नदीसँगै बग्छन् सुकुमबासीका सुस्केरा
काठमाडौं : टहरोभित्र जीवन काट्नेलाई जसरी दुःखको भारीले थिचेको छ, त्यसैगरी छानोलाई ढुंगा र टायरले थिचेको भान छ। गगनचुम्बी महलनजिकै देखिने यस्तै टहरामा बस्छन्, काठमाडौंका गरिब सुकुमबासीहरू। काठमाडौं सहरको बीचबाट बग्छ, बाग्मती नदी। किनारमा लस्करै साना–ठूला छाप्रा छन्। इँटा र ब्लकले भित्ता ठडिएका छन् अनि टिनले छाएको छानो।
कोही साहुले उठीबास लगाएका कारण बाग्मती किनारको सहारामा आए त कोही बाढीले सताएर गाउँबाट लखेटिएर आइपुगे। कोही केही नभएर काम र मामका खोजीमा सहर पस्ने क्रममा किनाराको सहारामा आइपुगे। यसरी विभिन्न कारणले जोडिएर नदीकिनारसँग साक्षात्कार गर्नेहरूको बाग्मतीसँगको यो सम्बन्ध पनि दशकौं पुरानो भइसकेको छ। भाले बासेपछि झिसमिसे बिहानीमै भारी बोक्न कोही असनको गल्लीतिर धाउँछन् त कोही काम खोज्दै बजार। कोही आँखा मिच्दै आफ्नै टहराको पसल खोल्न हात लम्काउँछन्।
बस्तीका कति त परिवारलाई थन्क्याएर कमाउन विदेश पनि गएका छन्।
काठमाडौं उपत्यका नदीकिनारहरूमा अधिकांश दलित तथा गरिब विपन्न परिवारको बसोबास छ। नेपाल राष्ट्रिय संयुक्त सुकुमबासी मोर्चाका उपाध्यक्ष राजु तामाङका अनुसार काठमाडौं उपत्यकाको नदीकिनारमा ६३ टोल छन्। जहाँ करिब ४ हजार ६ परिवारका झन्डै ३६ हजारको बसोबास छ। २००७ सालदेखि गोदाबरी नदीकिनारमा सुकुमबासीको बस्ती बसेको तथ्यांक पाइन्छ। २०६० सालसम्म नदीकिनारहरूमा उनीहरूको अन्तिम बसोबास गरेको पाइन्छ। बाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला किनारमा सुकुमबासीको बाक्लो बस्ती छ।
नदीकिनारको दुर्गन्धमा बस्न कसलाई मन हुन्छ र ! जीवनको गोरेटोमा कयौं हन्डर खाँदै मानिस बाग्मतीको किनारमा आइपुगेका छन्। जसलाई पसिना बगाउँदा पनि छाक टार्न धौधौ पर्छ। बिरामी परे उपचार पाउन मुस्किल छ। वर्षात्मा उही बाग्मती नदीले डुबाउँछ, जसले ज्यान ओताउने छाप्रो अड्याउने आडभरोसा दिएको छ। जेनतेन वर्षा कटाउने उनै सुकुमबासीलाई पुस–माघको जाडोले पनि उति नै सताउँछ। फेरि वैशाख–जेठको चर्को घामले नदीको ढल गन्हाएर बस्ने कठिन हुन्छ। बस्तीमा न बाटोघाटोको ठेगान छ न त खानेपानीको।
बाग्मती नदीकिनारमा करिडोर बनाउने योजनामा छ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको। समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्याल भन्छन्, ‘सुकुमबासी बस्ती व्यवस्थापन नहुँदा करिडोर विस्तारमा अवरोध पुगेको छ। बस्ती व्यवस्थापनका लागि सुकुमबासीको तथ्यांक संकलन गर्ने काम भइरहेको छ।’
साहुबाट लखेटिएका वीरबहादुर
काठमाडौंको गैरीगाउँको बाग्मती किनारमा बस्छन्, वीरबहादुर परियार। नाम वीरबहादुर भए पनि गाउँको साहुबाट लखेटिएको पात्र हुन्, उनी। उमेरले ६५ वर्ष टेक्दैछन्। बुढेसकालको उनको जीवनले अझै सुकुमबासीको बिल्ला भिरेको छ। उनको सारा जिन्दगी भारी भोक्दै र सन्तान हुर्काउँदैमा बित्यो। सिन्धुपाल्चोकमा जन्मेर काभ्रेमा हुर्केका अनि माम र पसिनाको दामको खोजीमा काठमाडौं पसेको पनि १८ वर्ष भइसकेको छ।
