अर्जुनचौपारीको नीति : सेवासुविधाको १० प्रतिशत लोककल्याणकारी काममा
स्याङ्जा : ‘भ्रष्टाचारमा शून्य सहनशीलता, जवाफदेहिता र मितव्ययीता’लगायतका विभिन्न नीति कार्यक्रम, बजेट पारित गर्दै अर्जुनचौपारीले यसवर्षको सभा सम्पन्न गरेको छ।
गाउँपालिकका अध्यक्ष प्रकाश तिवारीले एघारौं सभामा बोल्दै अर्जुनचौपारी बजार क्षेत्रभित्र सडक बत्ती, सीसीटीभी, सार्वजनिक शौचालयको निर्माण गर्नेलगायतका विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। जनप्रतिनिधिले आफ्ना सेवासुविधाको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने र सो रकम लोककल्याणकारी काममा खर्चिने जनाएको छ।
पालिकाले जलबराह, पञ्चकन्या मन्दिर–केटिचौरलाई पालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास, डहरे देउराली, थाप्ले, एकानन्द गुफा, शिला, रापाकोट कालिका, तामुलेक, रामसीता तालमा ग्रामिण पर्यटन पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने र पदमार्गले जोड्ने योजनालाई पनि पालिकाले क्रमशः अगाडि बढाउँदै लैजानेगरी नीति तथा कार्यक्रममा समावेश गरेको छ।
पालिकाको निर्माणाधीन प्रशासकीय भवन सम्पन्नतामा जोड, फोहरमैला प्रशोधन केन्द्र, अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा, सबै जातजातीका महिलाको नेतृत्व विकास र परिचालन, दलित उत्थान केन्द्र, रोजगार समन्वय ईकाइ स्थापना, अति विपन्न परिवारको आर्थिक सुधारको लागि बीउ पूँजीको रुपमा प्रत्येक व्यक्तिहरुलाई दुई २ हजार ३ सय रुपैंया उपलब्ध गराइने नीति छ।
वैदेशिक रोजगारीबाट फर्किएका तथा यही रहेका युवाका क्षमता अभिबृद्धिगरी हस्तकाला, प्लम्बिङ, बिजुली मर्मत, सिकर्मी, डकर्मी, ड्राइभिङ जस्ता सीप बिकास तालिम उपलब्ध गराउने कार्यलाई पालिकाले प्राथमिकतामा राखेको छ।
माध्यमिक तहको शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान, माध्यामिक तहमा वित्तीय साक्षरता शिक्षा संचालन गर्ने पालिकाले लक्ष्य लिएको छ।
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट प्रस्ताव पारित गरेको छ। पालिकाका उपाध्यक्ष सपना गुरुङ्द्धारा प्रस्तुत बजेटमध्ये १४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुजीगत तर्फ र ७ करोड ३९ लाख ३० हजार रुपैंया चालु खर्च तर्फको छ।
आगामी वर्षको अनुमान गरिएको बजेटमा नेपाल सरकारबाट बित्तिय समानिकरण अनुदान ९ करोड चार लाख, राजस्व बाँडफाँडबाट ६ करोड ७८ लाख २५ हजार छ।
सशर्त अनुदानमा १८ करोड ४८ लाख, संघिय बिशेष अनुदान २ करोड ३० लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरण ९८ लाख ३९ हजार, समपुरक अनुदान ५० लाख, शसर्त अनुदान ५० लाख, प्रदेश राजस्व बाडफाड ३७ लाख ५५ हजार, संघ समपुरक ७० लाख, आन्तरिक राजस्वबाट ५५ लाख र अल्यातर्फको ४ करोड खर्च ब्यहोर्ने बजेट छ।