त्रियुगाको बजेट १ अर्ब बढी
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा आर्थिक वर्ष ०७९/८० मा १ अर्बबढी रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिएको छ। नगरपालिकाको शुक्रबार सम्पन्न नवौं नगरसभामा मेयर बसन्तकुमार बस्नेतले आगामी आर्थिक वर्षमा विभिन्न शिर्षकमा गरी १ अर्ब २३ करोड ५३ लाख ३० हजार ४४० रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन्।
आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्रप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा गरी १२ वटा विषय वस्तुलाई प्राथमिकिकरण गरी बजेट ल्याइएको मेयर बस्नेतले बताए।
प्राथमिकतामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातवरणिय संरक्षण तथा सम्वर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम ल्याइएको उनले बताए।
बजेटमा आन्तरिक आम्दानीतर्फ विभिन्न २० वटा शिर्षकमार्फत २१ करोड २८ लाख ६४ हजार ४४० अनुमान गरिएको छ। त्यसैगरी नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी ८६ करोड ५ लाख, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६६ हजार अनुमान गरिएको छ।
सभाले जनतासँग मेयर, उपमेयर, विपद, सुरक्षित आवास, विद्युतिकरण शिर्षकमा बजेट वाँडफाँड गरेको छ। त्यस्तै आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण, विपद् र फोहोरमैला, संस्थागत क्षमता विकास शिर्षकमा ७ करोड ९८ लाख २३ हजार ४४० र प्रत्येक वडामा १ करोड २५ लाखका दरले बजेट विनियोजन गरिएको उपप्रमुख महेश्वरी राईले बताईन्।