‘उहिले दसैंका बेलामा मात्र भात खान पाइन्थ्यो हामी गरिबले। बाजेले पाँच पाथी साहुसँग धान लियो। बुवाले चुक्ता गर्न सक्नु भएन’, उनी भन्छन्, ‘जग्गा त कच्याककुचुक गरेर पाँच रोपनी थियो रे। त्यो पनि साहुले खाइदिहाल्यो।’ अनि उनको परिवार गरिबीको मारले सिन्धुपाल्चोकबाट लखेटिएछ। काभ्रेको पाँचखालमा सरेपछि उनीहरू भाडामा कोठा लिएर बस्न थाले। ज्याला मजदुरी गरेर तीन सन्तान हुर्काए। ‘आधा कमाइ साहुलाई बुझाउँथें। बाँकी अन्नले परिवारलाई वर्षदिन पुग्दैनथ्यो। साहुले भएभरको जग्गा पनि खाइदिहाल्यो। त्यहाँबाट उठीबास भयो। काभ्रेको पाँचखालमा कोठा लिएर हामी बस्न थाल्यौं।’
छोराहरू ठूला भएपछि कमाउन काठमाडौं पसे। वीरबहादुर श्रीमती पुतली परियारलाई लिएर उनीहरूसँगै सहर हानिए। वीरबहादुर सिलाइ मेसिन चलाउँछन्। त्यसबाटै जीविका चलाउँछन्। भन्छन्, ‘यही त हो नि टेलरको काम। राम्रोसँग ध्यान दिएर गरे तीन, चार सय दिनमा कमाइ भइजान्छ।’ उनले सिलाइ काम गरेर तीन छोरा पढाए। खुवाइपियाइ गरेर हुर्काए। उनी भन्छन्, ‘जिन्दगीमा दुःख त कति गरियो कति ? जीवन चलाउन रातभरि इँटा पनि बोकियो।’ तीनै छोरा अहिले मनोहरा नदीकिनारमा बस्छन्।
‘बाग्मती किनारबाट हामीलाई हटाउने हल्ला सुन्दैछु। कुनै ठाउँमा बसोबास मिलाई दिन्छन् कि ? यही आसमा छौं हामी गरिब त’, उनी भन्छन्। नदीकिनारमा बस्दा कस्तो समस्या हुन्छ ? थप्छन्, ‘जसको कर्मै फुटेको छ। त्योभन्दा अरू के हुन्छ ? कहिले गाडी हुत्याएर ल्याउला कि अनि कहिले नदी बहुलाएर आउँला कि ? भन्ने पीरले दिनहरू बित्छन्।’ उनलाई बाग्मती नदीकिनार बिक्री भइरहेको सुन्दा अचम्म लाग्छ। जसको घर अगाडि नदीकिनारमा खाली ठाउँ छ उसले बस्न खोज्नेसँग रुपैयाँ लिएर टहरो बनाउन दिन्छ। वीरबहादुरले २० हजारमा दुई कोठे टहरो बनाउने जग्गा किनेको सुनाए।
वीरबहादुर राजतन्त्रविरुद्धको आन्दोलनमा खाली खुट्टा कति हिँडे कति। चुनावमा पनि नहिँडेका होइनन्। तर, एक टुक्रा जग्गाको लालपुर्जा पनि यो जुनीमा उनको हातमा पर्न सकेको छैन। जनआन्दोलन सम्झिँदै उनी थप्छन्, ‘कति हिँडियो, दुःख पाइयो। मैतीदेवी, कमलपोखरी, सिंहदरबार, राजदरबारसम्म हामी नाराजुलुस गर्दै कयौं दिनको आन्दोलनमा हिँड्यौं।’ देशमा जो पनि नेता आफ्नै लागि त गर्ने रहेछन् नि भन्ने बुझेका छन् उनले। ‘हाम्रा लागि कसले के नै गर्ने हुन् र ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘कसले हेर्छ गरिबलाई ? उनीहरू सरकारी पैसा खाने, ५ तला ६ तला बिल्डिङ बनाउने, बस्ने। नयाँ सरकार आए पनि गरिबलाई के भयो ? केही छैन।’
सुकुमबासीलाई चिनेर सरकारले न्याय दिनुपर्ने वीरबहादुरको भनाइ छ। ‘हामी सरकारको जनता हौं। कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्दैन’, भन्छन्, ‘सरकारले सबै गरिबलाई राम्रो गर्नु प¥यो। पुलमुनि र बाटोमा हामी सुत्न मिलेन। हामीलाई जहाँ भए पनि थिति र ठेगानसँग राखिदिनु प¥यो।’
पुल विस्तारले नदीकिनारको बास
