नवलपरासीका मिटरब्याजी साहुबारे प्रहरी प्रशासन बेखबर

नवलपरासीका मिटरब्याजी साहुबारे प्रहरी प्रशासन बेखबर

परासी : मिटरब्याजी साहुविरुद्ध तीनदेखि नवलपरासीका पीडितहरु काठमाण्डौंमा धर्नामा छन्। मिटरब्याजीहरुलाई पक्राउ गरेर न्याय पाउने आशमा उनीहरुले काठमाण्डौं पुगेर आन्दोलन थालेका हुन्। काठमाण्डौंमा आन्दोलन भइरहँदा मिटरब्याजी साहुहरुबारे भने नवलपरासीको प्रहरी र प्रशासन बेखबर जस्तै छ। मिटरब्याजी साहुविरुद्ध जाहेरी नआएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ।

जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट ४० बढी पीडितहरु ६ दिनअघि काठमाण्डौं पुगेका हुन्। ‘मिटरब्याज र ठगीविरुद्ध संघर्ष समिति’ गठन गरेर उनीहरु दिनहुँ माइती मण्डलामा धर्नामा छन्। ‘गाउँबाट आएको केही दिन मिडिया र सम्बन्धित निकायको ध्यानआकर्षण गर्नेतर्फ लाग्यौं। बिहीबारदेखि धर्नामा छौं।’ सुस्ता गाउँपालिका–५ रतनगञ्जका पीडित रामसुभग गुप्ताले भने। धर्नामा आएका केही वृद्ध र अपाङ्ता भएकाहरु बिरामी पर्न थालेपछि गाउँ फर्केको उनले बताए।

अहिले २५/३० जना धर्नामा बसेको उनले अन्नपूर्णलाई टेलिफोनमा सुनाए। साहुले थप जग्गा हड्पन सक्ने त्रासले अझै खुलेर आउन नसकेको अर्का पीडित अवदेश कुशवाले बताए। सुस्ता र प्रतापपुरमा मात्र साहुहरुबाट ऋण लिएका करिब डेढसय बढी पीडित रहेको उनले बताए। बैंकबाट ऋण लिँदा झण्झटिलो र समय लाग्ने भएकाले दृष्टिबन्धकबाट ऋण लिने प्रचलन गाउँमा व्याप्त छ।

घरजग्गा धितो राखि दृष्टिबन्धनकबाट ऋण लिएका पीडितहरुले साँवा/ब्याज बुझाए पनि अझ बाँकी छ भन्दै थप जग्गा आफ्नो नाउँमा गर्न दबाब दिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन्। धर्नामा बसेका सबैजसो पीडितहरुले प्रतापपुर गाउँपालिस्थित बेलाटारीका सुनिल बनियाँ र जगदिश बनियाँबाट ऋण लिएको बताएका छन्। उनीहरु दाजुभाई हुन्। उनीहरुसँग डेढलाखदेखि सातलाखसम्म पीडितहरुले ऋण लिएको बताएका छन्। बनियाँका दाजुभाई बाहेक अरु पनि मिटरब्याजी साहुहरु गाउँमा रहेको बताइएको छ।

बनियाँ दाजुभाईसँग अरु धेरैले ऋण लिएको र जग्गा हड्पन सक्ने त्रासले खुलेर आउन नसकेको पीडितहरुको भनाई छ। पीडितहरुले आफूले पाएको भन्दा दोब्बर रकमको दृष्टिबन्धक कागज गरेर साहुलाई दिएका हुन्। १० वर्षअघि लिएको ऋणको ८ देखि १० गुनाबढी तिर्दासमेत अझै बाँकी छ भन्दै साहुले दृष्टिबन्धक फुकुवा नगर्ने र अरु घर/घडेरी राखेर थप कागज बनाउन दबाब दिने गरेको पीडित गुप्ताको भनाई छ।

‘मलाई पढाउन बुवाले केही वर्षअघि तीन लाख ऋण लिनु भएको थियो। साँवा/ब्याज बुझाए पनि अझै रकम लिन बाँकी छ भन्दै दबाब दिने गरेका छन्।’ पीडित कुशवहाले भने। बुवाले लिएको ऋण छोराहरुले बुझाउँदासमेत अझै नसकिएको उनीहरुको भनाई छ। डेढ लाख ऋणको १४ लाख बुझाउँदासमेत अझै नसकिएको उनीहरुको गुनासो छ। जिल्लामा पटक पटक प्रहरी प्रशासनमा निवेदन दिएपनि सुनुवाई नभएपछि काठमाण्डौं आउनु परेको पीडितहरुको भनाई छ।

