गाउँमै पुगेर विपन्नलाई झुल र कम्बल
सिमरा : सशस्त्र प्रहरी परिवार महिला संघले बाराको ग्रामिण बस्तीमा पुगेर एक हजार दुई घर धुरीलाई पोलार कम्बल र झुल वितरण गरेको छ।
संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको नेतृत्वमा काठमाण्डौंबाट बारा आएको टोलीले जिल्लाको दुई नगरपालिका र एक गाँउपालिकाको ग्रामिण भेगमा पुगेर विपन्न वर्गलाई कम्बल र झुल वितरण गरेको हो।
निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र करैयामाई गाँउपालिकाको विभिन्न वडाका एक हजार दुई घर परिवारले कम्बल र झुल प्राप्त गरेका हुन्। प्रति व्यक्ति तीन थान झुल र एक थान कम्बलका दरले संघले कुल तीन सय ६ सय झुल र एक हजार दुई कम्बल वितरण गरेको थियो।
काठमाण्डौंस्थित फिटवेल गार्मेन्टको सहयोगमा निजगढ नगरपालिकाको वडा नं. ४, ६, १२ र १३ मा सात सय परिवार, कोल्हबी नगरपालिकाको वडा नं. ११ मा दुई सय परिवार र करैयामाई गाँउपालिकाको वडा नं. ६ र ७ मा दुई सय ५० परिवारलाई झुल र कम्बल वितरण गरिएको संघकी अध्यक्ष अर्यालले बताएकी छिन्।
संघले गर्दै आएको विभिन्न रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने क्रममा झुल र कम्बल वितरण गरिएको अर्यालले बताईन्। गर्मिको समयमा सुरक्षाको दृष्टिकोणले झुल अति महत्वपूर्ण रहेको भन्दै अर्यालले झुल र कम्बल वितरणलाई प्राथमिकतामा राखेको अर्यालको भनाई थियो।