योग महिमा
सबै सुखी होऊन्। सबै निरोगी होऊन्। भय र विपन्नतारहित जीवन होस्। योगको मर्म यही हो। आफूलाई चिन्न र खार्न अनि जीवन पद्धतिको सही प्रवद्र्धन गर्न योग आवश्यक छ। आन्तरिक खुसी अनुभूत गर्न र शरीर मनको मीठो रसास्वादन गर्न पनि योग प्राणायामको शतप्रतिशत भूमिका छ। जुन कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छ।
पतञ्जली योगपीठ, हरिद्धार, भारतका संस्थापकहरू स्वामी रामदेव तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण हुन्। योगको सन्देश प्रवाह गर्ने सिलसिलामा उनीहरू २०६४ सालमा नेपाल आएका थिए। त्यसपश्चात् हाम्रो देशमा योगको व्यापकता तीव्र रूपमा बढ्न सुरु गरेको थियो। हाल विकट वडादेखि संघीय राजधानी काठमाडौंसम्म योगमा सहभागी भएको पाइन्छ। हरेक बस्ती, टोलमा प्रत्येक बिहान योग अभ्यासका सत्रहरूको निरन्तरता देख्न पाइन्छ।
यस पवित्र अभियानमा पतञ्जली योग समिति नेपालका प्रमुख वरिष्ठ योगगुरु लवदेव मिश्र लागि परेका छन्। उनको नेतृत्वमा दक्ष योगशिक्षकहरू छन्। जसको संख्या नेपालभर ६३ हजारको हाराहारीमा छ। भौगोलिक र प्राकृतिक विकटताका बाबजुत पनि अनवरत रूपमा कर्तव्य पूरा गर्न लागि परेका छन्, योगशिक्षकहरू। उनीहरूको यात्रामा हरदिन साथ दिने प्रतिबद्धता हामी सबैबाट व्यक्त भएको छ। योग विधामा स्वास्थ्योपयोगी अंगमध्ये योगासान, प्राणायाम र ध्यानको महत्त्वपूर्ण स्थान छ।
योगासन शरीरका लागि अत्यावश्यक हुन्छ। यो शारीरिक व्यायाम हो। यसबाट हाडजोर्नी, मांसपेशी, मेरुदण्ड, पेट, छाती र भित्री अंगहरू सक्रिय र स्वस्थ हुन्छन्। रक्त सञ्चालनको गति बढ्छ। ग्लुकोज र चिल्लो पदार्थ पग्लिन्छन्। शरीरभित्रको ऊर्जा प्रयोगमा आउँछ र मुटु स्वस्थ रहन्छ। योगासनले दिनभरका लागि उर्जा प्रदान गर्छ भने अर्कोतर्फ यसले अघिल्लो दिनको थकानलाई समेत नष्ट गर्छ। योगासन र प्राणायामसँगै गरिने ध्यानले अनिद्रा छ भने त्यसलाई पनि हटाइदिन्छ।
प्राणायाम श्वास प्रश्वासको अभ्यास हो। शरीरभित्र प्रशस्त अक्सिजन प्रवेश गर्न नसकेको अवस्थामा यसले काम गर्छ। अक्सिजनयुक्त रगत, सूक्ष्म व्यायाम र सकारात्मक जीवनशैली नै त हो, प्राणायाम। अष्टांग योगअन्तर्गत भास्त्रिका, कपालभाती, उज्जाई, अनुलोम, विलोम, भ्रामरी, उद्गीत र प्रणव पर्छन्। यीमध्ये भास्त्रिका, अनुलोम, विलोम आदिबाट शरीरको रक्तकणमा पूरा अक्सिजन भर्ने काम हुन्छ।
कपालभातीले आदिबाट शरीरभरको आन्तरिक अवयवहरूलाई वैज्ञानिक रीतिले गति प्रदान गरी शक्तिको सञ्चार गर्छ। भ्रामरी, उद्गीत आदि गरे मानसिक श्रद्धा, समर्थता, आस्था, विश्वास र सकारात्मक चिन्तनलाई जागृत गराउँछ। यी सबैबाट मानवलाई एक स्वस्थ र चिन्तामुक्त जीवनको सुरुआत गर्न मद्दत पुग्छ।
प्राणायामद्वारा शरीरभित्र प्रविष्ट अक्सिजन, आन्तरिक व्यायाम र विश्रान्ति मिल्छ। जसका कारण शरीरको ‘सेल्फ रिअलाइजेसन, सेल्फ मेडिसिन, सेल्फ ट्रिटमेन्ट र एन्टी एजिङमा अति नै महत्त्वपूर्ण भूमिका खेल्छ। प्राणायामको माध्यमबाट अक्सिजन प्रविष्ट गराउँदा उपयुक्त समय, निश्चित विधि र सुनिश्चित मात्राका साथै सही वैचारिक दिशाका साथ गर्नुपर्छ।
यी काम प्रशिक्षणबाट मात्र पूर्ण ज्ञान हासिल गर्न सकिन्छ। ध्यान शरीरको स्नायु प्रणालीहरूलाई शान्त पार्ने विधि हो। यसबाट मानसिक तनाव व्यवस्थापन हुन्छ। जसले मन शान्त र खुसी हुन्छ। यी कार्यका लागि योग अनुरागीले दिव्य योगको ज्ञान लिन सक्नेछन्। विशेष अनुरोध के छ भने आफू र देशभर हरेक तप्काका नागरिकमा यस पवित्र योगको सन्देश प्रवाह गर्नु आवश्यक छ।
योग र ध्यानको यस कार्यमा सबै महान् नेपाली नागरिक जोडिन आवश्यक छ। रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी भन्ने त पढेसुनेकै हो। तर यति एउटा वाक्यलाई जीवनमा आत्मसात गर्न सकेनौं भने समस्या परिरहन्छ। हामी धेरै अस्पताल धाउन राजी छौं। त्यहाँ खर्च गर्न सक्छौं, औषधिमा हजारौं रकम खर्चिन सक्छौं। तर, योग र ध्यान केन्द्र गएर बेलैदेखि ज्यान स्वस्थ्य बनाउन जाँगर नै चलाउँदैनौं। त्यसैले सबैले योग गर्ने बानी बसालौं। कतै जान नसके वा मन नलागे, घरैमा एक, डेढ घन्टा यसमै बिताऔं।
- पूर्वडीआईजी महत पतञ्जली योग समिति, नेपालका संरक्षक हुन्।