हरि सुवेदीको उमेर त्यस्तै ५० वर्ष जति भएको होला। सिनामंगलस्थित गैरीगाउँमा उनी बस्छन्। उनको घरनजिकै सिनामंगलको पुल भत्कियो। नयाँ पुल विस्तार भयो। अरूलाई आउजाउ गर्न सजिलो त भयो। तर, हरिको भने हरिबिजोग छ। उनी मात्रै होइन, नयाँ पुलसँगैको बाटो विस्तारले उनीसहित ६ परिवारको उठीबास लाग्यो। उनीहरूको बास बाग्मती किनारमा पुग्यो, टिनको छाप्रोमा। अब त उनीहरूको त्यहाँबाट उनी उठीबास लाग्दैछ। किनकि बाग्मती किनारमा करिडोर निर्माण भइरहेको छ।
‘अब हामी कहाँ जाउँ ? नदीकिनारमा सडक विस्तार हुँदैछ’, उनी भन्छन्, ‘नदीकिनारमा ढुंगाको वाल निर्माण भइरहेको छ। बाटो बनाउने सुन्दैछु। सरकारको काम त हामीले रोक्दैनौं। तर, हामीलाई सरकारले व्यवस्थापन गर्नुपर्छ।’ हरिको छिमेकी सुनिता चौधरीको पनि बसोबास गैरीगाउँको बाग्मती किनारमै छ। उनको पनि आफ्नै जग्गा थियो। तर, पुलसँगैको बाटो विस्तारकै क्रममा उनी सुकुमबासी भइन्। सुनिताको छिमेकी समिता बिशंखेको पीडा पनि उही छ। नयाँ पुल विस्तारले अरू सबैले सुख पाए। तर, उनको उठीबास भयो।
‘हाम्रो ६ जनाको परिवार नदीकिनारमा बस्छ। नदीको किनारमा अब बाटो विस्तार हुन्छ रे, कहाँ जाने ? सरकारले हाम्राबारे सोचिदिनु प¥यो’, सुनिताले भनिन्। उनको कुरामा हरिले थपें, ‘खोला किनारमा बस्न त समस्यैसमस्या छ। खोला पूरै दुर्गन्धित छ। बाढी आउँदा डुबाउँछ भन्ने डर। राति गाडी दौडिएर आउँदा गाडीले हान्देला भन्ने पीर। बाढी आउँदा रातभर जाग्राम बस्नु पर्छ।’ जाडोमा नदीकिनारको बास निकै सकसपूर्ण हुने गरेको उनीहरू बताउँछन्।
गीताको पनि उस्तै दुःख
बाग्मती किनार। वरिपरि ठूला महल। सिनामंगलबाट पश्चिम छ, बाग्मती नदी। सडकभन्दा दक्षिणतिर टिनले छाएको घर नम्बर– ए १३१। जहाँ बस्छिन्, गीता विश्वकर्मा। ६९ वर्षको बुढ्यौली उमेर। पावरवाला चस्मामा अडिएको छ, उनको दृष्टिको सहारा। ५५ वर्षदेखि उनी गैरीगाउँको नदीकिनारमा बस्दै आएकी छन्। तर, सुकुमबासी जीवन। बुढेसकालमा पनि उनलाई थातथलोकै चिन्ता छ। उनको परिवार पुस्तौनी सुकुमबासी हुन्। बसेका ठाउँबाट उठीबास हुने उनलाई चिन्ताले सताएको छ। न राति निद्रा लाग्छ, न दिनमा राम्रोसँग भोक अनि प्यास। गीताले जीवनभर सुकुमबासीको बिल्ला भिरिन्। सरकारले एक टुक्रा जग्गा दिएर पनि बसोबासको टुंगो लगाइदिएन।
कयौंपटक उनी आँसुको भेलसँग पौठेजोडी गरेर नयाँ जीवन बाँचेकी छन्। ११ वर्षअघि उनले पति सानुमानलाई गुमाइन्। त्यसअघि सासूससुरा पनि। उनले यही जीवनमा पाँच सन्तानमध्ये दुई गुमाउँदा ठूलो पीडा भोगिन्। सुुकुम्बासीको बिल्ला भिरेरै गरिबले जीवन त्यागे। उनीहरूको बासस्थानको भने सरकारले अझै टुंगो गराउँदैनन्। ‘२० वर्षकी छोरी दीपा र २८ वर्षकी छोरो शनि विश्वकर्मा दुवै बिरामी भएर केएमसी हस्पिटलमा प्राण त्यागे। दुवै बिरामी भएका थिए। कालले खोस्यो।
पढ्दै थियो र पढ्दापढ्दै बित्यो’, उनले भनिन्, ‘अब हाम्रो छोरोछोरी, नातिनातिना गरी ९ जनाको परिवार छ। घर भत्काए हामी कहाँ जाने ? हामी उहिलेदेखि बसेको। कतिपल्ट भत्काउन आइसक्यो तर सकेको छैन। अब खोइ के हुन्छ ?’
