोबारका रुपमा एउटा प्रथा जस्तै देशभर फैलिएको मिटर व्याजीको भण्डाफोरसँगै विरोध सुरु भएको छ।

मिटरब्याजी सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका रामदेव साह तेलीबाट पीडित भएकाहरूले सोमबार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न गाउँबाट भेला भएका पीडितहरूले नाराबाजी गर्दै राजविराज बजार परिक्रमा गरेका छन्। “ऋण तिरिसकेको जग्गा फिर्ता गर”, “बलात्कारी रामदेव साहलाई कारवाही गर”, “गैरकानुनी कार्यमा सलंग्न साह परिवारलाई कारवाही गर” लगायतको प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले जुलुस निकालेका छन्।

प्रधानमन्त्रीको निर्देशनपछि सकृय भएको नेपाल प्रहरीले रामदेव साह तेलीका छोरा नन्दकिशोरलाई बिहीबार सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट आइतबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह फरार छन्।

छोटो समयका लागि चर्को व्याज लगाउने र समयमा तिर्न नसके सोही अनुसार व्याज बढाउँदै लाने कारोबार नै मिटर व्याज हो। यसरी कारोवार गर्नु जोखिमपूर्ण भएपछि पछिल्लो समय साहुहरूले ऋण चुक्ता गरेपछि फिर्ता गर्ने विश्वासमा पारी ऋणीहरूको जग्गा आफ्नो नाममा रजिष्ट्ररी पास गर्ने गरेका छन्।

मिटरब्याजी समस्या मधेसमा बढी देखिए पनि सिंगो देशको समस्या रहेको भन्दै प्रदर्शनमा सहभागी विष्णुपुर गाउँपालिका-१ का चिरञ्जन यादवले लाख रुपियाँ ऋण दिएर करोडौं रुपैयाँ बराबरको जग्गा हडप्ने प्रवृति निकै वर्षदेखि फस्टाइरहेको बताए।

ग्रामीण क्षेत्रका दर्जनौ सोझा किसान, मजदुर रामदेवको ऋणको पासोमा परेर छटपटाएको प्रदर्शनकारीहरूले बताए। सुरुङ्गा नगरपालिका–४ की सबुरदेवी चौधरीले श्रीमानलाई विदेश पठाउन २०७५ सालमा लिएको २ लाख ५० हजार रुपियाँवापत झण्डै ६ लाख रुपैयाँ २०७७ भित्र बुझाइसकेको तर धितो वापत दृष्टिबन्धक राखेको १४ कठ्ठा जग्गा फिर्ता नपाएको बताइन्।

बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीका शितल यादवले पनि छोरालाई विदेश पठाउन रामदेवसँगै २ लाख ७० हजार ऋण लिएको सुनाए। ऋण लिएको डेढ बर्षभित्रै आफ्नो एक कठ्ठा जग्गा बेचेर रामदेवलाई ८ लाख रुपैयाँ चुक्ता गरिसक्दा समेत दृष्टिबन्धक गरेको १२ कठ्ठा जग्गा फिर्ता नगरेको उनले बताए।

रामदेवले जग्गा दृष्टिबन्धक राजिनामा गराएर मात्र ऋण दिने गरेको पीडितहरूको भनाई छ। संघर्ष समितिका संयोजक बोदे बर्साइन नगरपालिका ५ का तैयब अलीले पनि २०७१ भदौ २ गते १ कठ्ठा १८ धुर जग्गा धितो राखी ३८ लाख ऋण लिएका थिए। यो ऋण वापत पटक–पटक गरी ४५ लाख २० हजार तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको बताएका अलीले साहुले थप ५० लाख मागेपछि अन्यायमा परेको बताए।

खडक नगरपालिका–८ ढोलबज्जाका बच्चालाल साहले कल्याणपुरको १२ कठ्ठा १६ धुर जग्गा जग्गा खरीद गर्दा नपुगेको ४ लाख २९ हजार रुपैयाँ ऋण लिएको तर रामदेवले आफ्नो नाममा राख्न लगाएको जग्गा थप ३२ लाख रुपियाँ तिरे मात्र फिर्ता गर्ने भनेको गुनासो गरे।

शम्भुनाथ नगरपालिका–११ कि ललिता मण्डलले तीन वर्ष अगाडि लिएको ४ लाख रुपैयाँ ऋण बापत २५ लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको बताइन्। श्रीमानले पठाएको रकमबाट १६ कठ्ठा जग्गा खरिद गर्दा अपुग भएको रकम उनले जग्गाधितो राखी ऋण लिएकी थिइन्।

