कटारी नगरपालिकाको बजेट ७६ करोड
उदयपुर : उदयपुरको कटारी नगरपालिकामा आगामी आर्थिक वर्षमा ७६ करोड बढी बजेट विनियोजन गरिएको छ।
नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा मेयर राजेशचन्द्र श्रेष्ठले आर्थिक वर्ष ०७९/८० मा विभिन्न शिर्षकमा गरी ७६ करोड ४२ लाख ६२ हजार ५५० रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ ३ करोड ८३ लाख ६० हजार, वितिय समानिकरण अनुदान (संघिय) १२ करोड ३७ लाख, प्रदेश वितिय समानीकरण अनुदान ६६ लाख २१ हजार, संघीय राजश्व बाँडफाँड १५ करोड ९२ लाख ९६ हजारको अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश राजश्व बाँडफाँड २ करोड ९ लाख ५५०, प्रदेश समपुरक काष अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ४१ लख ९५ हजार र संघीय सशर्त अनुदान ३९ करोड २ लाख, समपुरकतर्फ १ करोड १० लाख रहेको उपमेयर गिता खड्काले बताईन्।
कुल बजेटमध्ये सशर्त अनुदान तर्फ संघ र प्रदेश सरकारले कार्यक्रम नै तोकेर ३९ करोड ४३ लाख ९५ हजार बजेट विनियोजन गरेको उनले बताए। नगरसभाले संघ र प्रदेशले विनियोजन गरेको बजेट बाहेक ३६ करोड ९८ लाख ६८ हजार ५५० विषयगत क्षेत्रमा विनियोजन गरेको छ।
सभाले नगर क्षेत्रभित्रका विकास निर्माणको लागि नगरपालिकाको गुरुयोजना निर्माण गर्ने, नगर विकास योजना, विपद व्यवस्थापना योजना, स्थानीय उत्पादनको प्राथमिकता तथा वजारीकरणको व्यवस्थापन वृक्षारोपण तथा बन संरक्षण, पार्कहरुको निर्माण तथा संरक्षण जलश्रोत विकासमासमेतको नीति बनाएको छ।
जलश्रोत तथा भूमि क्षेत्रतर्फ नगरको पहाडी क्षेत्रमा हावापानी र माटो सुहाउँदो अदुवा खेती, अलैची, अम्लिसो, चियाखेती, फलफूल खेती जस्ता कृषिजन्य उत्पादनलाई प्रोत्साहित र प्रर्वद्धन गर्ने लिइएको उपमेयर खड्काले बताईन्।