स्याङ्जामा आँप-लिची जोन संचालन
स्याङ्जा : प्रायजसो तराईका भूभागमा उत्पादन हुने आँप र लिची स्याङ्जामा पनि गरिने भएको छ। तराईका वातावरणसँग मिल्दोजुल्दो हावापानी भएका कारण पहाडी जिल्लामा पहिलो र एकमात्र आँप र लिची जोन संचालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले जनाएको छ।
स्याङ्जाका दक्षिण पूर्वी भेग मिलाएर आँप लिची जोन बनेको छ। चापाकोट नगरपालिकाका सबै वडा र गल्याङ् नगरपालिकाका ५ वटा वडा मिलाएर आँप र लिची जोन बनाइएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा अन्तर्गत जिल्लाका यी २ नगरपालिकाका भूभाग समेटेर जोन बनाई परियोजना संचालन सुरु गरिएको प्रमुख माधव लम्सालले जानकारी दिए।
चालु आर्थिक वर्षदेखि चापाकोटका १० वटै र गल्याङका कालीगण्डकी किनारका वडा नं. १, २, ३, ९ र १० वडालाई समेटेर आँप र लिची जोन संचालनमा ल्याइएको हो। समथर भूभाग र गर्मी हावापानी भएका कारण यस क्षेत्र आँप र लिचीको उर्वर क्षेत्र हो। रैथाने जातका आँप र लिचीको उत्पादन पनि अत्यन्तै राम्रो छ। प्रशस्तरुपमा आँच र लिचीका बगैंचा छन् यहाँ। यहाँका प्रायजसो सबैका घरघरमै आँप र लिचीका बोट छन्।
आधुनिक कृषि प्रविधिको उपयोगसँगै बगैचाको उचित ब्यवस्थान गरेर उत्पादकत्व बढाई सहज बजारीकरणसँगै आयआर्जन बढाउने परियोजनाको मुख्य उद्धेश्य रहेको प्रमुख लम्सालको भनाई छ। जसका कारण किसानलाई प्रत्यक्ष लाभ मिल्नेछ उनले थपे।
किसानका माग बमोजिम जोन संचालनमा ल्याइएको हो। यहाँका किसानहरुका भेलाले चापाकोट र गल्याङ्का किसान समेटेर विश्वास पुरीको संयोजकत्वमा ९ सदस्यीय आँप लिचि जोन संञ्चालन समन्वय समिति गठन भएको छ। समितिले बगैंचा ब्यवस्थापनदेखि विरुवा रोप्नेसम्म र किसानलाई आवश्यक पर्ने कृषि औजार तथा मेशिनरी लगायत सिंचाईका योजनासम्मका काममा समन्वयको काम गर्ने छ।
अहिले आँप लिची रोप्नका लागि खाडल खन्ने काम पूरा भएको छ। यसबर्ष झण्डैं सय हेक्टर क्षेत्रफलमा आँप र लिचीका बिरुवा लगाईने लक्ष्य छ। चितवनबाट १० हजार वटा बिरुवा खरिदगरी ल्याउने तयारी भैरहेको परियोजना प्रमुख लम्सालले जनाए। उनका अनुसार, ‘आम्रपाली’ जातका आँप र ‘शाही’ जातको लिची रोपिने भएको हो। यी दुबै फलले ३/३ वर्षमै उत्पादन दिनेछन् र रैथाने भन्दा निकै कम उचाईका हुनेछन्।’
विभिन्न ब्यक्ति, फर्म, समूहगरी जोनमा १ सय जना किसान सूचिकृत छन्। प्रतिब्यक्ति २ सय रोपनीसम्म आँप र लिची रोप्न तयारी छ। मलखाद, खाद्यतत्व, रोगको उपचारलगायतका बारेमा प्रशिक्षित गराईएको छ। यसअघिका उत्पादन दिईरहेका पुराना बोटमा कीटनाशक औषधी छर्कनेसम्मका काम भएको संयोजक पुरीले बताए।
परियोजनाले यहाँका ५ सय हेक्टर क्षेत्रफलमा आँप र लिचीका बिरुवा रोपेर चापाकोट र गल्याङ् नगरपालिकाका किसानका आयस्तरमा बृद्धि गर्ने लक्ष्यसहित परियोजना संचालनमा ल्याइएको प्राबिधिक प्रमुख इन्द्र सुवेदीको भनाई छ।