खडक नगरपालिका–६ का छेदीलाल पासवानले सुरुङ्गा नगरपालिकाको कदमाहामा इँटा उद्योग सञ्चालन गर्न १२ कठ्ठा १९ धुर जग्गा रामदेवको नाममा राखेर २०७३ सालमा १६ लाख रुपैयाँ ऋण लिएको तर गत भदौ १९ गते तिर्न खोज्दा ७६ लाख ६२ हजार ३ सय ९० रुपैयाँ तिर्नुपर्ने हिसाब देखाएर जग्गा फिर्ता गर्न नमानेको बताए।

इलाका प्रहरी कार्यालयमा उजुरी दिने ९ जनाले आरोपित साहसँग जम्मा १ करोड १७ लाख ४२ हजार २५६ ऋण लिएको उल्लेख गरेका छन्। सो रकम तथा सोको व्याज समेत तिरी चुक्ता गरी सके पश्चात पनि लामो समयदेखि जग्गा फिर्ता नगरेको भन्दै ठगी तथा आपराधिक विश्वासघातमा उजुरी दर्ता गरेर कारवाही थालिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

मिटर व्याजी साहले जग्गा फिर्ता नगरेका २२ जना आफ्नो सम्पर्कमा रहेको र अरु व्यक्ति पनि सम्पर्कमा आउने क्रम रहेको संयोजक अलीले बताए। मिटर व्याजी रामदेवले ऋण लिने महिलामाथि गलत दृष्टि राख्ने र यौन शोषण गर्ने गरेको आरोप समेत उनले लगाएका छन्।

मिटर व्याज गैरकानुनी कारोबार भन्ने सबैलाई थाहा भए पनि कारोबार गर्नेको राजविराजमै कमी नरहेको राजविराज–३ का बैद्यनाथ मुन्धडा बताउँछन्। मिटर व्याजीहरू बारे बेलाबेलामा चर्चा उठे पनि कारवाही भन्दा मिलाउने चलन रहेकाले कारोबारीहरू नडराई गैर कारोबार गरिरहेको मुन्धडाले बताए।

जग्गा आफ्नो नाममा रजिष्ट्री गरेर ऋण दिने र चर्को व्याज असुलेर आय आर्जन बढाउने सजिलो गतिविधि फस्टाएको पत्रकार बैद्यनाथ झाको भनाई छ। औपचारिक उजुरी बाहेक कुनै पनि माध्यममा आएको सूचना वा पत्रिकामा छापिएको सूचनालाई जानकारीको रुपमा ग्रहण गरेर कालोधनको अनुसन्धान गर्नुपर्ने उनले बताए।

कानुनी राज्यको अभाव र पर्याप्त चेतनाको अभावमा यस्ता सामाजिक अपराधमा संलग्नहरू सलबलाइरहेको प्रदर्शनकारीहरूको भनाई छ। जग्गाधनीलाई सडकमा रोइकराई गर्नुपर्ने अवस्थामा पुर्याएर आफू भने आलिसान जिन्दगीमा रमाउने मिटर व्याजीलाई कडा कारबाही गर्नुपर्ने उनीहरूले माँग गरेका छन्।

संसदको विशेष समयमा समेत सांसदहरूले मधेसको प्रमुख समस्या भएको मिटर व्याजको उन्मुलनका लागि योजनाहरू कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। सांसदहरू गिरिराजमणि पोखरेल, तेजुलाल चौधरीलगायतले ठोस कार्यक्रम निर्माण गरेर मिटर व्याजीलाई कारबाही गर्न माँग गरेका हुन्। मिटर व्याजका विरुद्ध यसअघि सर्लाही, महोत्तरी, रौतहटमा सडक आन्दोलनहरू भएका थिए। सर्वसाधारण गरीब जनतालाई ऋण दिएर चर्को व्याज असुल्ने क्रम बढेसँगै अहिले सप्तरीमा मिटर व्याजी विरुद्ध चर्को विरोध हुन थालेको छ।

मिटर व्याजीलाई सजाय

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५२ ले आपराधिक विश्वासघात गर्न नहुने र दफा २५३ ले आपराधिक लाभ लिन नहुने व्यवस्था गरेको छ। आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा रुपान्तरण गरेमा वा वेइमानीपूर्वक उपयोग गरेमा वा हक टुटाई अरुलाई दिलाएमा आपराधिक विश्वासघात गरेको ठहरिन्छ। यस्तोमा संस्थाको व्यवस्थापक, कर्मचारीलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना तथा अन्यलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

दफा २५३ ले कुनै व्यक्तिलाई क्षति पुर्याउने डरत्रासमा पारी बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि लाभ उठाएमा वा लाभ उठाउने नियतले कुनै काम गराएमा वा कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिन्छ।

आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भिर चोट पुर्याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ। दफा २५४ मा यस कसूरबाट कसैलाई हानी, नोक्सानी पुगेको रहेछ भने बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराउने र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.