मिटरब्याजी साहुलाई कानुनी कारबाही गरी न्याय नदिलाएसम्म गाउँ नफर्कने पीडितको भनाई छ। साँवा ब्याजबाहेक बढी दिएको रकम फिर्ता हुनुपर्ने र ऋणका नाउँमा हड्पेको जग्गा साहुबाट फिर्ता हुनुपर्ने पीडितहरुको माग छ।

यता जिल्लाका मिटरब्याजी साहुहरु विरुद्ध भएको आन्दोलनबारे सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको प्रहरी/प्रशासनले जनाएको छ। ‘मिटरब्याजी साहुविरुद्ध भएको आन्दोलन मिडियाबाट जानकारी पाए। वास्तविकता के रहेछ बुझ्ने प्रयास गर्छौ।’ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भने। उनीहरुको आन्दोलन अघि नै मन्त्रालयबाट जिल्लामा रहेका मिटरब्याजीहरु बारे निगरानी बढाउन निर्देशन आएकोले त्यसबारे गंभिर रुपमा लागि परेको प्रजिअ पोखरेलको भनाई छ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) ऋषिराम कँडेलले पनि मिडियामा आएको समाचारमार्फत जानकारी पाएको बताए। ‘कसैको जाहेरी परेको छैन। त्यसैले उनीहरुलाई पक्राउ गर्न नसकिएको हो। त्यसको अनुसन्धानमा लागि रहेका छौं।’ एसपी कँडेलले भने। 

के भन्छन् साहु ?
मिटरब्याजी साहुकाविरुद्ध काठमाण्डौंमा आन्दोलन भइरहँदा उनीहरुलाई ऋण दिएका साहुले भने अधिकांश ऋणीहरुले सावाँसमेत नदिएको दाबी गरेका छन्।

आन्दोलन गरे लिएको ऋण फिर्ता गर्न नपर्ने र जग्गा फुकुवा हुने भन्दै आफूविरुद्ध लागेका केही व्यक्तिहरुले ऋणीहरुलाई उचालेर काठमाण्डौं लगेको साहु सुनिल बनियाँको आरोप छ। ‘मसँग ऋण नलिएका पनि आन्दोलनमा छन्। ऋण नलिएकाले पनि मसँग लिएको छु भनेर अर्नगल प्रचार गरेका छन्। ब्याजको त कुरो छाड्नुस् अधिकांशले सावाँसमेत दिएका छैनन्।’ बनियाँले भने। १० वर्षअघि लिएको ऋणको अहिलेसम्म केहीले ब्याज मात्र होइन सावाँ पनि नबुझाएको उनले बताए। आफूले दृष्टिबन्धकमा ऋण दिने गरेपनि सात वर्षअघिबाट यो काम छाडेको उनको भनाई छ।

अहिलेसम्म १२/१५ जनालाई दृष्टिबन्धकबाट रकम दिएको बनियाँले बताए। ‘लामो समयदेखि लिएको ऋण नबुझाएपछि कानुनअनुसार ७/८ जनामाथि अदालतमा मुद्दा दिएको छु। अरुले दिन्छु भन्दै समयमा ब्याज बुझाउने गरेका छन्।’ बनियाँले भने। आफूले २० हजारदेखि चार लाखसम्म दृष्टिबन्धकबाट ऋण दिएको उनले बताए।

आफूहरुलाई मिटरब्याजीको संज्ञा दिएको प्रति उनले आपत्ति जनाउँदै भने‘मिटरब्याजी कस्तोलाई भन्छन्। ब्याजको स्याज अनि स्याजको पनि थप रकम लिदैं जानेलाई मिटरब्याजी भन्ने होला। मैले त सरकारी दस्तुर बुझाएर कानुनअनुसार दृष्टिबन्धक गरेर दिएको छु। सबैलाई एउटै घानमा राख्नु भएन। ’उनले भने। ऋण लिएको भन्दा पनि ६/७ गुना रकम लिएको भन्ने आरोप निराधार रहेको उनले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.