प्रांगारिक कृषि उत्पादन र प्रवर्द्धनमा जोड
स्याङ्जा : बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उद्धेश्यले आपसी सहयोग केन्द्र(आस्क) स्याङजाले जनप्रतिनिधिसहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा विशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिए। उनले भने, ‘छिटो र धेरै उत्पादन लिने नाउमा जथाभावी रासायनिक मल र विषादीका प्रयोगले माटोमा अम्लियपन बढ्नुका साथै स्वास्थ्यमा नकारात्मक असर पारेको छ। अब नियन्त्रण गर्न जरुरी छ।’
विषादीको विकल्पसहित प्रांगारिक कृषि उत्पादनमा सघाउ पुर्याउन आस्कले गरेको पहलले स्थानीय सरकारलाई सोच्नका लागि घचघच्याएको बताउदै प्रांगारिक उन्मुख कृषि बालि प्रवर्द्धनमा तत्काल सुरुवात गर्नुपर्ने उनका भनाई छ।
प्रांगारिक उन्मुख बाली प्रवद्र्धन नेपालका संयोजक रविन बोगटी, आक्स नेपालका अध्यक्ष रुकुमदत्त शर्मा, कार्यक्रम प्रमुख हरिप्रसाद ढकाल, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, द बजार पोखराका तुलसी गिरी, काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लादप्रसाद तिमिल्सिना, डेनमार्कका कृषि अर्थबिज्ञ डा नागरिक पाउलराय क्लेडलगायतले प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।
कुन बेला कुन कृषि उत्पादन गर्ने र उत्पादित बस्तुका ग्रेडिङ, प्याकेजिङ, ब्राण्डिङ र पहिचान खुल्नेगरी बजारीकरण गर्नुपर्नेमा सहजकर्ताहरुका भनाई थिए।
कार्यक्रममा भिरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, उत्पादन, प्रामाणीकरण बजारीकरण स्याङ्जाका संयोजक छायाँराम खनाललगायतले स्वस्थ्य रहन र बाच्नका लागि स्वस्थ्य माटो, स्वस्थ्य बिरुवा र स्वास्थ्य हुर्काई हुनुपर्ने बताउँदै बिषादीलाई नियन्त्रण गर्दे वैकल्पिक मलको प्रयोग गर्न र गराउन सुझाव दिँदै आफैंबाट सुरुवात गर्नुपर्नेमा जोड दिए।
त्रिकोण डेनमार्कको सहयोगमा आस्क नेपालले स्याङ्जा र काभ्रे जिल्लामा प्रांगारिक कृषि बाली प्रवर्द्धन परियोजना संचालन गर्दै आएको छ। स्याङ्जाको आधीखोला गाउँपालिका र भीरकोट नगरपालिकाका केही वडामा प्रांगारिक उत्पादन गर्दे आएको छ।
पुतलीबजारको मातुभूमि मावि बागेफड्केस्थित मैदान मावि र भीरकोटस्थित भाग्योदय माविका माध्यमिक तहमा अध्ययरत १ सय ६० जना बिद्यार्थीलाई समेत प्रांगारिक बाली तथा तरकारी उत्पादनका कक्षा संचालन गर्दै आएको अध्यक्ष रुकुमदत्त शर्मा भन्छन्।