भारतमा अग्निपथ योजनाको व्यापक विरोध : रेलमा आगो लगाउनेदेखि आत्महत्यासम्म

भारतमा अग्निपथ योजनाको व्यापक विरोध : रेलमा आगो लगाउनेदेखि आत्महत्यासम्म

नयाँ दिल्ली : भारतमा केन्द्र सरकारले ल्याएको अग्निपथ योजनाको व्यापक विरोध भइरहेको छ। विरोध गर्दै आन्दोलनमा निस्किएका प्रदर्शनकारीले बिहारको छपरा र कैमुरमा यात्रुवाहक रेलमा आगजनी गरेका छन् । छपरामा करिब १२ वटा गाडीमा तोडफोड तथा ३ वटा रेलमा आगजनी गरेको खबर भारतीय मिडियामा छ। पूरै स्टेशनमा भयावह अवस्था छ।

त्यस्तै उक्त योजनाकै कारण एक युवकले आत्महत्या गरेका छन्। दुई वर्षदेखि सेना भर्नाको तयारी गरिरहेका रोहतकको पीजी होस्टेलको कोठामा बिहीबार एक युवकले झुण्डिएर आत्महत्या गरेका हुन्। आत्महत्या गर्ने सचिन भारतको जिन्द जिल्लाको लिजवाना गाउँका बासिन्दा हुन्। नयाँ भर्ना नीति आएसँगै सेना भर्ती रद्द भएको र चार वर्षको योजना आएकोमा दुःखी भएर सचिनले यस्तो कदम चालेका परिवारले बताए।

उक्त नीतिबाट आक्रोशित युवाहरुले केन्द्र सरकारविरुद्ध नारा लगाइरहेका छन् । आन्दोलनका कारण बिहारको रेल यातायात पूर्णरुपमा ठप्प भएको छ । बिहारको आराहमा, प्रहरीले आक्रमणकारीलाई नियन्त्रण गर्न अश्रु ग्यास प्रयोग गर्नु परेको थियो।  बिहीबार ट्रेन जेहानाबाद, बक्सर र नवादामा रोकिएको थियो। छपरा र मुंगेरमा सडक आगजनीपछि भीषण प्रदर्शन भएको छ । सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको भनाइ छ ।  

प्रदर्शनकारीहरूले बिहीबार बिहानैदेखि सफायाबाद नजिकै मुंगेरमा पटना-भागलपुर मुख्य सडक अवरुद्ध पारेका छन्। नवादामा सयौं युवाले प्रजातान्त्र चोकमा केन्द्र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने जहानाबादमा विद्यार्थीले गया–पटना रेलमार्ग अवरुद्ध गरेका छन् ।

तीनवटै सेवामा ४ वर्षे भर्ती योजना  

भारतको केन्द्रीय सरकारले सेना, नौसेना र वायुसेनाका तीनवटै शाखाहरूमा ठूलो संख्यामा युवाहरूलाई भर्ती गर्न जून १४ मा अग्निपथ भर्ती योजना सुरु गरेको छ। यो योजना अन्तर्गत युवाले ४ वर्ष रक्षा बलमा सेवा गर्नुपर्नेछ । तलब र निवृत्तिभरणको बजेट घटाउन सरकारले यो कदम चालेको मानिन्छ ।

प्रदर्शनकारीहरूले भने, 'रक्षामन्त्री राजनाथ सिंहले मंगलबार अग्निपथ योजना अन्तर्गत अग्निवीर नियुक्त गर्ने घोषणा गरेका थिए, जसलाई ४ वर्षको लागि सेनामा जागिर दिइनेछ। ४ वर्षपछि ७५ प्रतिशत जवानलाई ११ लाख रुपैयाँ दिएर घर फर्काइनेछ। २५ प्रतिशतको मात्रै सेवामा केही विस्तार हुनेछ । यो नयाँ नियमलाई लिएर प्रदर्शन भइरहेको हो।'

किन भइरहेको छ प्रदर्शन ?

भारतको केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार अग्निपथ योजनाको घोषणा गरेका थिए। सो योजना अन्तर्गत भारतीय सेनामा चार वर्षका लागि युवा भर्ना हुने नियम छ। काम सकिएपछि उनीहरुलाई सेवा कोषको प्याकेज दिइनेछ । यसअन्तर्गत १७‍.५ वर्षदेखि २१ वर्ष उमेर समूहका युवाले चार वर्ष सेनामा सेवा गर्ने अवसर पाउनेछन् ।  ४ वर्ष सेवा अवधि पूरा भएपछि भने २५ युवाहरूलाई मात्र सेनामा राखिनेछ।  सोही कुराको विरोधमा सेनाको तयारी गरिरहेका युवाहरुले प्रदर्शन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.