बाग्मती किनारमा सुकुमबासी मात्रै छैनन्, केही धनीमनी पनि छन्। ‘छानबिन गरेर को को सुकुमबासी छन् ? उनीहरूलाई सरकारले हेर्नुपर्छ, सहयोग गर्नुपर्छ। हुने र नहुने छानबिन गर्नुपर्छ’, गीता भन्छिन्, ‘हुनेले पनि सुकुमबासी भनेर बसिदिएका छन्। नहुने त बस्ने नै भए। सुकुमबासी भनिएका धनीका कारण खास सुकुमबासी हामीलाई मर्का परेको छ।’
बाढीले लेखेटेपछि फेरि नदीकिनारमै
दिलकुमारी मगर बाढीबाट लखेटिएर २०५७ सालमा सर्लाहीबाट काठमाडौं आइन्। उनी भन्छिन्, ‘२०५० साल बाग्मतीले घर बगायो। हामी अर्काकै जग्गा जमिनमा बसेका थियौं। जहाँ भए पनि बसेर त खाने हो नि भनेर काठमाडौं आयौं।’ सरकारले गरिबलाई जग्गा दिएर घर बनाइदिनु पर्ने उनको माग छ। टीकाराम परियारको ६ जनाको परिवार २०४६ सालदेखि बाग्मती किनारमा बस्छन्।
गरिबीको चक्कीमा पिसिएका टीकारामका बुवा धनबहादुर मामको खोजीमा सर्लाहीको लालबन्दीबाट काठमाडौं सहर पसेका थिए। सुकुमबासी जीवनमै उनको निधन भयो।
‘थुप्रो भयो नदीकिनारमा बसेको। हाम्रो बस्ने अन्त कतै ठाउँ छैन’, उनले भने, ‘जे जे काम भेटिन्छ, त्यही त्यही काम गर्ने हो। ज्याला मजदुरी।’ एकपटक दसैं मान्दै गर्दा नदीको भेल उनको कोठामा छि¥यो। दसैंमा पनि बाटोमा पाल टाँगेर बसे उनीहरू। भन्छन्, ‘बर्खामा खोलाको बाढी प्रत्येक वर्ष सुकुमबासी बस्तीमा पसेर दुःख दिने गरेको छ। कहीँ कतै नपाएर खोलाछेउमा बसेका छौं।’ चुनावताका लालपुर्जा दिने भन्दै नेताहरूले सुकुमबासी बस्तीमा आश्वासन बाँडेका छन्। विडम्बना, जितेर गएपछि गाउँ पस्दैनन्। ‘ढलको छेउमा गरिब बस्न बाध्य छौं। तीन खेप भोट हालिसक्यौं। चुनावताका सबै नेताले तपाईंहरूको समस्या समाधान गरिदिन्छौं भन्छन्’, उनी भन्छन्, ‘तर, जितेर गएपछि मुख देखाउन आउँदैनन्। के गर्ने ? हामी ठगेको ठगै गर्छन्।’
आइतीमाया माझी खोलाको पुलमा मकै बिक्री गरेर जीवन चलाउँछिन्। भन्छिन्, ‘नदी बाग्मती किनारमा बसेको २० वर्ष भयो। अब कहाँ जाने ?’ गैरीगाउँमा बस्ने ३१ वर्षीय सुमन राई पेन्टिङको काम गर्छन्। उनी भन्छन्, ‘सुकुमबासी जीवन बाँच्न अति कठिन हुँदोरहेछ। बस्तीमा नुहाउने पानी पनि छैन, पिउने पानीको कुरो त परैको हो।’
‘बसेकै ठाउँमा बास होस्’
२०५७ सालदेखि गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सीता थापा बस्दै आएकी छन्। जीवन धान्नै कठिन भएपछि तनहुँबाट उनी बाग्मती किनारमा आएर बसेकी थिइन्। ‘वर्ष दिन काम गर्दा ६ महिना खान नपुग्ने हामी गाउँबाट पेट पाल्न काठमाडौं पसेका थियौं’, उनी भन्छिन्, ‘श्रीमान् ज्याला मजदुरी गर्नुहुन्छ। म सानो पसल गरेर खान्छु।’
