स्कुलपछि सिटी चलाउने पंकज, सिटी चलाएरै तीन दाजुभाइको पढाइ र घर खर्च चलाउँदै
विराटनगर : विराटनगर ११ का पंकज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउछँन्। यस वर्ष कक्षा १० को एसईई परीक्षा दिएका राउतले कक्षा ८ देखि नै विद्यालय समय बाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आएका छन्। परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकोले उनको आम्दनीबाट घरपरिवार चलाउनुको साथै पढाइ खर्च जुट्छ।
बुवाको द्योगमा लडेर हात भाँचिएपछि राउत सानै उमेरदेखि सिटी सफारी चलाउन लागेको बताउँछन्। १९ वर्षीय राउत दैनिक १० घण्टाभन्दा बढी समय सिटी सफारी चलाउँछन्। एसईईको परीक्षा दिएपछि उनले बिहानदेखि नै सिटी लिएर बजार जाने गरेको बताए। स्कुल हुँदा सिटी चलाएर दैनिक ५ सयदेखि ८ सयसम्म आम्दनी गर्ने गरेका थिए भने अहिले दैनिक १२ सयसम्म आम्दनी गर्ने गरेको बताउँछन्।
विराटनगर स्थित जनपथ माविमा अध्ययन गर्ने राउतले पढाइमा पनि प्रथम हुँदै आएका थिए। समाजिक काममा समेत विभिन्न परोपकारी अभियानमा लागेका उनको एसईईको नतिजापछि रुची अनुसारका कलेज पढ्ने सपना छ। होटल म्यानेजमेन्ट पढ्ने योजना बनाएका उनले अब विचार फेरिएको बताए।
घरमा आमा बुवाको सेवासहित दुई भाइलाई पढाउनु पर्ने जिम्मेवारीले उनले कमर्स पढ्ने योजना बनाएको सुनाए। कक्षा १० मा पढ्ने आषीश राउत र कक्षा ६ मा पढ्ने कृष्ण राउतलाई उच्च शिक्षा दिन आफूले दिनरात मेहनत गर्ने उनले बताए। घर खर्चको लागि साहुसँग लिएरको रिण चुकाउनु पर्ने भएकाले उनले बुवा अजय राउत र आमा पंकी राउतलाईसमेत ठेला किन्दिएर आँप बेच्ने कामको सुरवात गरेका छन्।