थापाले अहिले बसेको ठाउँमा सरकारले व्यवस्थित गरिदिए आफूहरूको राम्रो हुने बताउँछिन्। ‘लालपुर्जा दिएर यहाँको बस्तीलाई यही व्यवस्थित गरिदिनु पर्छ। गरिखाने ठाउँमा हाम्रो व्यवस्थापन गर्नुपर्छ। यहाँबाट चोभारको डाँडामा थुपारिदिए भने के काम ?’, उनी थप्छिन्। गैरीगाउँमै बसोबास भयो भने धनीमानीका घरमा भाँडा मोलेर पनि सुकुमबासीले गरिखाने उनको बुझाइ छ। ‘अन्तै टाढा लगेर राख्यो भने के खाने ? एक कोठा किन नहोस्, जहाँ बसेका छौं, त्यही बस्न दिनुपर्छ’, उनी सरकारसँग आस गर्छिन्।
गैरीगाउँस्थित बाग्मती किनारमा बस्दै आएकी रामकुमारी श्रेष्ठ एकल महिला हुन्। २०४५ सालमा रामेछापबाट काठमाडौं आएकी थिइन्, श्रीमान्सँगै। पाँच वर्षअघि उनका पति खसे। ‘गाउँमा केही छैन हाम्रो। काम गरेर खान नपुगेर सहरमा आयौं। सात जनाको परिवार छ’, उनी भन्छिन्, ‘सरकारले अन्त सारिदियो भने कमाएर खान गाह्रो छ।’
सुकुमबासीको तथ्यांक संकलन गरिँदै
नदीमा रिटेनिङ वाल लगाएर खोलाको दुवै किनारमा २०–२० मिटर सडक विस्तार गर्न अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले योजना बनाएको छ। तर, नदीकिनारमा सुकुमबासी बस्ती छ। त्यसैले काम अगाडि नबढेको समितिको भनाइ छ। ‘नदीकिनारमा अव्यस्थित बस्तीले बाग्मती नदी प्रदूषित भइरहेको छ। करिडोर तथा नदीकिनारको ब्युटिफिकेसनको काम हुन सकेको छैन’, उनी भन्छन्।
बाग्मतीसहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो। समितिका सदस्य वीरेन्द्र थपलियाको अध्यक्षतामा बनेको ७ सदस्यीय कमिटीलाई समितिको कार्यक्षेत्रभित्रका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला पक्षसँग समन्वय गरी प्रारम्भिक खाका तयार गर्ने र दीर्घकालीन निक्र्योल निकाल्न जिम्मा दिएको छ। त्यो समितिले अहिले सुकुमबासीको तथ्यांक संकलन गरिरहेको छ।
‘बाग्मती किनारबाट हामीलाई हटाउने हल्ला सुन्दैछु। कुनै ठाउँमा बसोबास मिलाई दिन्छन् कि ? यही आसमा छौं हामी गरिब त ।’
वीरबहादुर परियार, गैरीगाउँहुने र नहुने छानबिन गर्नुपर्छ। हुनेले पनि सुकुमबासी भनेर बसिदिएका छन्। नहुने त बस्ने नै भए। सुकुमबासी भनिएका धनीका कारण खास सुकुमबासी हामीलाई मर्का परेको छ।
गीता विश्वकर्मा, गैरीगाउँ‘सुकुमबासी बस्ती व्यवस्थापन नहुँदा करिडोर विस्तारमा अवरोध पुगेको छ। बस्ती व्यवस्थानका लागि सुकुमबासीको तथ्यांक संकलन गर्ने काम भइरहेको छ।’
कमल अर्याल, इन्जिनियर एवं सूचना अधिकारी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति